भुवन केसीविरुद्ध शम्भु प्रधान प्रहरीमा, गीत चोरेको आरोप

विदुर खबर २०७४ फागुन २३ गते ११:००

२३ फागुन, काठमाडौं । सुवास गिरी र भुवन केसीले निर्माण गरेको फिल्म ‘कृ’ यतिबेला हलहरुबाट उत्रिसकेको छ । तर, यो फिल्ममा समावेश गरिएको एउटा गीतमाथि लफडा सुरु भएको छ ।

Advertisement

 

पुराना फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत कृमा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिन पुगेका छन् । सम्झनाको ‘उकालीमा अघि अघि’ बोलको गीतलाई विना अनुमति ‘कृ’मा समावेश गरिएको उनले आरोप लगाएका हुन् ।

Advertisement

कृका निर्माता भुवन केसी र सुवास गिरीविरुद्ध उजुरी लिएर करिब १० दिनअगाडि शम्भु महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए । तर, डिएसपी मोहन थापाले उजुरी दर्ता नगरी दुवै पक्षलाई बोलाएर मिलाउने प्रयास गर्दै आएका छन् ।

‘तपाईंहरु दुवै एउटै क्षेत्रका सम्मानित व्यक्तिहरु हुनुहुन्छ,’ उनले दुवै पक्षलाई भने, ‘मुद्दा मामिला गर्नुको साटो सहमतिमा जानुस् ।’

Advertisement

त्यसपछि शम्भुले भुवन र सुवाससँग पटक-पटक कुराकानी गरेका छन् । कुराकानीका क्रममा सुवासले एक लाख क्षतिपूर्ति दिन सक्ने प्रस्ताव शम्भुलाई राखेका थिए । तर, शम्भुले त्यसलाई ठाडै अस्वीकार गरे ।

आफ्नो गीत चोरेकै कारण कृले राम्रो व्यापार गरेको भन्दै उनले फिल्मले उठाएको पैसामध्ये आधा आफूले क्षतिपूर्तिका रुपमा पाउनुपर्ने जिकिर गरेका छन् । उजुरीमा पनि उनले यही माग गरेका छन् ।

डीएसपी थापाले भने गीतका मूल सर्जक रञ्जित गजमेरलाई लिएर आए मात्र उजुरी दर्ता गर्ने शम्भुलाई बताएका छन् । दार्जिलिङवासी संगीतकार गजमेर यतिबेला काठमाडौंमै छन् ।

पोखरामा एउटा सम्मान ग्रहण गर्ने क्रममा उनी नेपाल आएका थिए । भोलि गजमेरलाई साथै लिएर आफू टेकु प्रहरीमा जाने शम्भुले अनलाइनखबरलाई बताए ।

‘रञ्जित दाइ आफैंले मलाई फोन गरेर आफ्नो गीत यसरी चोरिएकोमा असन्तुष्टि जनाउनुभएको छ,’ उनले भने, ‘अब उहाँसँगै मिलेर म यो लडाई लड्छु ।’

यस विषयमा कृका निर्माता गिरीसँग बुझ्दा गीतको सानो अंश कपि गरिएको स्वीकार गरे । भुवन केसीको प्रस्तावमा यो अंश राखिएको उनको भनाइ छ ।

हेर्नुस् कृ मा समावेश गीत

‘भुवन दाइले आफैंले खेलेको फिल्म भएकाले यो टुक्रा मिसाउन प्रस्ताव गर्नुभयो,’ गिरीले भने, ‘उहाँले शम्भुदाइसँग म कुरा गर्छु भन्नुभएको थियो, तर कुरा गर्नुभएनछ ।’

अर्कोतर्फ शम्भुले आफ्नो फिल्मको सम्पूर्ण अधिकार हाइलाइट्स नेपाललाई बेचिसकेका छन् । त्यसैले पनि गीतमा उनको हक नलाग्ने गिरीको तर्क छ ।

गीत चोरिएकै हो, तर…

३० वर्ष अगाडि बनेको सुपरहिट फिल्म सम्झनाको उकालीमा अघिअघि… बोलको गीत अहिलेसम्म पनि लोकप्रिय छ । यो कालजयी गीतको रचना तथा संगीतकार रञ्जित गजमेर हुन्, भने स्वर उदितनारायण झा र दिपा झाले दिएका छन् । गीतमा भुवन केसी र तृप्तीले अभिनय गरेका छन् ।

हेर्नुस् पुरानो गीत

उनै भुवनका छोरा अनमोल केसीको अभिनय रहेको कृमा रहेको ‘धेरै पछि सम्झना, आँखा छोपी बसन’ बोलको गीतमा ‘उकालीमा अघिअघि’ को टुक्रा पुरानै धुनमा समावेश गरिएको छ ।

यूट्यूबमा राखिएको गीतको भिडियोमा यसलाई रिमिक्स गीतको रुपमा प्रस्तुत गरिएको छ । ओरिजिनल म्यूजिक भनेर रञ्जित गजमेरलाई क्रेडिट दिइएको छ भने रिमेक म्युजिकमा अल्मोडा राना उप्रेतीको नाम छ । यसैगरी रिमेक लिरिक्समा अल्मोडा र सविन एकतारेको नाम छ ।

गीत चोरिएकै हो । तर, रञ्जित गजमेरले मागेको क्षतिपूर्ति भने अतिरञ्जित देखिन्छ । उनको माग पूरा गर्ने हो भने निर्माताद्वय भुवन केसी र गिरीले करोडौं रकम दिनुपर्ने हुन्छ ।

फेरि विवादमा अल्मोडा

सिर्जनशील क्षमता भएर पनि गायक-संगीतकार अल्मोडा राना उप्रेती पटकपटक गीत चोरीको आरोपमा मुछिँदै आएका छन् । उनको हिट गीत ‘फन्टास्टिक वन्डरफुल’ मा पुरानो लोकगीत ‘पानी पर्‍यो असिना झर्‍यो’ घुसाइएको थियो ।

त्यसपछि छक्का पञ्जा २ मा समावेश गरिएको गीत ‘नाइलनको साडीमा’ ले त ठूलै हंगामा मच्चायो । उक्त गीत अल्मोडाले कान्छा मगर नेपालीको पुरानो गीतबाट चोरी गरेका थिए । कृको गीतबाट अल्मोडाले चोरीमा ह्याट्रिक गरेका छन् ।

यूट्युबमा राखिएको भिडियोमा धेरै जनाले अल्मोडाले चोरी नगरी गीत बनाउनै सक्दैनन् कि भनी प्रश्न उठाएका छन् ।

शम्भु भन्छन् : अब अदालत जान्छु

मैले आफ्नो फिल्मको गीत चोरिएको कुरा कृ फिल्म रिलिज भएको दुई हप्तापछि मात्रै थाहा पाएँ । यत्रा साथीभाईले फिल्म हेरेका छन्, तर कसैले मलाई यो विषयमा भनेका थिएनन् ।

म आफैंले फेसबुकमा हेरेर थाहा पाएँ । मलाई असहृय भयो । आफूले बनाएको फिल्मको गीत यसरी चोरी हुँदा कसको चित्त दुख्दैन होला र । पहिले नै थाहा पाएको भए म यो फिल्म रिलिज हुनै दिने थिइनँ ।

मैले पटक पटक उहाँहरुसँग कुरा गरेँ । उहाँहरुले गीत चोरेको स्वीकार गर्नुभएको छ । तर, थोरै पैसामा मिलाउन खोज्नुभएको छ । म मिल्दिन । यो सिर्जना चोरिएको संवेदनशील विषय हो ।

वास्तविक श्रष्टाले न्याय पाउनैपर्छ । मैले फिल्मले कमाएको पैसाको आधा आफूले पाउनुपर्ने माग राखेको छु । यही माग लिएर अब अदालत जान्छु । ओरिजिनल गीतका संगीतकार रञ्जित गजमेर पनि मसँगै हुनुहुन्छ । सानोतिनो रकममा म सम्झौता गर्दिनँ ।

मैले सम्झनाको रिमेक गर्ने सोच पनि बनाएको थिएँ र त्यसमा अनमोललाई हिरो बनाउने भनेर भुवनसँग सल्लाह पनि गरेको थिएँ । अब त्यो योजना यत्तिकै तुहियो ।

सुवास गिरी भन्छन् : गल्ती भएकै हो

हाम्रो तर्फबाट अलिकति गल्ती भएकै हो । भुवन दाइले म शम्भु प्रधानसँग कुरा गर्छु, यो हालौं भन्नुभयो । संगीतकार अल्मोडाले त्यही गरे ।

भुवन दाइले शम्भु दाइसँग कुरा गर्नु भएनछ । फोन उठेन भन्नुभयो । पछि फिल्मको विशेष शोको बेलामा उहाँलाई निम्त्याउनुपर्ने रहेछ, त्यो पनि गरिएन ।

मैले शम्भुदाइलाई क्षतिपूर्तिका रुपमा १ लाख दिन सकिन्छ भनेको हुँ । तर, उहाँले ठूलो डिमान्ड गर्नुभयो । उहाँ यतिबेला हामीलाई फसाउने नियतमा हुनुहुन्छ । यदि मुद्दा हाल्नुहुन्छ भने म फेस गर्छु, तर उहाँको डिमान्ड कुनै हालतमा पूरा गर्न सकिँदैन । जायज डिमान्ड भए पो पूरा गर्नु ।

उहाँजस्तो वरिष्ठ र सम्मानित व्यक्तिले पैसाको लोभमा तल्लो स्तरमा ओर्लिएर खेल खेल्नु ठीक हुदैन ।

सबै गीत चोरिएको होइन, सानो अंश मात्र हो । पछि यस्तो होला भन्ने थाहा भएको भए किन चोरिन्थ्यो र ।

प्रतिक्रिया