अब कांग्रेस महाधिवेशनमा लाग्‍नुपर्छ : डा. महत

विदुर खबर २०७६ असार १८ गते १४:०४

नुवाकोट असार १८, नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जागरण अभियानमा नअल्झिई अब पार्टी महाधिवेशनको तयारीमा जुट्नुपर्नेमा जाेड दिएका छन्।

Advertisement

जागरण अभियानका क्रममा झन्डै दुई हप्ता विभिन्न जिल्लाका कार्यक्रममा सहभागी भएर काठमाडौं फर्केका डा. महतले  भने, ‘जिल्ला जिल्लामा पुग्दा कार्यकर्ताले तत्काल महाधिवेशन तयारीमा जुट्न सुझाव दिएका छन्। महाधिवेशनको तयारी तीव्रता पार्ने हो भने त्यसले नै जागरण ल्याउने भनाइ उनीहरुको छ।’  महतले स्थानीय तहमा कांग्रेसको आधार र उत्साह बलियो रहेको बताए। उनले भने, ‘ग्रासरुटमा कांग्रेसको आधार र उत्साह खस्किएको छैन। कार्यकर्ताहरु उत्साहित छन्। बरु केन्द्रको गुटबन्दी र भागबन्डा, अन्योल देखेर उनीहरु दिक्क छन्। उनीहरु भन्दैछन्, जागरण गाउँमा र कार्यकर्तामा होइन, केन्द्रका नेताहरुमा आउनुपर्छ।’

कार्यकर्ताले गुटबन्दी अन्त्य गर्न नेतृत्वलाई सन्देश दिएको उल्लेख गर्दै महतले भने, ‘जिल्लाजिल्लामा कार्यकर्ता भेट्दा सबैको चिन्ता गुटबन्दीले गर्दा पार्टी कमजोर भयो भन्ने देखियो। गुटबन्दी अन्त्य गर्ने कार्यकर्ताले होइन, हामी केन्द्रमा बस्नेहरुले हो।’  जागरण भ्रमणको अनुभव सुनाउँदै डा. महतले भने, ‘जिल्ला तथा गाउँमा पुग्दा त्यहाँका कार्यकर्ताले हामी ठीक छौं, केन्द्रमा नेताहरु मिल्नुपर्‍यो अनि सुध्रिनुपर्यो भनेका छन्। त्यो भावनालाई हामीले गम्भीरतापूर्वक मनन गर्नुपर्छ।’

Advertisement

डा. महतले अब कुनै अभियान भनेर अलमलिनु भन्दा नै सिंगै पार्टी महाधिवेशनको तयारीमा जुट्नुपर्ने र त्यसका लागि नेतृत्वमा रहेकाहरुले तदारुकता देखाउनुपर्ने बताए। उनले भने, ‘अब ढिलो भइसकेको छ। नेतृत्वले महाधिवेशनको तयारीलाई तीव्रता दिनुपर्छ। क्रियाशील सदस्यतालगायतका टुंगो लगाउनुपर्ने विषय छिटो टुंगो लगाउनुपर्छ।’ विधानतः कांग्रेस महाधिवेशन आगामी फागुनसम्ममा गर्नुपर्ने हुन्छ। त्यसका लागि गत फागुनदेखि नै वडा तहमा निर्वाचनको प्रक्रिया सुरु हुनुपथ्र्यो। तर अहिलेसम्म त्यसतर्फ संस्थापन पक्षले खासै ध्यान दिएको छैन। अब तत्काल तयारी सुरु गर्दा पनि फागुनमै महाधिवेशन जान सम्भव छैन।

महाधिवेशन टार्ने रणनीति अनुसार संस्थापन पक्षले तयारीमा उदासीनता देखाएको आरोप लागेको छ। महाधिवेशन सार्ने खेलअनुसार नै जागरण अभियान अघि बढाइएको बुझाइ कांग्रेसका एकथरी जमातको छ। जागरणका क्रममा पनि कार्यकर्ता तहबाट यो खालको आशंका व्यक्त भएको डा. महतले बताए। उनले भने, ‘यस्तो आशंका आउनु स्वाभाविक हो। महाधिवेशनको तयारी अघि बढाउने हो भने कार्यकर्तामा थप बेग्लै उत्साह आउँछ। कांग्रेसको जीवनमा तरंग आउँछ।’ महाधिवेशन तयारीका लागि पार्टी सभापतिले विशेष अग्रसरता लिनुपर्ने महतको सुझाव छ। उनले भने, ‘हामी गुटबन्दी र भागबन्डामा अल्झिएर यो हालत भो। अब पनि त्यसमै अल्झिने होइन। जिल्ला र गाउँका कार्यकर्ताले पनि त्यही भनिरहेका छन्।’ उनले गुटबन्दीभन्दा माथि उठेर नेतृत्व महाधिवेशनमा लाग्न ढिलाइ गर्न नहुने बताए। महतले अब महाधिवेशनको तयारी अघि नबढाउने हो भने स्थानीय चुनावमा समेत असर पर्ने बताए। उनले भने, ‘विभाग गठन र भागबन्डा सबै विषयलाई छाडेर महाधिवेशनमा जानुपर्छ। त्यसले नै कांग्रेसलाई नयाँ जीवन दिन्छ।’

Advertisement

प्रतिक्रिया