गलत बिरामीको मष्तिस्क शल्यक्रिया गर्ने चिकित्सकको समर्थन

विदुर खबर २०७४ फागुन २२ गते १६:१२

काठमाडौं । केन्याको अस्पतालमा गलत बिरामीको मस्तिष्क शल्यक्रिया गरेपछि निलम्बित भएका एक चिकित्सकको समर्थनमा अहिले सयौँ सहकर्मीले हड्ताल गरिरहेका छन् । पूर्वी अफ्रिकाको केन्याटा नेशनल अस्पतालमा गत हप्ता बिरामीको नाम अदलबदल भएपछि गलत व्यक्तिको टाउको शल्यक्रिया गरिएको थियो ।

Advertisement

यसपछि अस्पतालको प्रशासनले शल्यक्रिया गर्ने ती चिकित्सकका साथै दुई नर्स र अर्का सहयोगीलाई निलम्बित गर्ने निर्णय सुनाएको हो । तर अस्पतालको यस्तो निर्णयप्रति असन्तुष्टि जनाउँदै सयौँ चिकित्सकहरुले काम नगर्ने भन्दै प्रदर्शनमा उत्रिएका हुन् । अस्पतालको व्यवस्थापनमा कमजोरी ह्ुँदा यस्तो दुर्घटना घटेकाले चिकित्सकलाई सजाय दिन नमिल्ने उनीहरुको भनाइ छ । अस्पतालको बुकिङ सिस्टम, कर्मचारीको कमी, पर्याप्त उपकरण नभएकाले यस्तो भएको भन्दै सयौँ चिकित्सकहरुले अहिले निलम्बित सहकर्मीको समर्थन गरिरहेका छन् ।

विरोध गरिरहेका चिकित्सकले आफू पनि भविष्यमा त्यस्तो घटनाको शिकार बन्न सक्ने डर भएकाले व्यवस्थापनमा सुधार नल्याएसम्म काम नगर्ने र हड्ताल जारी राख्ने बताएका हुन् । केन्यालगायत अफ्रिकाका अधिकांश अस्पतालमा सधैँजसो कर्मचारीको अभाव हुने गरेको पाइन्छ । चिकित्सा क्षेत्रका प्रायः व्यक्तिहरु रोजगारका लागि विदेशिने गरेकाले पछिल्लो केही वर्षमा यस्तो समस्या देखिँदै आएको बताइएको छ ।

Advertisement

अस्पतालले जानकारी गराएअनुसार नाम अदलबदल भएका दुवै बिरामीलाई टाउकोको समस्या भएकाले जेनेरल सर्जरी वार्डमा राखिएको थियो । दुईमध्येका एक बिरामीलाई सामान्य औषधि आवश्यक थियो भने अर्काको चाहिँ शल्यक्रिया गर्नुपर्ने रहेको प्रमुख स्थानीय पत्रिका ‘डेली नेसन’मा उल्लेख गरिएको छ । डेली नेसनको खबरअनुसार दुवै बिरामीको थर एउटै भएकाले पनि उनीहरुको नाम ट्याग बदलिन पुग्दा गलत बिरामीलाई शल्यक्रियाका लागि लगिएको थियो ।

जानकारी अनुसार चिकित्सक लगायत सहयोगी कर्मचारीले घण्टौँसम्म बिरामीमाथि शल्यक्रिया गरेपछि मात्र आफ्नो गलती थाहा पाएका थिए जसबेला उनको टाउको खोलिसकिएको थियो । शल्यक्रिया अगाडि चिकित्सक र बिरामी बीच कुनै अन्र्तक्रिया नभएकाले पनि यो दुर्घटना हुन पुगेको बताइएको छ । उनले बिरामीको चार्टलाई मात्र आधार मानेर काम सुरु गरेको जानकारी प्राप्त भएको थियो ।

Advertisement

अहिले भने दुवै बिरामीको अवस्था राम्रो रहेको अस्पतालको दाबी छ । शल्यक्रिया गरिएका गलत बिरामीको स्वास्थ्यमा समेत धेरै सुधार आइसकेको बताइएको छ । यसअघि दुईमध्ये एक बिरामीको मृत्यु भएको खबर फैलिएको थियो तर अस्पतालले सो खबरलाई गलत ठहर गरिसकेको छ । अस्पताल बोर्डका अध्यक्ष मार्क बोरले घटनाबारे अझै गहिरो अनुसन्धान भइरहेको र यसप्रति सबैलाई दुःख लागेको बताउँदै भविष्यमा यसरी बिरामीको सुरक्षालाई जोखिममा पार्ने काम कहिल्यै नहुने भन्ने बयान दिएका छन् । अफ्रिकाभरिमै यस्तो दुर्घटना पहिलोपटक भएको बताइएको छ ।

प्रतिक्रिया