बुद्धिसागरको स्मृति आलेखमाथि फिल्म बन्ने

विदुर खबर २०७६ असार १२ गते १०:०३
नुवाकोट असार १२, चर्चित उपन्यास ‘कर्णाली ब्लुज’ का लेखक बुद्धिसागर अब आफूलाई स्क्रिप्ट राइटरको रुपमा पनि चिनाउँदैछन् । गएको करीब एक वर्षदेखि उनी फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् ।
१० लाख पारिश्रमिक बुझेर उनले फिल्मको पटकथा लेखिरहेको स्रोत बताउँछ । फिल्मको नाम ‘बर्मजंगको भिडियो’ जुराइएको छ । यो फिल्मको निर्माण लागत ४ करोडमाथि हुने निर्माता अर्जुन कुमार बताउँछन् । उनी अहिले आफ्नो हिट फिल्म ‘चपली हाइप’ को तेस्रो सिरिजको तयारीमा छन् । यो फिल्मको छायांकन पूरा भएपछि ‘बर्मजंगको भिडियो’ निर्माण गर्ने उनको भनाई छ । फिल्मलाई मौलिक कथामा फिल्म बनाउन माहिर मानिने रामबाबु गुरुङले निर्देशन गर्दैछन् ।
अहिले उनी फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ मा व्यस्त छन् । यो फिल्म प्रदर्शनमा आएपछि उक्त फिल्म सुरु गर्ने सोचमा उनी छन् । फिल्मले ३० वर्ष अगाडिको परिवेशको कथा वाचन गर्ने बताइएको छ । केही दिनमा फिल्मका लागि प्रमुख कलाकारको छनोट गरिने निर्देशक रामबाबुले बताए । फिल्ममा चलेका कलाकारको अभिनय रहनेछ । उपन्यासकार बुद्धिसागरले आफ्नै स्मृति आलेख ‘बर्मजंगको भिडियो’ माथि पटकथा लेखिरहेका हुन् । फिल्मको छायांकन डोल्पामा हुनेछ ।  २ चरणमा छायांकन हुने यो फिल्म अर्को वर्षको मध्यतिर प्रदर्शनमा आउने जानकारी प्राप्त छ । हाल बुद्धिसागर र निर्देशक रामबाबु पटकथामाथि छलफल गरिरहेका छन् । फिल्म हेर्न मरिहत्ते गर्ने युवकको कथामा फिल्म आधारित हुनेछ ।

प्रतिक्रिया