अपी पावर कम्पनी ऊर्जामा आक्रमक : जलविद्युत र सोलारबाट ७५ मेगावाट बिजुली उत्पादन गर्दै

विदुर खबर २०७६ असार ४ गते ३:३५

नुवाकोट असार ४, निजी क्षेत्रबाट स्थापना भएको अपी पावर कम्पनी लिमिटेड जलविद्युतका साथै सोलार प्रविधिबाट ऊर्जा उत्पादनमा लागेको छ ।

Advertisement

कम्पनीले ५६.६ मेगावाटका ३ जलविद्युत र १८ मेगावाट क्षमताका ८ ओटा सोलार आयोजना निर्माण गर्ने भएको छ । जलविद्युत र सोलार गरी ७४.५ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य अपीको छ । अपीमा सर्वसाधारणको लगानी छ ।

८.५ मेगावाटको नौगाड आयोजना सञ्चालन गरिरहेको अपीले ८ मेगावाटको माथिल्लो नौगाड आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको काम अन्तिम चरणमा पुगेको अपीले जानकारी दिएको छ ।

Advertisement

यस्तै ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ । विद्युत विकास विभागले चमेलिया आयोजनाबाट विद्युत उत्पादनको अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढाएको छ ।

अपीले चमेलियाबाट २०७९ फागुन १३ गते विद्युत उत्पादन गर्ने योजना विभागमा पेश गरेको छ । नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाबाट २६ करोड ६४ लाख १६ हजार युनिट बिजुली उत्पादन हुने छ । अपीले चमेलियाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणसंग खरिदबिक्री सम्झौता (पीपीए) गरिसकेको छ ।

Advertisement

चमेलिया आयोजना दार्चुलाको अपी हिमाल गाउँपालिकामा पर्छ । आयोजनाको मुल संरचना चमेलिया खोलाको बायाँ किनारमा पर्छ । बाँध अपी गाउँपालिका र विद्युतगृह मार्मा गाउँपालिकामा रहेको छ । २०४ मिटरबाट पानी खसालेर ४० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।

अपीले चमेलिया आयोजना बनाउनका लागि आवश्यक लगानी जुटाउन २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । अपीले २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनको तयारी गरेको सञ्चालक सतिश न्यौपानेले बताए । 

यस्तै अपीले धनुषाको मिथिला नगरपालिका ढल्केबरमा सोलार प्लाण्ट स्थापना गरेर १ मेगावाट ऊर्जा उत्पादन गर्ने भएको छ । अपीले ऊर्जा उत्पादनका लागि विद्युत विकास विभागमा अनुमतिपत्र (लाइसेन्स) मागेको छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली ११ केभी प्रसारणलाइनबाट ढल्केबार सवस्टेशनमा जोडिने छ । अपीले बर्दघाटमा १, चनौटामा १.५, कावासोतीमा १.५, परवानीपुरामा ८, सिमरामा १ र चन्द्रनिगाहपुरमा ४ मेगावाट बिजुली सोलारबाट उत्पादन गर्ने तयारी थालेको हो ।

प्रतिक्रिया