बाटोमा हिँदै हुनुहुन्छ सावधान ? सिरिन्ज आक्रमणमा पर्नुहोला

विदुर खबर २०७६ असार ४ गते २:३८
प्रतीकात्मक तस्बिर

                                                                               प्रतीकात्मक तस्बिर

नुवाकोट असार ४, राजधानीमा पछिल्लो केही दिनयता युवतीलक्षित ‘सिरिन्ज’ आक्रमणका घटना बढ्दै गएका छन्। दुई साताको अवधिमा राजधानीमा ४ युवती र महिलामाथि अज्ञात व्यक्तिले सिरिन्ज आक्रमण गरी भागेको पाइएको छ।

Advertisement

सिरिन्ज आक्रमणमा परेका युवतीहरु अहिले उपचारमा छन्। उनीहरु चिकित्सकको नियमित निगरानीमा छन्। आक्रमणमा परेका युवतीको उमेर २० देखि २५ बिचमा रहेको छ। सिरिन्ज आक्रमण परेका व्यक्तिमा एचआइभी, हेपाटाइटिस-बी, हेपाटाइटिस ‘सी’लगायतका रोगको संक्रमण हुन सक्ने भएकाले उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका छन्।

अस्पतालले उनीहरुलाई ती रोगको संक्रमणबाट जोगाउन आवश्यक उपचार र खोप लगाइदिएको छ।

Advertisement

अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाका अनुसार अस्पतालमा उस्तै प्रकृतिका आक्रमणमा परेका ४ युवती उपचारका लागि आएका छन्। ‘आक्रमण भएको स्थानमा सिरिन्जको जस्तै प्वाल भेटिएको छ,’ उनले भने, ‘ठ्याक्कै सिरिन्ज हो/होइन भन्ने यकिन त छैन तर, सियोजस्तै तिखो वस्तुले आक्रमण भने गरेको बुझिन्छ।’

अस्पतालमा उपचार गर्न आएका युवतीहरुसँग डा बस्तोलाले गरेको कुराकानीअनुसार मोटरसाइकलमा आएका युवाले आक्रमण गरेका छन्। ‘उहाँहरु सबैलाई एकैखालको आक्रमण भएको देखिन्छ,’ उनले भने, ‘सुरुमा एउटा मात्र केस आउँदा सामान्य लागेको थियो। तर, लगातार ४ वटा आएपछि यो घटनामा केही रहस्य छ जस्तो लागेको छ।’

Advertisement

सिरिन्जले आक्रमण गरेको व्यक्तिमा संक्रमण भएको थाहा पाउन ३ महिना लाग्ने उनले जानकारी दिए। ‘आक्रमण लगत्तै एचआइभी, हेपाटाइटिसजस्ता संक्रमणका बारेमा थाहा पाउन सकिँदैन,’ उनले भने, ‘त्यसकारण हामीले उहाँहरुलाई संक्रमणबाट जोगाउने खोप र उपचार प्रक्रिया अगाडि बढाएका छौं।’

युवतीमाथि सिरिन्ज आक्रमणका विषयमा प्रहरीमा समेत उजुरी परेको छ। प्रहरीले पनि यो विषयमा आवश्यक अनुसन्धान अगाडि बढाएको छ। महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीका अनुसार हालसम्म ३ जना युवतीमाथि सिरिन्ज आक्रमण भएको छ।

‘ढल्कु र पकनाजोलमा ३ जना युवतीमा आक्रमण भएको खबर आएको छ,’ उनले भने, ‘यो विषयमा हामीले आवश्यक अनुसन्धान अगाडि बढाइसकेका छौं।’

आक्रमणकारीले युवतीमाथि आक्रमण गरेपछि चोरी तथा अन्य कुनै दुःख नदिएका कारण किन आक्रमण गरिरहेका छन् भन्ने विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। उनले एसिड आक्रमणजस्तै यो आक्रमण पनि बदलाका लागि लिएको हो वा अन्य केही कारण छ भन्ने विषयमा अनुसन्धान भइरहेको बताए।

चिकित्सकले भने घटनाको प्रकृति हेर्दा आक्रमणकारीले युवतीहरुमा रोग सार्ने नियत राखेका वा ‍आफैँ मानसिक समस्या भएको बिरामी हुनसक्ने अनुमान गरेका छन्।

आक्रमणमा परेकी एक युवतीको यस्तो छ भनाइ 
म २३ वर्षकी भएँ। ‍मलाई गत जेठ १८ गते शनिबार आक्रमण भएको हो। त्यो दिन राती म १० बजेतिर कुकुरलाई शौच गराउन बाहिर निस्केकी थिएँ। घरबाट केही पर पुगेकी थिएँ। फर्कने क्रममा त्यस्तै १० बजेर २० मिनेट जति भएको थियो होला। मोटरसाइकलमा आएको व्यक्तिले एक्कासी मेरो पेटमा तिखो सुइले हान्यो। मेरो पेटको बायाँपट्टी सियोजस्तो तिखो वस्तुले खोपेर भाग्यो। मलाई असाध्यै दुख्यो।

मलाई झ्याम्म हानेर भाग्ने त्यो व्यक्तिको अनुहार मैले देख्न सकिनँ। मोटरसाइकलको नम्बर प्लेट पनि याद गर्न सकिनँ। म एकदमै डराएकी थिएँ। फेरि आक्रमण हुने डरले म हतपत्त घरभित्र छिरेँ।

मैले श्रीमानलाई घटनाबारे बताएँ। त्यतिबेलासम्म मलाई त्यति दुखेको महसुस भएको थिएन। तर पछि राती एक्कासी दुखेको महसुस भयो। दुखाई झन् बढ्दै गयो। घोपेको ठाँउमा सानो प्वाल भएको देखियो। रातोरातो समेत भइसकेको रहेछ। बिहान ४ बजे शौचालय जाँदा अत्यधिक दुखेको महसुस भयो। बिहान ८ बजेतिर त दुखाइ सहनै नसक्ने भयो।

त्यसपछि हामी क्षेत्रपाटीको अस्पतालमा जाँचका लागि गयौँ। त्यहाँबाट टेकु अस्पतालमा आएकी हुँ। यहाँ आउँदा त अरु युवतीमाथि पनि आक्रमण भएको जानकारी पाएँ। अहिले मलाई केही औषधि दिनुभएको छ। अहिले त साँझ हुने बित्तिकै डर लाग्छ। हाम्रो कोहीसँग दुस्मनी पनि छैन। तर पनि किन आक्रमण गरेर दुःख दिएको होला!

प्रतिक्रिया