‘प्रेमगीत ३’ मा हमालको ठाउँमा शिवको इन्ट्री

विदुर खबर २०७६ असार ३ गते १४:५३
नुवाकोट असार ३, दशैं सकिए लगत्तै छायांकनमा जान लागेको प्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ मा अभिनेता प्रदीप खड्काको पिताको भूमिकाका लागि अभिनेता राजेश हमाललाई अफर गरिएको थियो ।
आइतबार आफ्नो सेड्युल नमिलेको भन्दै हमालले फिल्म गर्न नसक्ने आधिकारिक रुपमा जानकारी दिएसँगै उनको ठाउँमा एक समय उनकै प्रतिस्पर्धी अभिनेता शिव श्रेष्ठको प्रवेश भएको छ । मंगलबार दिउँसो शिवसँग निर्माण टिमले कागजी सम्झौता गरेको छ । अब, उनले फिल्ममा राजाको भूमिका निर्वाहा गर्नेछन् । उनको छोरा अर्थात् राजकुमारको भूमिकामा प्रदीप र नव-अभिनेता मनिष राउत देखिनेछन् । भूमिका छोटो भए पनि उत्कृष्ट भएका कारण फिल्ममा काम गर्न राजी भएको शिवले बताएका छन् । उनी फिल्म ‘बागमती’ पछि पर्दामा देखिएका थिएनन् ।
शिवको प्रवेशसँगै दर्शकमा ‘प्रेमगीत ३’ प्रति झनै उत्सुकता बढेको छ । प्रदीप र शिवको जोडीलाई पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ । शिवसँगै फिल्ममा ‘राते काइला’ उपनामले परिचित सुनिल थापा पनि भित्रिएका छन् । उनको पनि फिल्ममा महत्त्वपूर्ण भूमिका रहेको निर्माता सन्तोष सेनले जानकारी दिए । फिल्म २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर बन्न लागेको हो ।
अहिले निर्माण टिम ‘गीत’ क्यारेक्टरका लागि आवेदन दिएका युवतीहरुको अडिसनमा व्यस्त छ । केही दिनमा एक युवतीलाई फिल्ममा छनोट गरिने निर्माता सेनको भनाई छ । ‘गीत’ क्यारेक्टरका लागि २७ सय बढीले आवेदन दिएकोमा २५ जना ‘सर्टलिस्ट’ मा परेका थिए । यी मध्येबाट निर्माण टिमले उत्कृष्ट ६ समेत छानिसकेको छ । चैत २८ मा रिलिज हुने फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्दैछन् ।

प्रतिक्रिया