एक लाखको ल्यापटप प्रत्येक सांसदलाई ,चलाउन आउँछ सांसद ज्यु ?

विदुर खबर २०७६ जेठ ३२ गते १३:१४

नुवाकोट जेठ ३२, संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदलाई ल्यापटप दिने निर्णय गरेको छ । यसको पक्ष र विपक्षमा सांसदहरु छन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीमबहादुर रावलले सांसद आफैं ल्यापटप किन्न सक्ने भएकाले सचिवालयले दिनु नपर्ने बताउनुभएको छ । सचिवालयले जेष्ठ १९ गते गोरखापत्रमा विज्ञापन प्रकाशित गरी ल्यापटप सप्लाइ गर्नका लागि सूचना जारी गरेको छ ।

Advertisement

सचिवालयले सांसदको क्षमताको बृद्धि गर्न र पेपरलेस प्रविधिको बिकास गर्न ल्यापटप दिने निर्णय गरेको सचिवालयका सचिव डा. भरतराज गौतमले बताउनुभयो । ‘अन्य देशमा पनि यस प्रकारको सुविधा दिइएको छ, उहाँहरुलाई प्रविधिमैत्री बनाउन र दैनिक संसदीय गतिविधिमा सहज होस् भनेर ल्यापटप दिने तयारी भएको हो’, डा. गौतमले भन्नुभयो– ‘अब यो प्रक्रियामा गएको छ, टेन्डर भएको छ, कस्तो खालको दिने भन्ने पछि नै थाहा हुन्छ ।’

गौतमले यसअघिका कुनै पनि संसद् वा संविधानसभामा सांसदलाई ल्यापटप नदिएको बताउनुभयो । ल्यापटप चलाउन सांसदले जान्दछन् कि जान्दैनन् भन्ने पनि प्रश्न उब्जिएको छ । कसैकसैले यसको दुरुपयोग हुन सक्ने खतरा पनि औंल्याएका छन् । मकवानपुर–१ बाट निर्वाचित नेकपाका सांसद कृष्णप्रसाद दाहालले सचिवालयले नै ल्यापटप दिने हो भने राम्रो भएको बताउनुभएको छ । ‘अरु कसैसँग नमागी नै दिने हो भने ठीक छ तर अरुसँग मागेर वा कसैबाट लिएर दिनुचाहिँ राम्रो पक्ष हुँदैनथ्यो ।’

Advertisement

राष्ट्रियसभाका नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले सदुपयोग हुने हो भने ल्यापटप वितरण प्रभावकारी हुने बताउनुभयो । ‘कोठामा कागजको चाङ नै लागिसक्यो, कति त कहिले हराउँछन् थाहै हुँदैन’, पन्थले भन्नुभयो– ‘ल्यापटपमा सबै सामाग्री राख्न सकियो भने सजिलो हुन्छ तर छोराछोरी र नातिनातिनीलाई फेसबुक चलाउन मात्र प्रयोगचाँही हुनु भएन ।’ यसअघि पनि सचिवालयले दलका नेता र समितिका सभापतिलाई ल्यापटप वितरण गरेको थियो तर कार्याकाल सकिएपछि पनि अझै धेरैले फिर्ता गरेका छैनन् । सचिवालयको जिन्सी स्टोरले केही ल्यापटप आउन बाँकी रहेको जनाएपनि नाम भने उपलब्ध गराएको छैन ।

प्रतिक्रिया