गङ्गादशहरामा लाग्ने गोसाइकुण्ड मेलाको तयारी पुरा

विदुर खबर २०७६ जेठ २१ गते ४:३१
फाईल फोटो

                                                                                             फाईल फोटो 

नुवाकोट जेठ २१, गङ्गादशहरा पर्वका अवसरमा  रसुवाको पवित्र तीर्थ गोसाइँकुण्डमा लाग्ने मेलाको सबै तयारी पूरा गरिएको छ ।

Advertisement

गोाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धुञ्चेदेखि गोसाइँकुण्डसम्मको पैदलमार्गमा सफाइ र स्वास्थ्य शिविरको व्यवस्था मिलाइएको छ ।  पर्वको अवसरमा पाँच हजार भन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमानका साथ यथेष्ठ भोजन र बासको व्यवस्था मिलाउन धार्मिक मार्गका होटल व्यवसायीलाई आग्रह गरिसकिएको बताइएको छ ।

यसवर्ष गङ्गादशहरा मेला यही जेठ २१ गतेदेखि २९ गतेसम्म चल्ने र दशयोग जोडिएको दिनलाई दशहरा पर्व मानिएकाले गोसाइँकुण्डमा स्नान गर्दा अञ्जानमा भएका सबै पापबाट मोक्ष मिल्ने स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताए ।  उक्त पर्वका अवसरमा गोसाइँकुण्ड जाने भक्तजनका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकिएको बताउँदै प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले नेपाली सेना र स्वास्थ्य कार्यालयको समन्वयमा ठाउँ ठाउँमा स्वास्थ्य शिविर राखिने जानकारी दिए ।  काठमाडौँदेखि धुञ्चेसम्म आठ घण्टा मोटरमा र त्यसपछि पैदलयात्रा शुरु हुने धार्मिक पदमार्गमा सुसाउँदै झरेकी त्रिशूली नदी, उकाली भञ्ज्याङ चौतारीे, चन्दनबारी र आधार इलाकामा भेटिने चौरीगाई, विविध वनस्पति र लौरीबिनायक टापुबाट देखिने पश्चिम क्षेत्रको अल्का हिमालले भक्तजनलाई मनमोहक बनाउँछ । समुद्र मन्थन गर्दा निस्केको कालकूट विषपानका कारण छटपटाउनुभएका भगवान शङ्करले शीतल स्थानको खोजीमा निलाद्री पर्वत पुगेर त्रिशूलले हानी जल उत्पन्न गराई त्यहीँ जल समाधिमा बसेका थिए ।

Advertisement

जीवनमा एक पटक गोसाइँकुण्ड पुग्नैपर्ने मान्यता रहेकाले पनि यही जेठ २१ गते देखि २९ गतेसम्म आयोजना हुने मेलामा पाँच हजार भन्दाबढी भक्तजन आउने अनुमान गरिएको समितिका अध्यक्ष डिएमले बताए । मेला भर्न आउने भक्तजनले चिताएको पुग्ने, घरपरिवारमा सुख हुने, सन्तानको चाहना पूरा हुने र रोग नलाग्ने विश्वासका साथ यहाँ वर्षेनी भक्तजनको भिड लाग्ने गरेको पूरोहित ढकालको भनाइ थियोे । समुद्र सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित यो पवित्रतीर्थस्थल बौद्ध तथा तथा हिन्दू दुबैको साझा धार्मिक थलो भएकाले लामा झाँक्रीको बाजागाजा र स्थानीय वेशभूषाले यो पर्वलाई झन रौनक बढाएको पाइन्छ ।  पर्वका अवसरमा कुण्ड पुग्ने भक्तजनले आफ्ना दिवङ्गत पित्रीको सम्झनामा श्राद्ध तथा तर्पण गर्नाले उनीहरु स्वर्गवास हुने मान्यता रहिआएको छ । गोसाइँकुण्ड जान घरबाट निस्केका तर उकालो चड्न नसक्ने भक्तजनका लागि धुञ्चेबजारभन्दा पूर्व त्रिशूली नदी किनारमा सानो गोसाइँकुण्ड निर्माण गरिएकाले त्यही स्नान गरेर पनि मनोकाक्षा पूरा गर्न सक्छन् ।

प्रतिक्रिया