सरकार र सभामुखविरुद्ध सडकमा उत्रँदै कांग्रेस

विदुर खबर २०७५ माघ १३ गते १४:१८

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माघ ११ गते प्रतिनिधि सभामा बलपूर्वक चिकित्सा शिक्षा विधेयक पारित गरेको लगायतका विभिन्न ६ बुँदे मुद्दा लिएर माघ २१ गते देशव्यापी विरोध प्रदेर्शनको घोषणा गरेको छ।

Advertisement

कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कार्यसमितिको बैठक माघ ११ गते प्रतिनिधि सभामा संसदीय प्रणाली र परम्परा विपरित मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको घटनालाई गम्भीरतापूर्वक लिंदै बैठक त्यसको घोर भत्र्सना गरेको छ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग विगतमा भएको सहमति बमोजिम विधेयक अघि नबढाएको लगायत विविध विषयमा प्रमुख विपक्षी दल कांग्रेसले सदन घेराउ गर्दा सभामुख कृष्णबहादुर महराले मार्सल परिचालन गर्दै अवरोधकाबीच नै विधेयक पारित भएको घोषणा गरेपछि सदनभित्र सत्ता र प्रतिपक्षीबीच द्धन्द्ध चर्किएको हो।

Advertisement

कांग्रेस केन्द्रीय कार्यालयबाट जारी विज्ञप्ति अनुसार, त्यसको विरोधमा माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गर्ने निर्णय भएको छ।

उक्त विरोध प्रदर्शनका क्रममा कांग्रेसले ६ मुद्दामा केन्द्रीत रहन सम्बन्धित जिल्ला नेतृत्वलाई निर्देशन पनि दिएको छ।

Advertisement

यसरी कांग्रेसले तय गरेका ६ मुद्दामध्ये पहिलो बुँदामा माघ ११ गते संसदमा भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा. गोविन्द केसीको अनसनप्रति संवेदनहीन सरकारी व्यवहार रहेको छ।

दोस्रो बुँदामा कांग्रेसले आफ्ना पूर्वसभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास आरोप रहेको छ।

हालै स्वास्थ्य मन्त्रालयले देशका विभिन्न भागमा रहेका ११ अस्पताल र स्वास्थ्य केन्द्रलाई संघीय सरकारको मातहतमा राख्न गरेको प्रस्तावमाथि मन्त्रिपरिषदले गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा रहेका अस्पतालबाहेक अन्य ९ वटाको निर्णय गर्दै यी दुई अस्पताललाई विघटनको प्रक्रियामा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। उक्त निर्णय नसच्याएसम्म कांग्रेसले सदन चल्न नसक्ने भन्दै माघ ८ गतेदेखि सदनको कारबाही अवरोध गरेको थियो।

तर, सत्तापक्षको चाहना र योजना मुताविक सभामुख महराले गत शुक्रबार मार्सल लगाएर विपक्षीको विरोधको वेवास्ता गर्दै शिक्षा मन्त्रीलाई चिकित्सा शिक्षा विधेयक सदनमा पेश गर्न लगाउँदै होहल्लाकाबीच नै विधेयक पारित भएको घोषणा गरेका थिए।

त्यसैगरी कांग्रेसले हालै बसेको संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाको उपस्थितिवीना विभिन्न पाँचवटा संवैधानिक आयोगका अध्यक्षको नियुक्तिको सिफारिस गरिनु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना भएको आरोप लगाएको छ।

माघ ६ गते संवैधानिक परिषदको बैठकमा विपक्षी दलका नेता अनुपस्थित हुँदा पनि परिषदको बैठक बसेर नियुक्तिको सिफारिस गरिएपछि कांग्रेसले यसप्रति पनि गम्भिर आपत्ति जनाउँदै आएको छ।

त्यसैगरी कांग्रेसे देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको आरोप लगाएको छ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुगीसक्दा पनि दोषी पत्ता लगाउन त परै जाओस् निर्दोषलाई दोषी ठह¥याउने षडयन्त्र गरेको आरोप पनि कांग्रेस लगाउँदै उक्त विषय पनि विरोधको मुद्दामा समेटेको छ।

यसअतिरिक्त देशमा बढ्दो महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू सरकारले गरेको तथा जिल्लास्तरमा रहेका स्थानीय मुद्दाहरुलाई सम्बन्धित जिल्लाले समेटेर विरोध गर्ने कांग्रेसको तयारी रहेको छ।

आजको बैठकको सुरुवातमा माघ ८ र ११ गते भएको गतिविधिकोबारेमा संसदीय दलका उपनेता विजयकुमार गच्छदार र प्रमुख सचेतक बालकृष्ण खाँणले केन्द्रीय समितिलाई जानकारी गराएका थिए।

त्यसपछि बैठकमा वरिष्ठ नेता नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुनप्रसाद जोशी, धनराज गुरुङ, सुरेन्द्रराज पाण्डे, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, प्रवक्ता विश्वप्रकाश शर्मा र सरिता प्रसाईले आफ्नो धारणा राख्नु राखेको कांग्रेसले जनाएको छ।

अर्को बैठक सोमबार अपरान्ह १ बजे बस्ने बताइएको छ।

प्रतिक्रिया