नुवाकाेटमा एकीकृत बस्ती निर्माण शुरु

विदुर खबर २०७५ माघ ३ गते ३:०९

नुवाकोट,भूकम्पबाट विस्थापित भएका नागरिकका लागि नुवाकोटमा सामाजिक सङ्घसंस्थाको सहयोगमा एकीकृत बस्ती निर्माण शुरु गरिएको छ । दुर्गम गाउँ भाल्चेबाट विस्थापित भई सदरमुकाम आसपास बसोबास गर्दै आइरहेका पीडित १८ घरपरिवारका लागि अक्सफामको सहयोगमा विदुर नगरपालिकाको जफतीमा सो बस्ती निर्माण शुरु गरिएको हो ।

Advertisement

अक्सफामको आर्थिक तथा प्राविधिक सहयोगमा सहायता सामाजिक संस्थामार्फत एकीकृत आवास निर्माण गर्न शुरु गरेको संस्थाका कार्यकारी निर्देशक अञ्जली पाण्डेले बताउनुभयो । परिवारको सङ्ख्याअनुसार दुईदेखि चार कोठेसम्मका घर निर्माण गरिने बताइएको छ । घर निर्माणमा प्रत्येक घरका एक जना सदस्यले श्रमदान गर्नुपर्नेछ । राज्यले दिने रु तीन लाख अनुदान, श्रमदान र बाँकी आवश्यक रकम अक्सफामले सहयोग गर्नेछ ।

जिल्ला सुमन्वय समितिका प्रमुख सन्तमान तामाङले एकीकृत बस्ती निर्माण गर्दा सामाजिक पक्षलाईसमेत ध्यान दिनुपर्ने बताउनुभयो । सो बस्तीको शिलान्यास गर्दै तामाङले विस्थापित हुनुको पीडालाई कम गर्दै बस्ती निर्माणमा जुट्न आग्रह गर्नुभयो ।

Advertisement

कार्यक्रममा नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बस्तीको निर्माणमात्रै नभई उनीहरुको जिविकोपार्जनमा समेत काम गर्नुपर्ने बताउनुभयो । सहायता सामाजिक संस्थाका अध्यक्ष शिवराम रिजालले बस्ती निर्माण मात्रै नभई खानेपानी र सहज यातायातका लागि मोटरबाटोकोसमेत निर्माण भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया