नेपाली हाते कागजको उद्योग सङ्कटमा,स्थानीयको रोजगारी गुम्ने खतरा

विदुर खबर २०७५ पुष १५ गते १३:३९

म्याग्दी ।पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३, रुमको अधिभारामा सञ्चालित नेपाली हाते कागज उद्योग सङ्कटमा परेको छ । अधिभारा नेपाली हाते कागज उत्पादन समूहमार्फत सञ्चालन गरिएको उद्योग आवश्यक औजार तथा कच्चापदार्थको अभाव, आर्थिक स्रोत र बजारको समस्याले सङ्कटमा परेको हो ।

Advertisement

व्यक्ति तथा सामुदायिक वन मिलेर सञ्चालनमा ल्याइएको नेपाली हाते कागजको उद्योगले विभिन्न समस्याहरु झेलिरहेको जनाएको छ । स्थानीय ६ जना लगानीकर्ता र रुमको ४ ओटा सामुदायिक वन मिलेर करिब १८ लाख रुपैयाँको लगानीमा उद्योग सञ्चालन गरिएको छ । उद्योगमार्फत उत्पादित उत्पादनहरु बिक्री गर्नका लागि झन्झटिलो प्रक्रिया, लगानी अनुसारको प्रतिफल नआउनु, पर्याप्त मात्रामा औजारहरु नहुनु, समयमा कच्चापदार्थ नपाइनु, ढुवानीको समस्याका कारणले गर्दा उद्योग सञ्चालमा समस्या आएको समूहका अध्यक्ष मोतिराज उपाध्यायले गुनासो गर्नुभयो ।

विगत ३ वर्ष अघिसम्म विविध कारणले बन्द रहेको उद्योगमा थप लगानी गरेर सञ्चालन गरिएको भए पनि अपेक्षाकृत आम्दानी हुन नसक्दा उद्योगले गति लिन नसकेको अध्यक्ष उपाध्यायको भनाइ छ ।

Advertisement

प्रत्यक्ष रुपमा लगानी गरेर स्थानीयस्तरमा रोजगारको सिर्जना गर्ने र नेपाली हाते कागजका उत्पादनलाई वृद्धि गर्ने अपेक्षासहित उद्योगलाई अगाडि बढाउन खोजिए पनि घाटामा रहेको उहाँले बताउनुभयो । उद्योगमा कच्चापदार्थ पकाउने मेशिनको अभाव भएको छ भने वनजङ्गलबाट दाउरा तथा लोक्ता काटेर ढुवानी गर्दा समस्या भैरहेको बताइएको छ ।

उद्योगलाई आधुनिक औजार तथा मेसिनको आवश्यकता, नयाँ प्रविधि, फ्रेमहरु तथा भण्डारणका लागि भौतिक संरचना चाहिएको छ । हाल उक्त उद्योगमा नियमित रुपमा ५ जनाले रोजगारी पाएको छन्भने अप्रत्यक्ष रुपमा अन्य १५ जनाले समेत रोजगारी पाएको समूहका अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो ।

Advertisement

कच्चापदार्थका लागि स्थानीय सामुदायिक वनहरुसँग साझेदारी गरिएको छ भने बजारीकरण गर्न तनहुँको शुक्लागण्डकी कागज उद्योगसँग २ वर्षका लागि सम्झौता गरिएको जनाइएको छ । अन्य सहयोगका लागि स्थानीय तह तथा संघसंस्थासँग पहल थालिए पनि प्रभावकारी हुन सकिरहेको छैन ।

मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले स्थानीय उत्पादन र कच्चापदार्थलाई प्राथमिकता दिने नीति बनाइएको हुँदा उद्योग सञ्चालन र प्रवद्र्धनका लागि आवश्यक बजेट व्यवस्थापनमा सहयोग गरिने बताउनुभयो ।

उद्योगबाट प्राप्त उत्पादनलाई विविधिकरण गरी आवश्यक तालिम सञ्चालन गरिने बताउँदै उहाँले उद्योगलाई आधुनिकीकरणका साथै नयाँ प्रविधि भित्र्याएर अगाडि लैजाने जानकारी दिनुभएको छ ।

हाल उद्योगबाट वनजङ्गलमा पाइने लोक्ताको सहयोगमा नोटबुक, डायरी, फोटोकपी पेपर, गिफ्टबक्स, फुल राख्ने गमलालगायत नेपाली हाते कागजका थुप्रै आकर्षक उत्पादनहरु निर्माण हुँदै आइरहेका छन् ।

नेपाली हाते कागजका उत्पादनहरु लामो समयसम्म रहिरहने, किरा नलाग्ने, पेपर टिकाउ तथा दीगो हुने, शुद्ध उत्पादन र पुनः प्रयोग गर्न सकिने भएकाले यसको प्रयोगमा उपभोक्ताहरुको पनि आकर्षण बढ्दै गएको पाइन्छ ।

प्रतिक्रिया