प्रदेश ३ को मन्त्रिपरिषद बुधबार विस्तार हुँदै, को को बन्ने भए मन्त्री ?

विदुर खबर २०७४ फागुन १५ गते १०:३५

१५ फागुन, काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । सात प्रदेशमध्ये सबैभन्दा पहिले मुख्यमन्त्री बनेका पौडेल मन्त्रिपरिषदलाई पूर्णता दिनमा भने अन्य प्रदेशभन्दा पछि परेका छन् ।

Advertisement

पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यसँग समन्वय गरेर बुधबार मन्त्रिपरिषद विस्तार गर्न लागिएको पौडेल निकट स्रोतले जनाएको छ । मुख्यमन्त्री ७ मन्त्रालयमध्ये आन्तरिक मामिलामा माओवादीका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार मन्त्रीमा एमालेको केशव स्थापित नियुक्त भइसकेका छन् ।

अब एमालेले तीनओटा मन्त्रालय पाउनेछ भने माओवादीले एक मन्त्रालय पाउने सम्भावना छ । यद्यपी प्रदेश सरकारमा २२ जनासम्म मन्त्री बनाउन पाइनेमा वाम गठबन्धनले ३ नम्बर प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने सहमति गरिसकेका छन् ।

Advertisement

एमालेबाट अरुण नेपाल, कैलाश ढुंगेल र दावादोर्जे लामाले बुधबार सपथग्रहण गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । मुख्यमन्त्री पौडेल निकट स्रोतका अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले रामेछापका कैलाश ढुंगेललाई अर्थ तथा योजना मन्त्री बनाउन निर्देशन दिएका छन् । लामाको नाम पनि ओलीले नै दिएका हुन् ।

यता प्रदेश संयोजक शाक्यले भने प्रदेश सरकार र मुख्यमन्त्री प्रदेश कमिटीको समन्वयमा चल्नुपर्ने भन्दै मन्त्री र अन्य नियुक्तिका नाम प्रदेश कमिटीबाट अनुमोदन हुनुपर्ने बताएकी छन् । शाक्यले मंगलवारै प्रदेश कमिटी सचिवालय बैठक समेत बोलाएको स्रोतले जनाएको छ ।

Advertisement

शाक्य पोलिटव्यूरो सदस्यद्वय पशुपति चौलागाई र अरुण नेपाललाई मन्त्री बनाउने पक्षमा रहेको बताएको छ । तर पार्टी अध्यक्षले दिएका ढुंगेल र लामाको नाम हटाउने अवस्थामा मुख्यमन्त्री छैनन् । त्यो अवस्थामा शाक्यले भनेको एकजनामात्र मन्त्री बन्दा अरुण नेपाल पर्ने सम्भावना छ ।

एमालेको भागमा अर्थ तथा योजना,सामाजिक मामिला र कृषि,सहकारी तथा भूमिसुधार मन्त्रालय छन् । माओवादीबाट कुमारी मोक्तान, राजकाजी महर्जन र विशाल खड्कामध्येबाट मन्त्री बनाउन लागिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया