लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै

विदुर खबर २०८२ चैत १२ गते ११:३४

नुवाकोट । नेपाली कांग्रेस भित्र चुनावपछि बागमती प्रदेशमा सत्ता परिवर्तनको तयारी भए पनि अन्तिम समयमा समीकरण उल्टिँदा बहादुरसिंह लामाको मुख्यमन्त्री बन्ने सम्भावना फेरि टरेको छ ।

Advertisement

कांग्रेस संस्थापन पक्षले चुनावपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई हटाएर लामालाई मुख्यमन्त्री बनाउने आन्तरिक तयारी गरेको थियो। तर बानियाँ स्वयं संस्थापन पक्षतर्फ फर्किएपछि उक्त योजना अघि बढ्न नसकेको स्रोतको दाबी छ।

कांग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकमा मुख्यमन्त्री बानियाँ उपस्थित भएर विशेष महाधिवेशनकाे समर्थन मात्र जनाएनन् ,देउवा पक्षले अदालतमा दिएकाे रिट फिर्ता लिएर निसर्त १५ औं महाधिवेशनमा सहभागि हुनुपर्ने धारणा राखेका थिए । जबकी देउवापक्षले अदालतकाे निर्णय अगाडि महाधिवेशन भए आफूहरूलाई स्वीकार्य नहुने बताउँँदै आएकाे छ ।

Advertisement

उनकाे याे भनाइ मुख्य मन्त्री जाेगाउने अस्त्र भएको धेरैको बुझाई रहेकाे छ । यसबाट उनी पूर्व संस्थापन छाडेर हालकाे संस्थापनतर्फ फर्किएकाे धेरैले अनुमान लगाएका छन् । यद्यपि उनले भने आफ्नो उदेश्य अब कांग्रेस एक बनाउने रहेकाे बताउँँदै आएका छन् ।

यसअघि बागमती कांग्रेसभित्रको शक्ति संघर्षका क्रममा बानियाँले संसदीय दलको नेतामा लामालाई पराजित गरेका थिए। उनले ३७ सांसदमध्ये २२ मत प्राप्त गर्दा लामाले १४ मत मात्र पाएका थिए। त्यसअघि लामाविरुद्ध परेको अविश्वास प्रस्ताव पनि २२ मतका साथ पारित भएपछि उनी दलको नेता र मुख्यमन्त्री दुवै पदबाट बाहिरिएका थिए।

Advertisement

दलको नेता बनेपछि बानियाँले नेकपा एमालेका २७ सांसदको समर्थनमा सरकार गठन गर्दै प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाबाट मुख्यमन्त्रीमा नियुक्ति पाएका थिए।

पदबाट बाहिरिएपछि लामा गगन थापा पक्षमा सक्रिय भएका थिए। उनले विशेष महाधिवेशनमा सक्रिय भूमिका खेलेका मात्र होइन, सहमहामन्त्री पदसमेत प्राप्त गरेका थिए।

नुवाकोट–२ मा प्रभाव विस्तार गर्दै उनले महाधिवेशन प्रतिनिधिहरूलाई समेत थापा पक्षमा ल्याएका थिए र आगामी निर्वाचन लड्ने तयारीसमेत गरेका थिए। तर अन्तिम समयमा टिकट काटिँदा उनी चुनावी मैदानबाट बाहिरिएका थिए।

कांग्रेस स्रोतका अनुसार बानियाँ संस्थापन पक्षमै फर्किएपछि नेतृत्वले फेरि सत्ता परिवर्तनको जोखिम लिन चाहेन।

एकातिर बानियाँलाई हटाएर लामा ल्याउने आन्तरिक तयारी थियो, तर बानियाँले सत्ता जोगाउन संस्थापनसँग नजिकिँदै आफ्नो स्थिति बलियो बनाए। अर्कोतर्फ, प्रदेश सरकार बारम्बार परिवर्तन गर्दा जनतामा नकारात्मक सन्देश जाने डर पनि नेतृत्वमा देखिएको छ।

प्रदेश सरकारको बाँकी कार्यकाल करिब १४ महिना मात्र रहेकाले यस अवधिमा लामा पुनः मुख्यमन्त्री बन्ने सम्भावना न्यून देखिएको छ।

यसरी, आन्तरिक गुटगत राजनीति र अन्तिम समयमा बदलिएको निष्ठाले बागमती प्रदेशको सत्ता समीकरण फेरिँदा लामा पुनः मुख्यमन्त्री बन्ने बाटो बन्दजस्तै भएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया