सत्ता हल्लाउने जेनजी पुस्ता : दक्षिण एसियाको नयाँ राजनीतिक पहिचान

विदुर खबर २०८२ भदौ २५ गते १२:०१

नुवाकोट । नेपालको जेनजी आन्दोलनले दोस्रो दिनमै सत्ता उलटपुलट भएको छ ।

Advertisement

आन्दोलनको पहिलो दिनमै १९ जना युवाहरूको मृत्यु भएपछि आन्दोलनले चर्को रूप लियो । फलस्वरूप दोस्रो दिन पनि ३ जनाको मृत्यु हुनपुग्यो । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य हुनुपर्‍यो । तर, आन्दोलन त्यतिकैमा रोकिएन, राष्ट्रपति भवन, सिंहदरबार, सांसद भवन, बालुवाटारको प्रधानमन्त्री निवास, सर्वोच्च अदालतलगायतका सार्वजनिक भवनहरूमा तोडफोड आगजनी गर्नुका साथै तीनै ठूला दलका नेताहरूको निवास जलाउने, घरभित्रै छिरेर कुटपिट गर्नेलगायतका अप्रिय घटनाहरू भए ।

तर, नेपालको यो घटना पछिल्लो पटक दक्षिण एसियाका श्रीलंका र बंगलादेशको आन्दोलनसँग मिल्दोजुल्दो छ । आन्दोलन भड्किँदा त्यसले जंगल राजको झल्को दिएर मानव सभ्यतामाथि नै पनि प्रश्न खडा गरेको छ । तर, यी अँध्यारा पाटाहरूलाई एकातिर पन्छाएर हेर्ने हो भने यी तीनवटै आन्दोलनहरूले एउटा गहिरो सन्देश दिएको छ । त्यो हो, दक्षिण एसियकाका युवा पुस्ता अब मौन छैनन् ।
असमानता र भ्रष्टाचारले सीमा नाघ्दै जाँदा, बेरोजगारी र अवसरको अभावले हिनता बढाउँदै जाँदा युवा मौन बस्दैनन्, सडकमा उत्रन्छन्, प्रश्न गर्छन् र सत्ता हल्लाउँछन् । नेपालको जेनजी आन्दोलनको मूल कारण सामाजिक सञ्जाल बन्द हुनुलाई गलत रूपमा व्याख्या गर्न मिल्दैन । तमाम बेथितिका बारेमा युवा पुस्ताले सामाजिक सञ्जालबाट कुरा उठाइरहेका थिए । उक्त माध्यम बन्द हुँदा विकल्पको रूपमा आफ्नो आवाज सुनाउन उनीहरू सडकमा उत्रिएका मात्रै हुन् ।

Advertisement

दक्षिण एसियाको राजनीतिक नक्सामा युवा पुस्ताहरूको पछिल्लो आन्दोलनले एउटा नयाँ संकेत दिएको छ । नेपालको जेनजी आन्दोलन, सन् २०२४ को बंगलादेशको विद्यार्थी आन्दोलन, सन् २०२२ र श्रीलंकाको ‘गोटा गो होम’ आन्दोलनले भविष्यका कर्णधारका रूपमा हेरिने युवा पुस्तालाई वर्तमानको निर्णयक शक्तिको रूपमा स्थापित गरेको छ । चाहे आर्थिक संकट होस् वा सामाजिक न्याय वा डिजिटल स्वतन्त्रता यी सबैमा युवा पुस्ताले परिवर्तनको बाटो देखाउने काम गरेको छ ।

यी तीनै आन्दोलनका साझा विशेषता भनेकै भ्रष्टाचार, असमानता र असन्तोषविरुद्ध युवा पुस्ताको विद्रोह हो ।

Advertisement

प्रतिक्रिया