टोखा छहरे लगातका सुरुङमार्ग बजेटमा समेटिए

विदुर खबर २०८२ जेठ १७ गते १३:०२

नुवाकोट । सरकारले विभिन्न स्थानमा सुरुङ मार्ग निर्माणका लागि स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बढाउने भएको छ ।

Advertisement

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बिहीबार सार्वजनिक गरेको बजेटमा अध्ययन सम्पन्न भएका सुरुङमार्गहरू दुम्कीबास–बर्दघाट, खुर्कोट–चियाबारी, बबई–छिन्चु, मझिमटार–शक्तिखोर, हेम्जा–नयाँपुल, कुलेखानी–भिमफेदी र धरान–लेउतीको निर्माणका लागि स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बढाइने उल्लेख गरे ।

टोखा–छहरे, शिवपुर–भालुवाङ, रानीघाट–भुरिगाउँ, दोलालघाट–चर्नावती र हात्तिसार–बबई सुरूङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिने पौडेलले उल्लेख गरे ।

Advertisement

‘आर्थिक, प्राविधिक र वातावरणीय दृष्टिले उपयुक्त देखिएका स्थानमा मात्र सडकका लागि नयाँ ट्र्याक खोल्ने नीति लिइनेछ। सडक पूर्वाधार निर्माण गर्दा सुरूङ्ग प्रविधिको प्रयोग विस्तार गर्दै लगिनेछ ।

आगामी आर्थिक वर्षमा नागढुंगा र सिद्धबाबा सुरूङमार्गको निर्माण सम्पन्न गर्न २ अर्ब ६० करोड विनियोजन गरेको छु,’ पौडेलले भने, ‘वन तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ओभरपास र अण्डरपासजस्ता वन्यजन्तुमैत्री पूर्वाधार संरचना निर्माण गरिनेछ।’

Advertisement

आर्थिक वर्ष २०८२/८३ मा नागढुङ्गा, सिद्धबाबा र काठमाडौँ–तराई मधेश द्रुत मार्गमा पर्ने तीनवटा सुरूङ्ग मार्गको निर्माण सम्पन्न गरिने बजेटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया