नेकपा नाम विवाद टुंग्याउन निर्वाचन आयोगको बैठक आज बस्दै

विदुर खबर २०७५ कार्तिक ९ गते १:५०

काठमाडौं–  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ऋषि कट्टेल नेतृत्वको नेकपाको विवादबारे निर्वाचन आयोगले  बिहीबार निर्णय गर्न नसकेपछि पुन: शुक्रबार बैठक बस्ने भएको छ।

बिहीबार बसेको बैठकमा नामका विषयमा विद्यमान कानुनी व्यवस्थाको बारेमा मात्र छलफल भएकाले निष्कर्ष निकाल्न नसकिएको आयोगका आयुक्त ईश्वरी पौडेलले बताए। शुक्रबार थप छलफल गरी नेकपाको नामबारे आयोगले निकास दिने उनले बताए।नेपाल कम्युनिस्ट पार्टीको नामका बारेमा बुधबार सम्बन्धित दलबीच भएको छलफलमा सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भनिएको थियो।

यसअघि नै नेकपाको नाममा पार्टी भएकाले सोही नाममा पुन: दिँदा विवाद आउनसक्ने र सर्वोच्च अदालतसम्म विवाद जाने भएकाले विचार गरेर निर्णय गर्ने कुरा पदाधिकारी छलफलमा आएकाले शुक्रबारलाई सारिएको आयुक्त पौडेलले बताए।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि गठन भई आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र त्यसअघि दर्तामा रहेको ऋषि कट्टेल नेतृत्वको नेकपाका प्रतिनिधिसँग आयोगले बुधबार छलफल गरेको थियो। आयोगका अनुसार दुवै पक्षले नेकपाको नाममा दाबी कायम राखेपछि आयोगले मिलेर आउन दुई घन्टाको समय दिएको थियो। सो अवधिमा कुनै सहमति नजुटेपछि आयोगले आफैं यसबारे निर्णय दिने तयारी गरेको हो।

नामको बारेमा अन्तिम निर्णय गर्ने अधिकार आयोगलाई हुने कानुनी व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर भविष्यमा अदालतमा जवाफ दिन नपर्नेगरी आयोगले निर्णय गर्न चाहेको उनले बताए।

Advertisement

प्रतिक्रिया