तरकारीवाली भन्छिन्ः पढाई बिग्रेला भनेर थुप्रै फिल्म छोडेँ

विदुर खबर २०७४ फागुन १२ गते १२:३९

कुसुम श्रेष्ठ ‘तरकारीवाली’ यतिबेला आफ्नो डेब्यू फिल्मको रिलिज पर्खाइमा छिन् । उनको अभिनय रहेको फिल्म ‘लम्फु’ वैशाखको पहिलो हप्ता प्रदर्शन हुँदैछ ।

Advertisement

तरकारी बोकेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि चर्चामा आएकी कुसुम पछिल्लो समय हराएकी थिइन् । तर, लम्फुको पोष्टर रिलिजपछि उनी फेरि लाइमलाइटमा छिन् ।

यसबीचमा आफूले पढाईका कारण थुप्रै फिल्महरुको अफर अस्वीकार गरेको कुसुमले दावी गरिन् ।

Advertisement

उनले भनिन्, ‘पढाई बिग्रेला भनेर धेरै फिल्म छोडेँ, म्यूजिक भिडियोका अफर त झन् कति आएका थिए कति ।’

चितवनमा रहेको कोस्ट मोडल कलेजमा वाणिज्यशास्त्रमा स्नातक अध्ययनरत कुसुम अहिले परिक्षाको तयारीमा छिन् । परिक्षा सकेपछि मात्रै नयाँ फिल्ममा अभिनयको बारेमा सोच्ने उनी बताउँछिन् ।

Advertisement

‘लम्फु’मा आफूले निर्माताको जोड र भूमिका राम्रो लागेर मात्र अभिनय गरेको कुसुमले बताइन् । उनका अनुसार ‘लम्फु’ युनिट फिल्मको अफर लिएर उनको घरमै पुगेको थियो ।

‘सुरुमा त मैले अभिनय गर्न आनाकानी गरेकी थिएँ । तर, निर्देशक गोपालचन्द्र लामिछाने दाई पढाई नबिग्रने ग्यारेन्टी गरेपछि खेल्न तयार भएकी हुँ,’ उनले भनिन् ।

अब ‘लम्फु’ रिलिजपछि मात्रै अन्य फिल्ममा काम गर्ने विषयमा सोच्ने उनले धारणा राखिन् ।

फुर्सदको समय नेपाली चलचित्र हेर्ने गरेकी कुसुमलाई अहिले पनि साथीहरुले ‘तरकारीवाली’ भनेर जिस्क्याउछन् । सुन्दा रमाइलो लाग्छ । यताउता जाँदा पनि उनलाई बाटोमा भेट्नेहरुले सोध्दा रहेछन् ‘तपाई तरकारीवाली हैन ?’

तरकारीवाली भनेरै चर्चामा आएकाले त्यसरी सोध्नेहरुसँग उनको कुनै गुनासो  छैन ।

‘म तरकारीवाली भनेरै चर्चामा आएँ, त्यसकारण कसैले तरकारीवाली हो भन्दा रिसाउदिनँ,’ उनले भनिन् ।

प्रतिक्रिया