धादिङमा पहिरोले २ जना पुरिए, खोलाले बगाएर एक बालिका बेपत्ता

नुवाकोट । लगातार वर्षा भइरहेको बेला धादिङको मलेखु खोलामा माछा मार्न गएका बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएका छन् ।
खोला बढेपछि नजिकै रहेको ओढारमा ओत लाग्ने क्रममा पहिरो खस्दा पहिरोमा परेर चेपाङद्वय बेपत्ता भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डीएसपी डिल्लीराज पाण्डेले बताए ।
नदीमा माछा मार्न जान लागेका उनीहरू निरन्तरको वर्षाका कारण गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बाडाँडामा रहेको ओडारमा बस्दा पहिरोले पुरिएका हुन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले पहिरो पन्छाएर उनीहरूको खोजी गरिएको भए पनि नभेटिएपछि उद्धार टोली शनिबार बिहानबाट खोजीलाई निरन्तरता दिन राति अबेर फर्किएको छ ।
यता धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर ७ र ८ को बीचमा पर्ने घट्टेखोलाले बगाउँदा दोभान खर्ककी ६ वर्षीया सइरा तामाङ बेपत्ता भएकी छन् । खोलाले बालिकासहित उनकी हजुरआमा ठूलीमाया तामाङ र मोटरसाइकल चालक स्थानीय राजकुमार तामाङलाई पनि बगाएकोमा उनीहरू भने पौडिएर जोगिन सफल भएका थिए । मोटरसाइकलसहित बालिकालाई खोलाले बगाएको ८ नम्बर वडाका वडाध्यक्ष देवराज ओझाले बताए ।
पौडिएर बाँचेका दुवै जनाको उपचारका लागि आदमघाट सामुदायिक अस्पतालमा पठाइएको छ । बेपत्ता बालिकाको राति अबेरसम्म खोजी प्रयास गरे पनि फेला नपरेको र खोलामा पानीको बहाव बढेका कारण अहिले खोजीकार्य स्थगित गरिएको छ ।
लगातारको वर्षाका कारण संघीय राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा ठाउँठाउँमा गएको पहिरोले दिनभर अवरोध बन्यो । धादिङको धुनीबेँसीको सिस्नेखोलामा पहिरोसँगै आएको लेदोका कारण त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा खण्ड राति ९ बजेसम्म पूर्णरूपमा अवरुद्ध बन्यो । लगातारको वर्षासँगै सडक छेउमा आएको पहिरोको लेदोका कारण सडक अवरुद्ध भएपछि राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन रोकिएका थिए । राति अबेर गरी लेदो पन्छाइए पनि वर्षा निरन्तर भइरहेकाले सवारी आवागमन प्रभावित छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु, सलाङघाट, थाक्रेको कमेरे, ४ किलो र ८ किलोमा गएको पहिरोले राजमार्ग राति अबेरसम्म ठप्प छ । निर्माणाधीन सडक आयोजना र सडक विभागको डोजर प्रयोग गरी पहिरो पन्छाउने काम गरिरहेको भए पनि धेरै स्थानमा पहिरो गएको कारण सवारी आवागमन सुचारु गर्न सकिएको छैन । संघीय राजधानी काठमाडौं प्रवेश गर्ने नाकाका रूपमा रहेको सडक अवरुद्ध हुँदा संघीय राजधानी प्रवेश गर्ने र बाहिरने यात्रु अलपत्र परेका छन् ।
राजमार्गमा पहिरोको जोखिम भएकाले प्रहरीले सवारीसाधनलाई सुरक्षित स्थानमा रोकेर बस्न भनिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए । लगातारको वर्षाका कारण धादिङको अधिकांश ग्रामीण सडक पनि अवरुद्ध छ । त्रिशूली, आँखु, बुढीगण्डकीलगायतका नदी तथा खोलामा जलस्तर बढेको छ ।
धादिङ संवाददाता पोषनाथ अधिकारीको सहयोगमा
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया