माओवादीमा हलचल ल्याएको जनार्दन शर्माको प्रस्ताव र त्यसपछिका कम्पनहरु

पुँजीवादी जनवादी क्रान्तिलाई आफ्नै मौलिकताका साथ सम्पन्न गरेको माओवादी पार्टीले अहिले इतिहासकै गम्भीर सङ्कटको सामना गरिरहेको छ।
पार्टीका तमाम कार्यकर्ता जो यही पार्टीमार्फत देश,समाजको परिवर्तन र आफ्नो भविष्य खोजिरहेका छन् तिनीहरू अहिले पार्टी र आन्दोलनको वर्तमान अवस्था देखेर गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् । यही नेता कार्यकर्ता चिन्ता र चासोको केन्द्रीकृत अभिव्यक्तिस्वरुप उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा चौध पृष्ठ लामो प्रस्ताव पेस गर्नुभएको छ। यो प्रस्तावपछि पार्टी भित्रभन्दा बाहिर गम्भीर विमर्शहरू भइरहेका छन् ।माओवादी कार्यकर्ता हुनुको नाताले यसकाबारे आफ्नो धारणा राख्नु र सार्वजनिक बहसमा ओर्लनु स्वाभाविक नै होला भनेर यो लेख लेखिएको हो।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले नयाँ जनवादी क्रान्तिको कार्यक्रम नै नेपाली क्रान्तिको कार्यक्रम बनाउनु भएको थियो।चिनियाँ क्रान्तिका नेता माओजेदुङले अर्धसामन्ती र अर्ध औपनिवेशिक समाज र राष्ट्रमा सर्वहारा वर्गको पार्टी कम्युनिस्ट पार्टीको नेतृत्व दीर्घकालीन जनयुद्धको माध्यमबाट नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने प्रस्ताव गर्नुभएको थियो। त्यही नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई अगाडि बढाउन कमरेड प्रचण्डको नेतृत्वमा किरण , बाबुराम भट्टराई , बादल र सीपी गजुरेलहरूले दीर्घकालीन जनयुद्धको कार्यदिशा विकास गर्नुभयो। त्यसैले जनयुद्धको प्रारम्भ गर्यो।
त्यसका निम्ति नेकपा (माओवादी) पार्टी निर्माण गर्नुभएको थियो। दश वर्षको उथलपुथलमय जनयुद्धको बलमा आज मुलुकले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता , धर्मनिरपेक्षता र समावेशी समानुपातिक लोकतन्त्र जस्ता आधुनिक राजनीतिक उपलब्धिहरू हासिल गरेको छ।यो अध्यक्ष प्रचण्ड नेतृत्वको टिमले साहस नगरेको भए सम्भव हुने थिएन।यो २१ औँ शताब्दीको मौलिक पुँजीवादी जनवादी क्रान्ति थियो। यो क्रान्तिको मूल नायक अध्यक्ष प्रचण्ड नै हो ।
विश्व इतिहासकै मौलिक क्रान्ति सम्पन्न गरेको माओवादी पार्टी र नेतृत्व शान्ति प्रक्रिया पछि भने असफल हुँदै गयो।पार्टी तीव्र गतिमा ओरालो लाग्यो।नेतृत्व माथि प्रश्नै प्रश्नहरू तेर्सिए।पार्टी विभाजनको शृङ्खला रोकिएन।पार्टीका तमाम नेता कार्यकर्ता नेतृत्व र पार्टीबाट अलगथलग बन्दै गए ।जनयुद्धको योद्धाहरू परिबार पाल्न खाडी जानुपर्ने भयो।पार्टी किसान मजदुर युवा पुस्ता र आधुनिक श्रमजीवी वर्गबाट अलगथलग हुँदै गयो। यसको कारण खोज्नै पर्ने थियो।खोज्ने काम सुरु भएको छ।सत्य अन्वेषण नगरी धर छैन।
अब इतिहासको बखान गरेर अघि बढ्न सकिँदैन ।बरु बर्तमानका प्रश्नहरूको सही जबाफ / समाधान दिएर मात्रै अघि बढ्न सकिन्छ।दुनियाँको इतिहासको यो अहम् सवाल हो।बर्तमानका प्रश्नहरूको सही जबाफ / समाधान दिएर मात्रै अघि बढ्न सकिन्छ।पार्टी निर्माण र अर्थ राजनैतिक बिकल्पकाबारे उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र थालनी गर्नुभएको बहस एउटा कोसेढुङ्गा हो ।यसलाई सकारात्मक ढङ्गले ग्रहण गर्न सक्दा पार्टीको हित हुन्छ।
माओवादी पार्टी शान्ति प्रक्रिया पछि किन असफल हुँदै गयो। यो निकै गम्भीर सवाल हो। यो असफलताको नैतिक जिम्मेवारी पार्टीको मूल नेतृत्वदेखि अहिलेका पदाधिकारीहरूले नै लिने कुरा हो। मुख्यतः अध्यक्षले नै हो भन्ने कुरामा दुनियाँ जगजाहेर नै छ। किनभने उहाँकै नेतृत्वमा दुनियाँलाई चकित पार्ने क्रान्ति भएको थियो। यो क्रान्तिको मुख्य जस र नैतिक पुँजी अध्यक्ष प्रचण्डकै हो।
इतिहास राजा महाराजाहरूले लेख्ने र बनाउने चलन भत्काएर सामान्य किसानका छोराछोरीले नयाँ इतिहास बनाउने र लेखाउने दर्बिलो इतिहासको गौरवमय नेतृत्व उहाँकै थियो। दुनियाँभर राजनैतिक क्रान्ति सम्पन्न गरेपछि त्यसले आफ्नो आर्थिक सामाजिक कार्यक्रम लागू गर्न नसके त्यो क्रान्तिका उपलब्धिहरू उल्टिने गरेको छ। अर्थात् प्रतिक्रान्ति हुने गरेको छ। हामी विश्वको उदाहरणतिर जानै पर्दैन। नेपाल देश बनेपछि त्यसका नेतृत्वहरुले स्थापित गरेको अर्थ राजनैतिक कार्यक्रम हेर्दा मात्रै पनि बुझिन्छ माओवादी कहा गोर्खाली राजा पृथ्वीनारायण शाहले कान्तिपुर राज्य जितेर आजको नेपाल बनेपछि आफ्नो राजनीतिक सत्ता लागि बनाएको अर्थ राजनैतिक कार्यक्रम भनेको जमिनको स्वामित्वमा आफ्नो राज्य बिस्तार अभियानका अभियन्ताहरुलाई जमिनको स्वामित्व जस्तै बिर्ता जागिरको रूपमा जमिनको स्वामित्व दिनु हो।
यो प्रथा नै नेपाली अर्थतन्त्रको लामो समय अर्थ राजनैतिक कार्यक्रम बन्यो। राणा-शाहहरूले यसलाई निरन्तरता दिए।राजतन्त्रको यो आर्थिक कार्यक्रमले शाह वंशको राजतन्त्रलाई अढाई सय वर्ष टिकायो। राणा शासनको अन्त्य नहुँदै यसलाई २००६ सालमा कम्युनिस्ट पार्टी बनेपछि नेपाली समाजलाई अर्धसामन्ती समाजको रूपमा चित्रण गरियो।
२००७ सालको परिवर्तनपछि पनि नेपालको सत्तामा जमिनदार वर्ग र उदार लोकतन्त्रमा विश्वास गर्ने शक्तिका बिच छिनाझम्टि जारी रह्यो।२०१५ भएको पहिलो निर्वाचनमा काङ्ग्रेसले दुई तिहाइ बहुमत हासिल गरेपछि तत्कालीन कोइराला सरकारले बिर्ता उन्मुलनको क्रान्तिकारी कदम अघि बढायो । त्यतिबेलासम्म नेपालको झन्डै एक तिहाई जमिन दरबार र त्यसका भाइ भारादारको नाममा बिर्ता थियो। बनको राष्ट्रियकरण गरियो। यसले जमिनदार वर्ग उत्तेजित भए। यो वर्गले राजा महेन्द्रलाई उचालेर बिपी कोइराला सरकारलाई अपदस्त गरायो ।
राजा महेन्द्रले पञ्चायत लागू गरे। पञ्चायत राजाको तजबिजमा शासन गर्ने प्रणाली थियो। यसले शाह पारिवारिक नियन्त्रित अर्थ राजनीति लागू गर्दै पञ्चायतलाई अघि बढाए। कथित भूमि सुधारको नाममा आफू निकट जमिनदारको जमिन जोगाए। आफू र आफ्नो परिबार नियन्त्रणमा रहेर विदेशी सहयोगमा केही उद्योग धन्दा चलाए। पूर्व पश्चिम राजमार्ग बनाए।
कोदारी राजमार्ग निर्माण गरे भने २०२८ मा नयाँ शिक्षा नीति लागू गरे।पञ्चायतलाई टिकाउन राजाले यस्तो आर्थिक कार्यक्रम बनाए। राजालाई विष्णुको अवतारको रूपमा पढाए।आफ्नो पुर्खाको गोर्खा राज्य बिस्तार अभियानको गौरवीकरण गर्न नेपाल भाषी साहित्यकारहरूलाई झिकाएर ठुलो सांस्कृतिक र साहित्यिक अभियान चलाए।
यसका बाबजुद बाह्य दुनियाँमा लोकतन्त्र लहर र अर्थतन्त्रमा खुला बजार अर्थतन्त्रको आँधी आउन थालेपछि पञ्चायत विरुद्ध बिस्तारै विकसित हुँदै गरेको मध्यम वर्ग पनि आन्दोलित हुन थाल्यो। सत्तरीको दशकमा विश्वव्यापी रूपमा किन्सियन अर्थतन्त्रको विकल्प खोज्न थाल्यो। एफ ए हायक र मिल्टन फ्रिडम्यानहरुको अर्थ राजनीतिले सत्तरीको दशकमा राज्यले हस्तक्षेप गर्ने अर्थतन्त्रको विकल्पमा बजारले नियन्त्रण गर्ने आर्थिक प्रणाली लागू हुन थालेको परिवेशमा नेपालमा २०३६ सालको जनआन्दोलन भयो।त्यसले पञ्चायतलाई जनमतसंग्रहमा जान बाध्य बनायो। भलै जनमतसंग्रहमा पञ्चायतलाई जिताइयो।
विश्वव्यापी रूपमा बढिरहेको उदार लोकतन्त्र र नबउदारबादी अर्थ राजनीतिको भेल झन् बेजोडले बग्न थाल्यो।त्यसले पञ्चायत टिक्न सकेन । सोभियत सङ्घको विघटनले यसलाई झन् उत्साहित बनायो।बहुदलीय लोकतन्त्र र नबउदारबादले नेपाललाई पनि लपेट्यो। पहिलो जन आन्दोलन पछि नेपाल पनि खुला बजार अर्थतन्त्रको बाटोमा बेलगाम दौडन पुग्यो।काङ्ग्रेस सरकार र त्यसका थिङट्याङहरुले यसलाई आफ्नो पार्टीको कार्यक्रम बनाए ।
निजीकरण ऐन ल्याएर पञ्चायतले स्थापना गरेको उद्योगहरू निजीकरण गरिए।शिक्षा र स्वास्थ्यमा राज्यको दायित्वबाट निजी क्षेत्रलाई व्यापार गर्न बाटो खुला गरिदिए।बैङ्क तथा वित्तीय संस्थाहरू निजी क्षेत्रलाई सुम्पियो।तीन वर्षको बिचमा नेपालमा धनी र गरिबको बिचको खाडल विश्व रेकर्ड नै ब्रेक हुने गरी असमानताको परिणाम आउन थाल्यो।कृषि र नेपालको उद्यमबाट उत्पादित वस्तुले विदेशी बस्तुसँग प्रतिस्पर्धा गर्ने सकेन ।बहुदलीय संसदीय प्रणालीले अघि बढाएको अर्थ राजनीति थियो यो।
यही नव उदारवादी अर्थ राजनीतिको विकल्पमा माओवादी विद्रोह भएको थियो। तर माओवादी विद्रोहपछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र,र समानुपातिक समावेशी लोकतन्त्रको आफ्नो मौलिक अर्थ राजनीतिक विकल्प दिन सकेन। यस कारण माओवादी विद्रोहलाई विश्वास गर्ने परम्परागत श्रमिक वर्ग (किसान मजदुर) र आधुनिक श्रमिक बर्गपनि माओवादीसँग अलग हुँदै गयो। माओवादीले न भूमिसुधारको मुद्दामा आफूलाई उभ्यायो न शिक्षा र स्वास्थ्यको मुद्दामा जनताको पक्षमा उभ्यायो।
सङ्घीयताको अर्थ राजनीति माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा १ लाखको बजेट सङ्घीय सरकारबाट हालेर धज्जी उडाउने काम भयो। समानुपातिक समावेशी लोकतन्त्रको राजनीतिक मुद्दालाई आर्थिक र सामाजिक क्षेत्रमा विकास गर्नुपर्ने थियो।दुर्भाग्यको कुरा सूर्य बहादुर सेन ओलीहरूलाई समानुपातिक सांसद बनाएर यही हो महान् उपलब्धि भने जस्तो भाष्य निर्माण गरियो। न नवउदारवाद न राज्य नियन्त्रित अर्थतन्त्र-कुहिरोको काग जस्तो बन्यो माओवादी । माओवादीले आफ्नो मौलिक आर्थिक विकास मोडेल दिन सकेन । यही हो माओवादी अलमल र अन्यौलता।
लामो समय सत्तामा बसेर पनि र अनेक पटक शिक्षा मन्त्रालयको नेतृत्वमा माओवादी नेता गए पनि माओवादी क्रान्तिका महत्वका बारेमा हामीले पाठ्यक्रमहरू बनाउन सकेनौँ ।जनयुद्धको अर्थ राजनैतिक सामाजिक, सांस्कृतिक महत्त्व नयाँ पुस्तालाई दीक्षित गर्न सकेनौँ ।त्यसले हाम्रो नेतृत्वलाई राक्षसीकरण र क्रान्तिलाई अपराधीकरण गर्नेहरूले जित्दै गएका छन् । यो भयङ्कर खतराको कुरा हो।
नवउदारवाद र त्यसले स्थापित गरेको असमानता , प्रकृतिको दोहन र अमानवीय चरित्र बदल्न थालिएको माओवादी जनयुद्ध र नेतृत्व यही पुँजीवादी नवउदारवादको फोहोरको डङ्गुरमा भुनभुनिन थालेपछि सङ्कट आएको हो माओवादी आन्दोलनमा । अब यसको विकल्पमा प्रगतिशील आर्थिक सामाजिक कार्यक्रमसहित विकल्प दिन ढिला गरे माओवादी पत्तनको यात्रा कुनै भगवानले जोगाउन सक्दैन ।अहिले उदय भइरहेको नवदलहरू माओवादीले विकल्प दिन नसक्दाको परिणाम हो।
आधुनिक ज्ञान विज्ञान र प्रविधिको विकाससँगै जन्मिएको नयाँ उत्पादक शक्तिहरू निश्चित रूपमा आधुनिक युगको अर्थ राजनैतिक विकल्प खोजिरहेका छन् ।जनार्दन शर्माले आफ्नो प्रस्तावमा यही विकल्प सम्बोधन गर्न खोज्नु भएको हो। यो यस कारण महत्त्वपूर्ण छ।
अर्कोतिर पार्टी र नेतृत्व निर्माण परम्परागत ढङ्गले हुँदैन । पार्टीको राजनैतिक कार्यदिशा समाजमा श्रेष्ठता हासिल गरेर बहुमतसहित समाजवादको यात्रामा जाने हो भने पार्टीभित्र पनि आन्तरिक लोकतन्त्रको माध्यमबाट पार्टी र नेतृत्व निर्माण गर्नुपर्छ।बाह्य दुनियाँमा श्रेष्ठता हासिल गर्न त्यही स्तरको नेतृत्व जरुरी छ।अझ त्यो भन्दा अब्बल नेतृत्व चाहिन्छ।अब्बल सङ्गठन अपरिहार्य हुन्छ। राजनैतिक कार्यदिशा र संगठनात्मक कार्यदिशा बिचको अन्तर अन्त गर्नु पनि अहिलेको खाँचो हो।
अध्यक्ष प्रचण्डले ऐतिहासिक क्रान्तिको नेतृत्व गर्नुभएको छ। एउटा युगमा हजारौँ मानिसको बलिदान लाखौँ कार्यकर्ताको पसिनामा जन्मेको नेतृत्व हो प्रचण्ड । प्रचण्डको नेतृत्व अर्को युगसम्म जीवित रहनुपर्छ । पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारको क्रममा नेपाल निर्माण गरेर पुरानो नेपालको नायक बनेजस्तै प्रचण्ड लोकतान्त्रिक गणतन्त्र स्थापनाको नायक हो।यसैलाई स्थापित गर्न उहाँलाई वैचारिक प्राधिकारसहित सत्ताको नेतृत्वमा र सङ्गठनलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने जनार्दनको प्रस्तावलाई नेतृत्वमाथि हमलाको दुहाई दिएर कतिपयले यो ऐतिहासिक महत्वको प्रस्तावलाई तिरस्कार गर्न खोजिरहेका छन् ।
यो दुर्भाग्यको कुरा हो। सबैलाई थाहा नहुन सक्छ अध्यक्ष प्रचण्डको अगाडि उभिएर जसले उहाँको बखान गर्छन् कोठाभित्र धारेहात लगाएर प्रचण्डबाट केही हुँदैन भन्नेहरू उहाँकै वरिपरि छन् । प्रचण्डको महत्वलाई अर्को युगसम्म बिस्तार गर्न प्रचण्डले आफूले नेतृत्व गरेर लडेको जनयुद्ध र त्यो पार्टीलाई अर्को सय वर्षसम्म जीवित राख्न पार्टी निर्माणका लागि उहाँले नै अर्को ऐतिहासिक निर्णय लिनुपर्छ ।त्यो गतिशीलता भएको नेता हो प्रचण्ड ।
पार्टी सञ्चालन र परिचालन युद्धकालीन पद्धति र मनोविज्ञानबाट निर्देशित हुँदा गम्भीर त्रुटिहरू भएका छन् ।पार्टीमा सामूहिक नेतृत्व प्रणाली स्थापित नहुँदा नेतृत्वमा मनोगत पक्ष हाबी भएको छ। पार्टीको महाधिवेशन हुन्छ, महाधिवेशनले कमिटी निर्माण गर्छ
तर फेरि केही मान्छे बसेर महाधिवेशनको धज्जी उडाएर सयौँका सङ्ख्यामा केन्द्रीय सदस्यहरू थपिन्छ।महाधिवेशन भन्दा माथि कम्युनिस्ट पार्टीमा अध्यक्ष पनि हुँदैन तर काहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझैँ माओवादीमा सांगठानिक भद्रगोलता छ। विदेश विभाग छ त्यसको कुनै काम हुँदैन ।आर्थिक विभाग छ त्यो कामयावी छैन।सङ्गठन विभाग छ जिम्मेवारी छैन। पार्टीलाई विधिमा सञ्चालन नगर्दा, कार्यकर्तालाई जनताप्रति नेतृत्वलाई कार्यकर्ताप्रति जबाफदेही बनाउने विधिको विकास नहुँदाका कारण पार्टीले क्षति बेहोर्नु परेको छ।
पार्टीमा कार्यकर्तालाई नेतृत्वले गल्ती गर्दा प्रश्न गर्ने मात्रै होइन फिर्ता बोलाउने अधिकार स्थापित हुनुपर्छ ।नयाँ पुस्तासँग संवाद गर्न नयाँ पुस्तालाई नेतृत्वमा आउने ढोका खुला गर्नुपर्छ। पार्टीका तल्ला कमिटीहरूलाई अधिकार सम्पन्न बनाइनु पर्छ। यी प्रस्तावहरूले पार्टी कमजोर होइन बलियो बनाउनेछ । उपमहासचिव शर्माको प्रस्तावमा यही गम्भीर चिन्ता र पार्टी निर्माणको मार्गचित्र प्रतिबिम्बित भएको छ।
तर अनेक बहाना बनाएर प्रचण्डको सामु लम्पसार पर्ने अलि पर गएर प्रचण्डकै शब्दमा धारेहात लाउनेहरूले यो प्रस्तावका बारेमा गरिरहेका टिप्पणीहरू सबैभन्दा घृणितहरूको कुकर्म बाहेक केही हुन सक्दैन । जनार्दन शर्मालाई प्रचण्ड विरोधी र नेतृत्व विरोधी भनेर दण्डित गर्न खोज्नेहरूले बुझ्नुपर्छ २०४३ मा प्रचण्डलाई भेटेदेखि जनार्दनले प्रचण्ड र पार्टी नेतृत्वले निर्माण गरेको हरेक राजनैतिक / फौजी योजना सफलतापूर्वक सम्पन्न गर्न सहयोग मात्रै गर्नुभएको छैन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ।पार्टीले हरेक पटक अप्ठ्याराहरू झेल्नुपरेको बखत आफू अपमानित भएर समेत फौजी र राजनीतिक मोर्चामा पार्टीलाई सफलता दिलाउनु भएको छ।
चाहे खाराको पराजयपछिको डरलाग्दो सन्ननाटाकाबीच पिलिको फौजी पहलकदमी होस् चाहे गण्डकको फौजी अभियान । शान्ति प्रक्रिया पछि हरेक मोर्चामा चाहे सरकारको मोर्चामा होस् चाहे संसद् र जनपरिचालनको ऐतिहासिक रेकर्ड त्यो पार्टीको हितमा शर्माले खेल्नुभएको ऐतिहासिक भूमिका निस्तेज पारेर माओवादी पार्टीको इतिहास पुरा हुँदै हुँदैन ।नेकपा विभाजन पछि डरलाग्दो अवस्था सिर्जना भएको थियो।एउटा यस्तो सन्देश दिने जनपरिचालन जरुरी थियो त्यो २०७७ चैत्र २४ को जनआन्दोलन दिवसको अवसरमा स्वयं अध्यक्ष प्रचण्डलाई प्रमुख अतिथि बनाएर पश्चिम रुकुममा गर्नुभएको थियो र एउटा डरलाग्दो सन्नाटा चिरेर माओवादी जीवित रहेको सन्देश दिनुभएको थियो।
यो एउटा जिल्लामा कुनै तागतले गर्न सक्ने जनपरिचालन थिएन।के यो पार्टी र नेतृत्व विरोधी कुरा थियो?पार्टीले सरकारको मोर्चामा पठाओस् वा अन्य भूमिका अब्बल परिणाम निकालेर पार्टी र नेतृत्वलाई स्थापित गर्न जनार्दन शर्माको जस्तो भूमिका निर्वाह गरेर सबैले आफूलाई स्थापित गर्नु पो राम्रो होला।कोठाभित्र चाकरी गरेर होइन , मैदानमा अवसर दिएको बेला पार्टी र नेतृत्वलाई स्थापित गर्न प्रतिस्पर्धा गरेको दिन मात्रै वास्तवमा पार्टी र नेतृत्व बलियो बन्छ ।
स्वाभाविक हो हाम्रो समाजमा अहिले कोलाहल छ । बम पड्केको छैन तर अशान्त छ। हामीले नयाँ पुस्तालाई सपना देखाउन सकेका छैनौं । सपना भएन भने समाज मरेतुल्य हुन्छ। समाजको यही सङ्कट र समाधानको बाटोको रूपमा पार्टी भित्र अहिले बहस प्रतिबिम्बित भएको अर्थमा यसलाई बुझ्नु नै मार्क्सवाद हो।नेतृत्वको अघि उभिएर देवत्वकरण गर्ने अँध्यारो कोठामा राक्षसीकरण गर्नु भन्दा नेतृत्वका सामु प्रश्न गरेर मात्रै सही समाधान दिन सकिन्छ। स्वयं अध्यक्ष प्रचण्डले माओकाका उपमा पाएका मोहन विक्रम सिंहको दृष्टिकोणमाथि प्रश्न गर्ने साहस नगरेको भए क्रान्तिका नायकको रूपमा र आजको युगान्तकारी परिवर्तन सम्भव थियो र ? प्रश्नले कमजोर होइन बलियो बनाउँछ। नराम्रो होइन राम्रो बनाउँछ। गौतम बुद्धदेखि मार्क्स लेनिन माओ र अध्यक्ष प्रचण्ड सम्मको शिक्षा हो- प्रश्न गर।
स्वयं अध्यक्ष प्रचण्डले आफ्नै शिक्षालाई गलत अर्थ लगाउने काम गर्नु मार्क्सवाद सङ्गत कुरा होइन र प्रश्न गर्नेलाई दण्डित गर्ने र चाकरहरूलाई पुरस्कृत गर्ने सामन्ती प्रचलन हाम्रो जस्तो क्रान्तिकारी पार्टीमा स्वीकार्य हुने कुरा होइन।
अन्तमा महाभारतको कथामा द्रौपदी र पाँच पाण्डवको बिहे प्रसङ्गबाट यो लेख अन्त्य गर्न अनुमति चाहन्छु।महाभारतमा राजा द्रुपदका छोरी द्रौपदीको विवाह मत्स्यबेतको सर्त पुरा गर्ने राजकुमारसँग मात्रै हुने भयो। हजारौँ राजकुमारहरुकाबीच अर्जुनले यो सर्त पुरा गर्ने सके। मत्स्येबेतको सर्त पुरा गरेर द्रौपदीलाई स्वयंवर गरी घर पुग्दा अर्जुनले आमा कुन्तीलाई खबर गरे-हामीले आज नयाँ चिज लिएर आएका छौँ । तर आमा कुन्तिले हेर्दै नहेरी पाँचै भाइले बाँडेर खान आदेश दिइन् ।
आमाको आदेशको नाममा सबैभन्दा पहिला श्रीमतीको रूपमा युधिष्ठिरले द्रौपदीलाई श्रीमती बनाउने भए। त्यसक्रममा द्रौपदीका दाजु धृष्टधुम्नले युधिष्ठिरलाई प्रश्न गरे, ´भाइले स्वयंवर गरी ल्याएको बुहारीसँग संसर्ग गर्नु अपराध होइन र`? युधिष्ठिरले भने, ´मैले गरेको सबै नाजायज काम धर्म हुन्छ।`नाजायज काम पनि धर्म मान्ने यस्तो प्रवृत्ति बदल्ने हो भने प्रश्न गर्नुपर्नेछ। यहि सही बाटो हो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया