भुकम्पको गएको नौ वर्ष बितेपनि टेकोको भरमा नुवाकोट दरबार

विदुर खबर २०८१ वैशाख १२ गते १४:४८

नुवाकोट । २०७२ वैशाखमा गएको भूकम्पका कारण नुवाकोटको सात तले दरबार र त्यस वरपर रहेका ऐतिहासिक धरोहरहरुमा क्षति पुग्यो । क्षति भएको झण्डै एक दशकसम्म पुनर्निर्माण को प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

Advertisement

पुनर्निर्माण का लागि स्थानीय सरकार तथा नागरिकले पटक-पटक आवाज उठाइसकेका छन् । भूकम्पले क्षति गरेका अन्य ऐतिहासिक धरोहरहरू ९० प्रतिशत निर्माण सम्पन्न भइसक्दा नुवाकोट दरबार भने अझै टेकोको भरमा अडिएको छ ।

नुवाकोटको दरबार पुनर्निर्माण गर्ने भनेर पाँच वर्ष अघि चीन र नेपाल सरकारबीच सहमति भएको थियो । चिनियाँ इन्जिनियरको टोलीले नाप्ने काम मात्र गरेका छन् । चीनले पुनर्निर्माण को जिम्मा लिएपनि हालसम्म टेकोले मात्र अडिएको छ ।

Advertisement

दरबारको नाप्ने सबै काम सम्पन्न भए पनि निर्माण प्रक्रिया अगाडि नबढेको विदुर नगरपालिका- २ का वडाअध्यक्ष दिपक कायस्थले बताएका छन् ।  पुनर्निर्माण मा ढिलाइ भएको भन्दै नुवाकोटका जनप्रतिनिधिहरूले चिनियाँ दूतावासमा ध्यानाकर्षण गरेका छन् । २०८० पुस १३ गते चिनियाँ दूतावासमा नगरपालिका र जिल्ला समन्वय समितिको टिम गएको थियो ।

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्र विक्रमसिंह र विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठलगायतका प्रतिनिधिमण्डलले सात तले दरबार पुनर्निर्माण छिट्टो गर्न दूतावासका आर्थिक तथा वाणिज्य कन्सुलर सिय युसहितको टोलीसँग छलफल गरेका थिए ।  उनीहरूले ऐतिहासिक धरोहर खण्डहर बन्दै गएको भन्दै चिनियाँ पक्षलाई ध्यानाकर्षण गराएका थिए । उनीहरूले स्थानीय सरकार सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

Advertisement

दूतावासका कन्सुलर सिय यु र दरबार पुनर्निर्माणको काम हेरिरहेका इन्जिनियर वाङले चाइना एकेडेमी अफ कलचरल हेरिटेजले पुनर्निर्माण को काम गर्ने जिम्मा लिएपनि भिसा, कर र ढुवानीको समस्याका कारणले पुर्ननिर्माणको काममा ढिलाई भएको बताउँदै आएका छन् । यो समस्या समाधानका लागि संघीय सरकार र स्थानीय सरकारको सहयोग आवश्यक रहेको उनीहरूले बताए ।

दूतावासले दरबार पुनर्निर्माण का लागि डिपिआर तयार गरिसकेको कायस्थले जानकारी दिए । ‘डिपिआर चाइनिज भाषामा तयार गरिएको रहेछ । डिपिआरमा भएको भाषालाई अंग्रेजी भाषामा अनुवाद गर्ने तयारी भइरहेको छ,’ उनले भने,’ पुरातत्त्व विभागले चाइनिज भाषा बुझ्दैन । अंग्रेजी भाषामा अनुवाद गर्नलाई लागिरहनु भएको छ । निर्माण प्रक्रिया भाषाको कारणले पनि रोकिएको हो । ‘

डकुमेन्ट हेरेर पुरातत्त्व विभागले निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन दिनासाथ काम अगाडि बढ्ने दूतावासले बताएको छ । चीनबाट आउने कामदारलाई भिसाको समस्या हुने गरेको जानकारी चिनियाँ पक्षले गराएको आफूले पनि जानकारी पाएको उनले बताए । ‘६ महिनाको भिसा दिन्छ । पुनः १५/१५ दिनमा थप्नुपर्ने समस्या देखाइन्छ ।

स्थानीय सरकारले दरबारको काम गर्नेलाई तीन वर्षको भिसा मिलाउन पहल गर्नुपर्छ,’ दूतावासको भनाइ उद्धृत गर्दै उनले भने,’ हामीले केन्द्र सरकारसँग भिसाको लागि पहल गर्नेछौ । देशका लागि काम गर्न आउनेलाई भिसा रोक्नु हुँदैन भनेर हामी पहल गर्नेछौ भनेर आएका छौ ।‘

तत्कालीन नुवाकोट राज्यमाथि विजय प्राप्त गरेको १५ वर्षपछि १८१९ सालमा पृथ्वीनारायण शाहले दरबार निर्माण गरेका थिए । ललितपुरबाट कालिगढ झिकाई नौतले दरबार बनाएका थिए जुन १९९० सालको महाभूकम्पले दुई तल्ला भत्काएपछि सात तल्ले भएको थियो । वि.सं. १९९० सालमा भरिया लगाई समान बोकेर दरबार बनाइएको थियो ।

पुनःनिर्माणको पर्खाइमा रहेको दरबारभित्र पृथ्वीनारायण शाहले प्रयोग गरेका लुगाफाटा, पलङ, ओछ्यान, युद्धका सामग्री, पृथ्वीनारायण शाह र रानीका प्रतिमालगायतका ऐतिहासिक संरचनाहरु राखिएको छ ।

खट र टेको लगाएर राखिएको दरबारभित्रै ती सामग्री सुरक्षित राखिएको हो । एकीकरणको समयमा पृथ्वीनारायण शाहले नेपालको राजधानी नुवाकोट बनाएर यही दरबारबाट शासन सञ्चालन गरिएको भन्नेसमेत पाइन्छ ।

वि.सं. २०६७ जेठ १५ मा गणतन्त्र घोषणा भए लगत्तै दरबारलाई राष्ट्रियकरण गरी पुरातत्व विभागमा सङ्ग्रहालयका रुपमा परिणत गरिएको थियो ।

 

प्रतिक्रिया