यसकारण पर धकेलिँदै एभरेष्ट र लक्ष्मीको मर्जर

विदुर खबर २०७५ असोज १५ गते ७:१७

Advertisement

दुई वर्षदेखि प्रक्रियामा रहेको एभरेष्ट बैंक र लक्ष्मी बैंकको मर्जर अन्तिम समयमा आएर भाँडिने खतरा बढेको छ । सेयर आदान–प्रदान अनुपात (स्वाप रेसियो)मा कुरा नमिलेपछि मर्जर भाँडिने खतरा बढेको हो ।

अन्तिम समयमा आएर एभरेष्ट बैंकका सञ्चालकहरु (खासगरी बिके श्रेष्ठ)ले होच्याएर मूल्यांकन गरेको भन्दै लक्ष्मी बैंकका सञ्चालक तथा ठूला लगानीकर्ताहरु (खासगरी राजेन्द्र खेतान)ले ठूलो असन्तुष्टि जनाएसँगै मर्जर प्रक्रिया अवरुद्ध हुने संभावना बढेर गएको हो । एभरेष्ट बैंककै आग्रहमा छनोट गरिएको भारतीय कम्पनी इएनवाइले तयार पारेको प्रारम्भिक प्रतिवेदन भन्दा बैंकका लगानीकर्ताले निकै फरक राय राखेका छन् ।

Advertisement

स्वतन्त्र भ्यालुएटर इएनवाइले एभरेष्ट बैंकको ५० कित्ता बराबर लक्ष्मी बैंकको १०० कित्ता सेयर हुने प्रतिवेदन तयार पारेको थियो । बैंकका समग्र वित्तीय सूचकहरुलाई हेरेर सेयर आदान प्रदान अनुपात (स्वाप रसियो) को उक्त फिगर तयार पारेको थियो । स्वतन्त्र भ्यालुएटरको उक्त प्रारम्भिक प्रतिवेदनमा दुबैं बैंकका सञ्चालक तथा लगानीकर्ताहरुले आ–आफ्नो राय दिएका थिए । लक्ष्मी बैंकका सञ्चालकहरुले लक्ष्मीको १०० कित्ता सेयर बराबर एभरेष्टको ५५ कित्ता सेयर पाउनुपर्ने सुझाब दिएका थिए ।

तर, एभरेष्ट बैंकका सञ्चालकहरुले भने लक्ष्मी बैंकको १०० कित्ता बराबर एभरेष्ट बैंकको ३५ कित्ता हुनुपर्ने सुझाब दिएका थिए । लक्ष्मीको भन्दा एभरेष्टको गुडविल धेरै माथि रहेको भन्दै भ्यालुएसन गर्दा गुडविलको पनि भ्यालु राखिनुपर्ने उनीहरुको तर्क छ । स्वतन्त्र भ्यालुएटर इएनवाइले दुबै बैंकका सञ्चालक तथा ठूला लगानीकर्ताहरुको रायसहितको प्रतिवेदन तयार पारेको छ ।तर, एभरेष्ट बैंकले होच्याएर मूल्यांकन गरेको भन्दै लक्ष्मी बैंकका लगानीकर्ताहरु आक्रोशित भएका छन् ।‘एभरेष्ट बैंकका सञ्चालकहरुले लक्ष्मीको १०० कित्ता बराबर एभरेष्टको ३५ कित्ता हुनुपर्ने जुन राय दिएका छन्, यो भनेको मर्जरमा नजानका लागि हालिएको भाँजो हो,’ लक्ष्मी बैंकका एक सञ्चालकले भने, ‘यसमा मर्ज हुनसक्नै संभावना नै छैन ।’

Advertisement

तर, लक्ष्मी बैंकका ठूला लगानीकर्ता राजेन्द्र खेतान र एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठबीच भने स्वाप रेसियोमा बार्गेनिङ भइरहेको छ । खेतान केही लचिलो भए पनि श्रेष्ठले अडान छाडेका छैनन् ।‘लक्ष्मीको १०० कित्ता बराबर एभरेष्टको ५० कित्ता गर्ने हो भने खेतान मर्जरमा जान तयार छन्,’ स्रोतले भन्यो, ‘तर, एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ ३५ भन्दा बढी दिन तयार देखिएनन् ।’लक्ष्मी बैंकका तर्फबाट मर्जर प्रक्रिया टुंग्याइएको थियो । तर, एभरेष्ट बैंकले एकपछि अर्को गर्दै शर्तमाथि शर्त थप्न थालेपछि मर्जरमा समस्या उत्पन्न हुने देखिएको हो ।

०७५ असार मसान्तसम्ममा मर्जरको प्रक्रिया टुंगोमा लगाउने गरी काम गरिरहेका थिए । असार तेस्रो साता इएनवाइले प्रतिवेदन पनि बुझाएको थियो ।तर, एभरेष्ट बैंकका सञ्चालक अरुले आर्थिक वर्ष २०७४/७५ सकिन केही दिनमात्रै बाँकी रहेको र साउनभरीमा वित्तीय विवरण अउने भएको बताउँदै उक्त आर्थिक वषर्को वित्तीय विवरण हेरेर भ्यालुएटरले मूल्यांकन प्रतिवेदन तयार पार्नुपर्ने सुझाब दिए । एभरेष्ट बैंकका सञ्चालकहरुले उक्त सुझाब लक्ष्मी बैंकका सञ्चालकहरुले माने ।भ्यालुएटरले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणको पनि अध्ययन गरेर मूल्यांकन गरिसकेको छ ।‘हामीले एभरेष्ट बैंकले राखेका सबै शर्तहरु पूरा गर्यौं,’ लक्ष्मी बैंकका एक सञ्चालकले भने, ‘तर, उहाँ (एभरेष्ट बैंकका सञ्चालक) हरुको इन्टेन्शन शर्तमाति शर्त थप्दै जाने र अर्काको सम्पत्तिको कौडीको भाउमा लिने देखियो ।’

प्रतिक्रिया