सरकारले १६ हजार भन्दाबढि पोर्न साइमाथि प्रतिबन्ध लगायो

विदुर खबर २०७५ असोज १५ गते २:०२

नुवाकोट असोज १५, समाजमा यौन हिंसा र बलात्कारको घटना बढ्नुमा पोर्न साइटहरु मुख्य कारक रहेको भन्दै सरकारले १६ हजार भन्दाबढि पोर्न साइमाथि प्रतिबन्ध लगाएको छ ।

सूचना तथा प्रविधि मन्त्रालयले यही असोज ५ गते देशमा बढ्दो बलात्कार र महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्यले यस्ता साइट पूर्णरूपमा बन्देज लगाउने निर्णय गरेको थियो । मुलुकी अपराध (संहिता) ऐन, २०७२ को दफा १२१ लाई टेकेर अश्लील साइट बन्देज गर्न निर्देशन दिइएको हो । उक्त दफामा यौनजन्य अश्लील सामग्रीको आदान–प्रदान, प्रकाशन र प्रसारणमा बन्देज लगाइएको छ । यौन हिंसाप्रति सरकार गम्भीर रहेको बताउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भन्नुभयो– ‘यस्तो घटना न्यूनीकरणका लागि सबै पोर्न साइट बन्दै गर्दै छौं ।’

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयका अनुसार कानुनले बन्देज गरेकाले त्यस्ता सामग्रीमा नेपालीको पहुँच बन्द गरिएको छ । उहाँले पहिलो चरणअन्तर्गत यस्ता साइटको सहज पहुँचमा रोक लगाउने र दोस्रो चरणमा भीपीएनलगायतका प्रविधिबाट यस्तो साइट चलाउनेलाई निषेध गर्ने योजना रहेको बताउनुभयो । तर भीपीएनको माध्यमबाट यस्ता साइटहरू सहजै हेर्न सकिने भएकाले सरकारको कदम प्रभावहीन हुने विज्ञहरूको दाबी छ । इन्टरनेटमा सामान्य दक्षता राख्ने प्रयोगकर्ताले ‘नयाँनयाँ जुक्ति अपनाउने हुनाले सरकारलाई चुनौती हुन सक्छ’, एक प्राविधिक विज्ञले थपे– ‘सरकारको यो कदम चुनौतीपूर्ण नै छ ।इन्टरनेटमा सामान्य ज्ञान राख्नेले जस्तोसुकै बन्देज लगाइए पनि ती साइट हेर्न सक्छन् ।’ इन्टरनेटमा सामान्य दख्खल राख्नेका सामु सरकारको निर्णय कार्यान्वयन हुनेमा आशंका छ ।

Advertisement

प्रतिक्रिया