धादिङबेसीका ठूला तीन विद्यालय एकीकरणको निर्णय

विदुर खबर २०८१ वैशाख १ गते ८:२५

नुवाकोट । धादिङको नीलकण्ठ नगरपालिकाले सदरमुकाममा एक किलोमिटरको दुरी भित्र रहेका तीन ठूला विद्यालय एकीकरण गरेर सञ्चालन गर्ने निर्णय गरेको छ ।

Advertisement

नीलकण्ठ मावि, बालमन्दीर मावि र इजारा मावि एकीकरण गरेर शिक्षाको गुणस्तर सुधार गर्ने निर्णयपछि नगरपालिकाले आफूले गरेको निर्णय सोही दिन सार्वजनिक समेत गरेको छ ।

हालसम्म निर्णय गोप्य राख्दै आएको नगरपालिकाले तीन विद्यालय एकीकरण, निःशुल्क शिक्षा र गुणस्तरीय शिक्षा सम्बन्धी विषय भने तत्काल सार्वजनिक गरेको हो ।

Advertisement

नीलकण्ठ नगरपालिकाको शुक्रवार बसेको शिक्षा समितिको बैठकले नै निर्णय गरेर माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क गर्ने, विद्यालय व्यवस्थापनका लागि कार्यदललाई सुझाव दिन कार्यदल बनाउने, प्रधानाध्यापक खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्ने विषय सार्वजनिक गरेको छ ।

नीलकण्ठ नगरपालिकाको शिक्षा समितिले तीन विद्यालय एकीकरण गरेर सञ्चालन गर्नका लागि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा तीन दिन भित्र प्रतिवेदन पेस गर्नका लागि वडा अध्यक्ष राजकुमार श्रेष्ठको संयोजकत्वमा प्रधानाध्यापकहरु, शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु समेत रहेको एक कार्यदल गठन गरेको छ ।

Advertisement

नीलकण्ठ माविमा २ हजार ७ सय ९१ विद्यार्थी, १ सय ४५ शिक्षक, ४५ ओटा कोठा रहेको छ । बालमन्दीर माविमा ८ सय ९० विद्यार्थी, २६ जना शिक्षक, २६ कोठा रहेको छ भने इजारा आधारभूत विद्यालयमा ६५ जना विद्यार्थी, ९ जना शिक्षक, १० कक्षा कोठा रहेको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन् ।

हालसम्म अनेक बहानामा शुल्क लिइँदै आएको सामुदायिक विद्यालयको अबको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिएको उल्लेख गरिएको आफूहरुले यही विषय लामो समयदेखि आन्दोलन समेत गर्दै आएको नगरपालिका उपप्रमुख दीपक विश्वकर्माले बताए ।

नीलकण्ठ नगरपालिका भित्रका सबै विद्यालयका प्रधानाध्यापक नियुक्ति गर्दा सम्पूर्ण रुपले खुल्ला प्रतिस्पर्धाबाट गरिने छ । यसरी नियुक्ति गर्नका लागि शिक्षा समितिले सोमलाल सुवेदी रहेको तीन सदस्सीय छनौट समिति समेत गठन गरेको छ । सुवेदी पूर्व शिक्षा सचिव तथा मुख्य सचिव समेत भएर कार्य गरिसकेका छन् ।

नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गानाले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि नगरपालिकाले स्थानीय तह सरकार आएको सात वर्ष हुँदा पनि नसकेको अवस्थामा अब जसरी पनि गर्नु पर्छ भनेर यस किसिमको कार्यक्रम ल्याएको बताए ।

खुल्ला प्रतिस्पर्धाबाट आउने प्रधानाध्यापकहरूको परीक्षण काल एक वर्षको हुने र नगरपालिकाले करार सम्झौता प्रधानाध्यापकसँग गर्ने, प्रधानाध्यापकले शिक्षकहरूसँग करार सम्झौता गर्ने व्यवस्था लागू गर्न लागेको बताउँदै अब नीलकण्ठ नगरपालिका भित्र कुनै पनि बहानामा सामुदायिक विद्यालयका विद्यार्थीसँग शुल्क नलिने बताएका छन् ।

शिक्षा समिति संयोजक नगरपालिका प्रमुख ढुंगानाको अध्यक्षतामा बैठक बसेर गरेको निर्णय भएकोले श्रोत सुनिश्चितताका लागि नगर कार्यपालिकामा आग्रह गर्ने भनिएको छ ।

निर्णय कार्यान्वयन गर्न चुनौती रहे पनि यस निर्णयबाट पछि नहट्ने र कार्यान्वयन गरेर संविधानमा उल्लेख भएको हक स्थापित गर्ने कार्यक्रममा सहभागी शिक्षा समितिका सदस्यहरुले समेत बताएका छन् ।

प्रतिक्रिया