धादिङमा ३३ केभी विद्युत प्रसारण लाइन विस्तारको काममा ढिलाइ

विदुर खबर २०८० चैत २० गते १०:४२

नुवाकोट । धादिङको सदरमुकाम धादिङलगायत आसपासका क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले सुरु गरेको ३३ केभी विद्युत प्रसारण लाइन विस्तारको कामले गति लिन नसक्दा स्थानीयले बिजुली गइरहने समस्या भोग्न बाध्य छन् ।

Advertisement

दश करोड रुपैयाँको लागतमा प्राधिकरणले छ महिनामा मलेखुदेखी धादिङको सदरमुकामसम्म विद्युत लाइन विस्तारको काम गर्ने भन्दै ठेक्का लगाएको हो । ठेक्का सम्झौता भएको १६ महिनामा लाइन विस्तारको काम भने पचास प्रतिशत पनि सम्पन्न हुन सकेको छैन । यसले एकातिर विद्युतीय दुर्घटनाको जेखिम बढाएको छ भने अर्कोतर्फ राज्यले गरेको करोडौं रकम दुरुपयोग भएको छ ।

स्थानीयले अहिले पनि विजुली झ्याप्प-झ्याप्प गइरहने समस्या झेल्न बाध्य छन् । सामान्य हुरी बतास र पानी पर्दासमेत विजुली गईरहने, विद्युतको भोल्टेज घट्ने बढ्ने समस्या धादिङका स्थानीयले वर्षौदेखी खेप्दै आईरहेका छन् ।

Advertisement

यसले विद्युतीय दुर्घटनाको जोखिम पनी उत्तिकै बढाएको छ । यो समस्या समाधानका लागी विद्युत प्राधिकरणले ३३ केभि प्रसारण विस्तार सुरु गरेको हो । शिद्धलेक गाउँपालिकास्थित मलेखुमा निर्माण गरेको सव–स्टेशनबाट धादिङको सदरमुकामसम्म २१ किलोमिटरमा पाँच सय बीसवटा खम्बा र मलेखुबाट जहरे सव–स्टेसनसम्म नौ किलोमिटरमा दुई सय बीसवटा खम्बा गाडेर प्रसारण लाइन विस्तारको काम सुरु गरेको हो । तर काम सुरु भएको १६ महिनामा पचास प्रतिशत काम पनि सम्पन्न भएको छैन ।

नेपाल विद्युत प्राधिकरणले २०७९ सालमा नै छ महिनामा काम सम्पन्न गर्ने गरी दश करोड रुपैयाँको लागतमा रेणु कन्ट्रक्सन प्रा.ली.लाई सदरमुकाम धादिङसम्म विद्युत प्रसारण लाइन विस्तारको जिम्मा दिईएको छ ।

Advertisement

हाल काठमाण्डौको मातातिर्थ र नुवाकोटको देविघाटबाट प्रसारण लाइन ल्याएर धादिङ जिल्लाभर विद्युत विस्तार गरिएको हो । ३३ केभी विद्युत प्रसारण लाइन विस्तार भएसँगै जिल्लामा ठूला उद्योगधन्दा र कलकारखाना खोल्नका लागि समेत सहज हुने र धादिङको औद्योगिक विकासमा यसले निकै ठुलो टेवा पुग्ने विश्वास प्राधिकरणको छ ।

अहिले चलिरहेको विद्युत लाइनबाट उद्योगहरु सञ्चालन गर्न नसकिने पनि विद्युत प्राधिकरण धादिङले जनाएको छ । ३३ केभी विद्युत प्रसारण लाइनको सव-ट्रान्समिसन लाइन विस्तारको काम आगामी असार महिनासम्म सम्पन्न गर्ने गरी भईरहेको विद्युत प्राधिकरण धादिङ शाखा प्रमुख सुधरी कुमार रायले बताउनुभयो ।

ठाउँ ठाउँमा स्थानीयले गरेको अवरोधका कारण विद्युत प्रसारण लाइन तान्ने क्रममा केही ढिलाई भने भएको प्रमुख रायको भनाई छ । निर्माण कम्पनीले खरिद गरेको सामान लथालिङ्ग अवस्थामा रहेको छ । ल्याएका सामान कस्ले कहाँ छ भन्ने समेत थाहा नभएको स्थानीयको भनाई छ ।

ठेकेदार कम्पनीले भने शिद्धलेक गाउँपालिकाको वडा नम्वर ५ र ६ लगाएत नीलकण्ठ नगरपालिकाको वडा नम्वर ७, ८ र ३ हुँदै प्रसारण लाइन विस्तार गर्नुपर्ने भएकोले स्थानीय तहका बासिन्दाको अवरोधका कारण विद्युत विस्तार गर्न नसकेको आरोप लगाएको छ ।

प्रतिक्रिया