निर्मला हत्या प्रकरण : एसपी विष्टसहित तीनै जनाको डिएनए मेल खाएन

विदुर खबर २०७५ असोज १४ गते ६:३५

काठमाडौं– साउन १० गते बलत्कार गरी हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भनी आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ३ जनाको डिएनए परीक्षण मेल नखाएको खुलासा भएको छ।

विशेष प्रहरी स्रोतका अनुसार निर्मलाको ‘भेजाइनल स्वाब’मा भेटिएकाे बलत्कारीको शुक्रकिटसँग परीक्षण गरिएका ३ जनाको शुक्रकिट मेल नखाएको हो।कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणको नमुना संकलन गरी परीक्षण गरिएको थियो सोसम्बबन्धी रिपोर्ट आज (आइतबार) सरकारी वकिलको कार्यालय कञ्चनपुरमार्फत सार्वजनिक हुँदैछ।

यसअघि प्रहरीले मानसिक सन्तुलन गुमाएका दीलिपसिंह विष्टलाइ पक्राउ गरी डिएनए परीक्षण गरेको थियो। डिएनए परीक्षणमा उनको स‌ंलग्नता नदेखिएपछि उनलाई रिहा गरिसकिएको छ। दुई महिना बितिसक्दा पनि प्रहरीले निर्मलाका हत्यारा पत्ता लगाउन सकेको छैन। पछिल्लो पटक नमुना संकलन गरिएका तिनै जनाको डिएनए ‘म्याच’ नखाएपछि निर्मला हत्या प्रकरण नयाँ मोडमा पुगेको छ। निर्मलाको हत्यारासम्म पुग्न अब डिएनए परीक्षण गर्ने मात्र अन्तिम विकल्प रहेको बताइँदै आएको छ।

उता डिएनए रिपोर्ट कञ्चनपुर पुगकै दिन शनिबारदेखि नै निर्मलाको न्यायका लागि भन्दै दुईवटा संघर्ष समितिले पुनः आन्दोलन थालेका छन्। महिला अगुवा हेलन श्रेष्ठ नेतृत्वको दबावमूलक संघर्ष समिति र अधिकारकर्मी मीना भण्डारी नेतृत्वको नागरिक संघर्ष समिति कञ्चनपुरमा संघर्षरत छन्।भण्डारी नेतृत्वको समितिले शनिबार देखिनै महेन्द्रनगरमा रिले अनसन थालेको छ। निर्मलालाई न्याय तथा उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महिला अधिकारकर्मीले रिले अनसन थालेका हुन्। श्रेष्ठ नेतृत्वको दबावमूलक संघर्ष समितिले भने आज छलफल गर्दै थप दबावमुलक कार्यक्रमको खाका तय गर्ने बताइएको छ।

Advertisement

प्रतिक्रिया