पञ्चकन्या क्रसकन्ट्री दौड प्रतियोगिताको उपाधि एलिसा र सुदीपलाई

विदुर खबर २०८० फागुन ६ गते १८:३३

नुवाकोट । नुवाकोटको पञ्चकन्यामा आयोजित पन्चकन्या जिल्लाव्यापी क्रसकन्ट्री दौड प्रतियोगिताको उपाधि एलिसा तामाङ र सुदिप राईले हात पारेका छन् ।

Advertisement

पञ्चकन्या जनकल्याण युवा समाजले आयोजना गरेको प्रतियोगितामा महिला ११ किलोमिटर तर्फ पन्चकन्या गाउँपालिकाकी एलिसाले १ घन्टा १३ मिनेट ४१ सेकेन्डमा दुरी पार गर्दै प्रथम भइन् ।

त्यस्तै पन्चकन्याकी गाउँपालिका वडा नम्बर २ की मेलिना पौडेलले १ घन्टा २२ मिनेट २२ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भइन् भने पञ्चकन्या ५ की सुष्मा कार्कीले १ घन्टा २४ मिनेट २८ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भएकी थिइन् ।

Advertisement

यस्तै पुरुषतर्फ लिखु गाउँपालिका वडा नम्बर ४ का सुदीपले ४७ मिनेट १४ सेकेन्डमा दुरी पार गर्दै पहिलो भए । त्यस्तै पञ्चकन्या ३ का सरिन थापा ४७ मिनेट ३३ सेकेन्ड दुरी पार गर्दै दोस्रो हुँदा म्यागाङ गाउँपालिकाका वीरसिंह तामाङले ४९ मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए । यस्तै पञ्चकन्या ३ का भोजबहादुर कार्की चौथो र बेलकोटगढीका विमल थापामगर पाँचौं भए ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ विजेताले २२ हजार, दोस्रोले १६ हजार र तेस्रोले १० हजार रुपैयाँ हात पारे ।

Advertisement

पञ्चकन्या पालिकास्तरीय छात्रछात्रा ५ किमि दौडमा पञ्चकन्या वडा १ की सविना राईले ३४ मिनेट १३ सेकेन्डबाट छात्रातर्फ स्वर्ण जितिन् । वडा ४ की सवित्री थापा ३४ मिनेट ३१ सेकेन्डबाट दोस्रो र वडा ३ की रुविना तामाङ ३४ मिनेट ४० सेकेन्डबाट तेस्रो भए । वडा ४ की गौरी सुनुवार चौथो र अस्मिता तामाङ पाँचौं भए । सोही दुरीमा छात्रतर्फ किरण तामाङ २३ मिनेट १३ सेकेन्डबाट पहिलो भए ।

सुरज तामाङ २४ मिनेट २२ सेकेन्डबाट दोस्रो र सुदेश तामाङ २५ मिनेट २६ सेकेन्डबाट तेस्रो भए । वडा ४ का सुदेश तामाङ र युवराज तामाङ क्रमशः चौथो र पाँचौं स्थानमा विजयी भए । शीर्ष तीन स्थानका विजेताले क्रमशः ११ हजार, ७ हजार र ४ हजार रुपैयाँ पुरस्कार पाए ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ र ४ मा पर्ने घ्याङस्वाँरा पार्कलाई केन्द्रमा राखेर पञ्चकन्या पर्यटन प्रवर्द्धन र युवालाई खेलकुदप्रति आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

११ किमि दुरीको दौडमार्ग लाकुरीभन्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभन्ज्याङ, झकडेभित्ता, गाङ्तानटोल, घ्याङस्वाँरा सोही रुट हुँदै घलेभन्ज्याङमा टुंगिएको थियो । भने ५ किमि दुरीको दौडमार्ग लाकुरीभन्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभन्ज्याङ, झिँगानेटोल, झगडेभित्ता सोही रुट हुँदै घलेभन्ज्याङ रहेको थियो ।

प्रतियोगिता समापनमा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई नगद १५ हजारसहित सम्मान गरिएको थियो । ७२ वर्षको उमेरमा पनि दौडका प्रतियोगिताहरूमा सहभागी भएर युवालाई दौडमा लाग्न प्रेरित गरिरहेकाले उनको खेलप्रतिको समर्पणको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष टीकाराम तामाङले बताए ।

प्रतियोगिताको विजेतालाई पूर्वमन्त्री तथा नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित हितबहादुर तामाङ, संघीय सांसद विमला सुवेदी, श्रीकृष्णप्रसाद अधिकारी, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष विमला केसी पाठक लगायतले पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया