यात्रु ठग्ने धादिङको एक होटललाई लाख रुपैयाँ जरिवाना

विदुर खबर २०८० फागुन २ गते २१:५१

नुवाकोट ।  पृथ्वी राजमार्ग छेउमा सञ्चालन हुँदै आएको एक रेष्टुरेन्टलाई स्थानीय प्रशासनले  एक लाख रुपैयाँ जरिवाना गरेको छ ।

Advertisement

२० रुपियाँ मुल्य पर्ने दुईवटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिएपछि धादिङको गल्छि गाउँपालिका वडा नम्वर –७ मासटारमा रहेको ह्याम्लेट रेष्टुरेन्टलाई जिल्ला अनुगमन समितिले जरिवाना गरेको हो ।

पृथ्वी राजमार्ग आसपासमा सञ्चालित होटलहरुले महंगो मूल्य असुल्ने गरेको भन्ने जनगुनासो आउन थालेपछि पछिल्लो समय राजमार्गमा सञ्चालन हुँदै आएका होटल, किराना पसल र क्याफेलाई विशेष निगरानीमा राखी अनुगमन सुरु गरेको अनुगमन समितिका संयोजक एवं धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए ।

Advertisement

ह्याम्लेट रेष्टुरेन्टलाइ भने उपभोक्ताबाट गुनासो आएपछि चाउचाउ पकाएर खाएको पैसा तिरेको बिलसहित जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेपछि अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कार्वाही गरेको पराजुलिले बताए ।

यसैगरी गल्छि गाउँपालीकाकै नवोदिप स्टोर र रिभर भ्यू क्याफेलाई दश-दश हजार रुपैयाँ जरिवाना गरिएको छ । विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पनि पालना नगरेको र अधिकतम मूल्य लिएकाले ति रेष्टुरेन्टहरुलाई जरिवाना गरिएको हो ।

Advertisement

पछिल्लो समय एमआरपीमा उपभोक्ता ठगिने गुनासोहरु आउने गरेको पनि जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । स्थानीय प्रशासनले अबका दिनमा महंगो मूल्य असुल्ने ब्यपारीहरु केन्द्रित अनुगमन गर्ने जानकारी दिएको छ ।

यसका लागी उपभोक्ताले खरिद बिल र प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन सक्नेछन् । स्थानीय प्रशासनले उपभोक्ताहरूलाई पनि तोकिएको मूल्य भन्दा बढीमा सामान खरिद नगर्न अनुरोध गरेको छ ।

 

प्रतिक्रिया