धादिङको गजुरीमा सार्वजनिक बिदाको विषयमा अध्यक्ष र उपाध्यक्षको जुहारी

विदुर खबर २०८० माघ २९ गते २१:२९

नुवाकोट । धादिङको गजुरी गाउँपालिकामा गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा घोषणा गरेपछि वडाअध्यक्षहरु विवाद गर्न सुरु गरेका छन्।

Advertisement

गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले पालिकाभरि जनयुद्ध दिवस भनेर बिदाको सूचना जारी गरेका छन् । गाउँपालिकाको निर्णय नै नगरी बिदा दिन नुहुने, पालिकामा छलफल नै नभई बिदाको सूचना जारी गर्न नियम विपरित भएकोले सार्वजनिक बिदा नभएको गाउँपालिका उपाध्यक्ष शर्मिला विसुरालले बताए ।

गजुरी गाउँपालिका कार्यपालिकाको बैठक माघ २८ गते बसेको भएपनि फागुन १ गते बिदा दिने विषयमा छलफल नै नभएको एक कार्यपालिका सदस्यले जानकारी दिए ।

Advertisement

गाउँपालिका अध्यक्ष श्रेष्ठले निर्णय अनुसार पालिकाभित्र सार्वजनिक बिदाको सूचना निकालेपछि उपाध्यक्ष विसुरालले माघ २९ गते सार्वजनिक बिदाको खण्डन गर्दै सूचना जारी गरेर सम्पूर्ण सरकारी र गैरसरकारी तथा सार्वजनिक निकाय सञ्चालन गर्न सूचना गरेका हुन् ।

सर्वोच्च अदालतले फागुन १ गते बिदा दिन नहुने फैसला गरेसँगै माघ २९ गृह मन्त्रालयले समेत फागुन १ गते सार्वजनिक बिदा नहुने सूचना समेत जारी गरेको थियो ।

Advertisement

गजुरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र प्रजाले समेत सूचना जारी गर्दै अदालतभन्दा माथि कोही नभएकोले फागुन १ गते सार्वजनिक बिदा नभएको उल्लेख गरेका छन् ।

गजुरी गाउँपालिका अध्यक्ष नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष शर्मिला बिसुराल र वडा अध्यक्ष प्रजा नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् । गजुरीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट निर्वाचित भएका हुन् ।

निर्वाचनपछि जनसरोकारको विषयमा पालिका अध्यक्षले मनोमानी निर्णय गर्ने र विकासका कार्यहरुमा एकलौटी गर्ने गरेको आरोप वडाध्यक्ष तथा उपाध्यक्षको समेत रहेको छ ।

प्रतिक्रिया