महिनावारीमा प्याडको विकल्प कप, कसरी लगाउने ?

विदुर खबर २०७५ असोज १२ गते ३:३१

Advertisement

महिनावारी भएका किशोरी वा महिलालाई निकै नै गाह्रो हुन्छ । प्रायःले यस्तो बेला प्याड प्रयोग गर्ने गर्छन् । अब भने विकल्पको रूपमा ‘मेन्सट‍्रुवल कप’ आएको छ । यो प्याडभन्दा निकै नै सजिलो र स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ।

यो कप सुरुमा लाउँदा तपाईंलाई अलि अप्ठेरो र हल्का दुखे जस्तो होला तर पछि सजिलो र आरामदायी महसुस गराउँछ । यस कपलाई ४ देखि १० घन्टा लगाइसकेपछि फेरि राम्ररी धोएर प्रयोग गर्न सकिन्छ । यसलाई दिनमा तीन–चारचोटि धुनुपर्छ ।

Advertisement

सुरुमा प्रयोग गर्नुभन्दा पहिले राम्ररी तीन मिनेटजति उमाल्नुपर्छ र सफा ठाउँमा सुरक्षित राख्नुपर्छ । यो कप प्याडभन्दा किफायती, आरामदायी, हाइजिनिक अनि वातावरणमैत्री रहेको छ । उमेर अनुसार कपको साइज पनि फरक हुन्छ ।

सुरुमा एकदमै धेरै रगत बग्दा यसलाई चार घन्टा लगाउन सकिन्छ भने कम आएको खण्डमा यसलाई १२ घन्टासम्म पनि प्रयोग गर्न सकिन्छ ।

Advertisement

यो विभिन्न साइज तथा रङमा उपलब्ध छ । स्ट्रिङसहित र स्ट्रिङरहित गरी यो दुई प्रकारको हुन्छ, जसमा चार वटा स–साना प्वालहरू हुन्छन् । यसलाई योनीभित्र पसाउँदा दोबारेर राख्नुपर्छ ।

भेजिनल प्यासेजमा यी प्वाल राखिन्छ, जसले खुला बनाइदिन्छ र प्यासेजमा गएर अड्केर बस्छ । यो गर्भाशयभन्दा माथि जाँदैन भने भेजिनल प्यासेजभन्दा तल आउन पाउँदैन । यसलाई निकाल्दा अलिकति दबाएर भ्याकुम निस्कन दिनुपर्छ अनि सहजै निकाल्न सजिलो हुन्छ ।

कपमा रगत जम्मा हुने भएकाले कपडामा लाग्ने सम्भावना हुँदैन । महिनावारी अवधि सिद्धिएपछि सफा पानीले मज्जाले पखालेर दुई–तीन मिनेटसम्म उमालेर प्याक गरेर राख्नुपर्छ ।

यसले किशोरी तथा महिलालाई दैनिक जीवनमा निकै सहज बनाइदिन्छ । प्याड लुगा लगाउँदा बाहिर पनि देखिन सक्ने सम्भावना हुन्छ तर कप योनीभित्र रहने हुँदा कसैले ख्याल गर्दैनन् ।

स्यानिटरी प्याड धेरैले एकचोटि प्रयोग गर्दा धेरैबेरसम्म राखेर फेर्ने पत्तो पाइराखेका हुँदैनन्, जसले गर्दा संक्रमण हुन सक्छ । तर यो उच्चस्तरीय मेडिकल उपकरणले बनेको हुँदा संक्रमणको खतरा हुँदैन ।

महिनैपिच्छे प्याड किन्नुपर्दा एक त झन्झट हुन्छ त्यसमथि करिब दुई सय रुपैंयाको त महिनामा प्याड किन्नमै जान्छ । यसरी वार्षिक रूपमा धेरै पैसा खर्च भइराखेको हुन्छ । यो एक पटक किनेपछि १२ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।  करिब दुई हजार रुपैयाँमै किन्न सकिने भएकाले आर्थिक भार पनि कम हुन्छ ।

मेरी स्टोप्स नेपालले अहिले ‘बाई–बाई प्याड’ भन्ने अभियान नै चलाएको छ । यो कप ‘मेरी स्टोप्स सेन्टर’ तथा विभिन्न मार्टहरूमा पनि किन्न पाइन्छ ।

प्रतिक्रिया