कांग्रेस नेता बालकृष्ण खाण रिहा

विदुर खबर २०८० मंसिर २९ गते २०:४३

नुवाकोट । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी बुझाएर रिहा भएका छन् ।

Advertisement

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा तथा सम्पत्ति शुद्धीकरण विभागले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

त्यसअघि आजै दिउँसो खाणले उच्च अदालत पाटनको हिजो बिहीवारको आदेशअनुसार ३० लाख रुपैयाँ धरौटीबापतको रकम जिल्ला अदालत काठमाण्डौमा पुगेर बैंक ग्यारेन्टी पेस गरेका थिए । उच्च अदालत पाटनको आदेशअनुसार खाण आज धरौटी रकम जम्मा गर्न जिल्ला अदालत काठमाण्डौ पुगेका थिए । लगत्तै उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हाजिर गराइएको थियो ।

Advertisement

खाण गएको वैशाख २७ गते बिहान काठमाण्डौको मैजुबहाल घरबाट पक्राउ परेका थिए। खाणसहित यो प्रकरणमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेलगायतलाई गएको असार १ मा पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाण्डौले आदेश दिएको थियो ।

त्यसपछि खाणसहितका आरोपीहरू उच्च अदालत पाटन गएका थिए । उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा यही मङ्सिर १५ गते खाणलाई छाड्ने वा थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशहरूको राय बाझिएको थियो । त्यसपछि हिजो तेस्रो न्यायाधीशकहाँ पेस हुँदा उहाँलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

Advertisement

प्रतिक्रिया