नेपालकी चेलि मेनुका भारतमा चुलिँदै

विदुर खबर २०८० मंसिर २९ गते २०:३२

नुवाकोट । गायिका मेनुका पौडेलले गाएको हिन्दी फिल्मको गीत सार्वजनिक भएको छ। बलिउड फिल्म सलारमा समावेश सुरज ही चाहो बन्क बोलको गीत फिल्म निर्माण कम्पनी हम्बेल पिक्चर्सले युट्युबमा सार्वजनिक गरेको हो।

Advertisement

यही गीतका साथ भारतीय फिल्मको पाश्र्व गायनमा डेब्यु गरेकी दृष्टीविहीन गायिका पौडेलले गाएको सो लिरिकल शैलीकोे गीतमा अभिनेता प्रभास र पृथ्वीराज सुकुमारणलाई फिचर्ड गरिएको छ। गीतसँगै फिल्मको कथावाचन पनि गरिएको छ।

इन्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुकाले आफूले सलार फिल्मको गीत रेकर्ड गरेको बताएकी थिइन्। सलार : पार्ट वन सिसफायर नाम दिइएको फिल्म डिसेम्बर २२ मा प्रदर्शन हुने तयारीमा छ।

Advertisement

भारतीय रियालिटी शो इन्डियन आइडल सिजन १४ मा भाग लिएर आफ्नो गायकीको जादू फैलाउन सफल झापा बिर्तामोडकी मेनुकाले शोको पहिलो एपिसोडमा नै आफ्नो स्वर लहरबाट तहल्का मचाएकी थिइन्।

स्वरको जादू छरेर निर्णायकहरूको समेत मन जितेकी मेनुकाको गायकी देखेर शोका निर्णायकहरू श्रेया घोषाल र विशाल डिडलानीले आँसु नै झरेका थिए भने श्रेया र विशालसहित अर्का निर्णायक कुमार सानुले स्ट्यान्डिङ अभेसन दिएका थिए।

Advertisement

तुम्हारा बिना हमारा कोनो नही बोलको गीत गाएकी मेनुकाको स्वरबाट प्रभावित भएपछि उनलाई गोल्डेन माइक प्रदान गरिएको थियो। शोमा गोल्डेन माइक पाएपछि उनले सिधै थिएटर राउन्डमा प्रवेश पएकी थिइन्।

त्यस्तै, शोको एक एपिसोडमा विषेश अतिथि बनेर पुगेका अभिनेता रणवीर कपुरले मेनुकाको खुट्टा ढोग्दै आर्शिवाद मागेका थिए भने प्रीति जिन्टा, महेश भट्टलगायत कलाकार तथा निर्देशक उनको गायकीको फ्यान भएका थिए।

जन्मँदै दृष्टिविहीन मेनुकाले आफ्नो अभूतपूर्व स्वरकलाबाट दुनियाँको दृष्टि आफूतिर तानिरहिन्। उनी समयसँगै आफ्नो गायकीमा निखार ल्याउन लागि परिरहिन्। सानैदेखि गायनमा रुचि राख्ने मेनुकाले केही वर्षअघि रेडियो नेपालको गायन प्रतियोगितामा भाग लिएर प्रथम स्थान हासिल गरेकी थिइन्।

१८ वर्षको उमेरमा नेपाल आइडलको पहिलो सिजनमा भाग लिएकी मेनुकाको यात्रा उत्कृष्ट ११ मा मात्र सीमित रहन पुगेको थियो। यस भन्दाअघि भारतीय रियालिटी शो सारेगमपमा भाग लिएकी मेनुकाले निर्णायकको वाहवाही पाए पनि टप ११ बाट बाहिरिएकी थिइन्।

पछिल्लो समय इन्डियन आइडलमा गीत गाएको मेनुकाको भिडियो बाहिरिएपछि उनको चर्चा एकाएक चुलिएको थियो। सो भिडियो बाहिरिएपछि नेपाल आइडलमा भने निर्णायकहरूले मेनुकाको प्रतिभाको कदर नगरेको भन्दै आलोचनासमेत भएको छ।

मेनुकाको पुरानो र पछिल्लो समयको भिडियो क्लिप हेर्दा उनको स्वरमा निकै फरकपन महसुस हुन्छ। यसबाट मेनुकाले आफ्नो गायनलाई निखार्न गरेको मेहनत झल्किन्छ।

प्रतिक्रिया