एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पुर्जी लिनु नपर्ने

विदुर खबर २०८० मंसिर २९ गते २०:११

नुवाकोट । स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण (रेफर) भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पुर्जी लिन नपर्ने व्यवस्था गरेको छ।

Advertisement

बोर्डका निमित्त कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा जानका लागि रेफर लिन नपर्ने निर्णय गरेको हो। ‘यसअघि अस्पताललाई फओअपमा आउँदा पुनः रेफर गरेर आउनु भन्ने गरेको थियो।

सो रोगका उपचार गर्न आउने बिरामीलाई सहजीकरण होस् भनेर एकपटक रेफर गरेपछि रोग निर्क्यौल नहुँदासम्म फलोअपका लागि आउँदा पुनः रेफर पुर्जी लिई रहन नपर्ने व्यवस्था मिलाउने गरेका छौँ’, उनले भने। यसअघि सोही रोगका लागि पुनः उपचार गर्नका लागि रेफर पुर्जी लिएर आउनुपर्ने व्यवस्था थियो।

Advertisement

बोर्डले असारसम्मको भुक्तानीलाई शून्यमा झार्नेका लागि विज्ञ समूह बनाएको पनि उनले जानकारी दिए। स्वास्थ्य संस्थाले दाबी गरेका भुक्तानीलाई असार मसान्तसम्म शून्यमा झार्नका लागि पाँच सदस्यीय विज्ञ समूह गठन गरिएको छ। समूहले सेवा प्रदायक स्वास्थ्य संस्थाबाट पेस भएका दाबीलाई पुनरावलोकन गर्नका लागि सातै प्रदेशमा परिचालन भई अनुगमन गर्ने छन्।

विज्ञ समूहमा चिकित्साशास्त्रमा स्नातकोत्तर गरेको विशेषज्ञ चिकित्सक, एकजना मेडिकल अधिकृत, एकजना फार्मेसी अधिकृत, बोर्डको दाबी व्यवस्थापन शाखाबाट एकजना र आइटी शाखाबाट एकजना रहन जनाइएको छ। एक महिनाभित्र दाबी पुनरावलोकन गर्ने छन्। यस्तै बोर्डले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीले अब तीन–तीन महिनाको औषधि पाउने भएको उनले बताए। यसअघि दीर्घरोगीलाई बीमा कार्यक्रममार्फत एक–एक महिनाका लागि औषधि दिने गरिन्थ्यो।

Advertisement

बोर्डले स्वास्थ्य बीमाको सुविधा थैलीअन्तर्गतको औषधिको शुल्क समयानुकूल समायोजन गर्न समिति बनाई एक महिनाभित्र प्रतिवेदन पेस गर्नेसमेत निर्णय गरेको छ। औषधिको शुल्क तीन वर्षमा समायोजन गर्ने भनिए पनि अहिलेसम्म गरिएको थिएन।

२०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्‍याउनका लागि स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको थियो। बीमाअन्तर्गत हाल एक लाख रुपैयाँसम्म बीमित परिवारले निःशुल्क उपचार सेवा पाउँछन्।

एकदेखि पाँच जनासम्मको परिवारले प्रत्येक वर्ष बीमितवापत तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी भएको खण्डमा प्रत्येक एक जना बराबर थप सात सय थप्नुपर्छ। बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार हालसम्म ७४ लाख बीमित भए पनि करिब ४७ लाख मात्रै सक्रिय छन्।

प्रतिक्रिया