समग्र अर्थतन्त्रले सही बाटो समायो : अर्थमन्त्री

विदुर खबर २०८० मंसिर २७ गते १५:३७
नुवाकोट । अर्थमन्त्री डा प्रकाश शरण महतले अर्थतन्त्रमा सुधारका संकेतहरू देखिन सुरु भइसकेको बताएका छन्।
बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्थतन्त्रका धेरै सूचकहरूले सुधारको संकेत गरिसकेको बताए ।
सरकारले अघि सारेका सुधारका नीतिको प्रभाव देखिन थालेको भन्दै उनले विगतमा अर्थतन्त्रले धेरै चुनौती सामना गरेता पनि अर्थतन्त्र लयमा आउने बताए।
यसैगरी, उनले नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिले पनि अर्थतन्त्र चलायमान हुन सहज बनाएको बताए । साथै उनले समग्र पूँजीबजार तथा घर जग्गाको कारोबार पनि सुधार देखिएको कारण मनोबल बढ्दै गएको बताए ।
उनले पूँजीगत खर्च गत वर्षको तुलनामा ६ प्रतिशतले बढेको बताउँदै राजस्वमा पनि क्रमशः सुधार आएको बताए ।
हालसम्म भन्सार महसुल १३ प्रतिशतले बढेको, मूल्यअभिबृद्धि कर ७.१९ प्रतिशत र आयकरमा समेत १२ प्रतिशतको बृद्धिले आर्थिक क्रियाकलापमा सुधार देखिएको उनले बताए ।
उनले प्रस्तुत गरेको अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा यस्तो छ :
विभिन्न चरणमा गरिएका सुधारका प्रयासले आर्थिक क्रियाकलापहरु क्रमशस्  चलायमान भएका छन। यस अवधिमा पूँजीगत खर्च तर्फ करिब ६ प्रतिशत बृद्धिदर रहेको छ। त्यसै गरी भन्सार महसुलतर्फ करीब १३ प्रतिशत, मूल्य अभिबृद्धि करतर्फ करिब ७.१९ प्रतिशत, आयकर .तर्फ करिब १२ प्रतिशत र  समग्र कर राजस्वतर्फ .५७ प्रतिशत बृद्धिदर कायम  छ।
वित्तीय क्षेत्रतर्फ मौद्रिक नीतिमार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कामय गरिएको छ। जसबाट ब्याजदर क्रमशस् घट्दै गएको छ। हाल अन्तर बैंक दर २.५ प्रतिशतको हाराहारीमा रहेको छ।
२०७९ चैत्र महिनामा बाणिज्य बैंकहरुको औषत आधार दर १०.४८ प्रतिशत रहेको २०८० असोज मसान्तमा बाणिज्य बैंकहरुको औषत आधार दर ९.९४ प्रतिशत छ। २०७९/ ८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा  ६८.५५ अर्ब रुपैयाँ रहेकोमा यस वर्ष यस अवधिमा १३० अर्ब रुपैयाँ पुगेको छ।
निक्षेपतर्फ २०७९/ ८० को पहिलो चार महिनामा ४६.७४ अर्ब  रुपैयाँ रहेकोमा यस वर्ष सोही अवधिमा २४४ अर्ब  रुपैयाँ  पुगेको छ।मौद्रिक  नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको  सकारात्मक प्रभाव क्रमशः  आर्थिक क्रियाकलापमा प्रतिबिम्वित हुँदैछ। घरजग्गा र सेयर कारोबार बढ्न शुरु भएको छ।
हालै सेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छ। त्यसैगरी, २०८० चैत्रसम्म समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनरसंरचना गर्ने अवधि दिइएको छ।
साथै हाल घट्दो ब्याजदरले विविध कारणले बैंक ऋण तिर्न नसकेका व्यवसायीलाई राहत दिनेछ। सम्झौता बमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको छ।
अर्थतन्त्रको वाह्य क्षेत्रका परिसूचकहरु अनुकूल बनेका छन। २०८० असोज मसान्तसम्म चालू खाता ५९ अर्ब  रुपैयाँले बचतमा रहेको, ९९ अर्ब  रुपैयाँले सोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय सञ्चिति छ। विप्रेषणको आप्रवाह २०८० असोजमसम्ममा ३० प्रतिशले बढेकोले वाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो  छ।
चालू आर्थिक वर्षमा पर्यटक आगमनमा उत्साहजनक बृद्धि भई २०२३ को हालसम्म ९ लाख ५४ हजार पर्यटक आगमन भएको छ जुन अहिलेसम्मकै उच्च हो। चालू आवमा करिब ९०० मेगावाट जलविद्युत राष्ट्रिय प्रशारणमा जोडिने क्रममा छ ।
आगामी कार्यदिशा :
सरकारले शुरु गरेका आर्थिक र वजेट प्रणाली सुधारका कार्यक्रमलाई अझ विस्तार गरिनेछ।अल्पकालमा सरकार र निजीक्षेत्र बीच उच्च स्तरको समन्वय कायम गरी हाल अर्थतन्त्रमा देखिएको सकारात्मक अवस्थालाई उपभोग र लगानीमा प्रतिबिम्बित गराउने, सरकारको खर्चमा मितव्ययिता कायम गर्दै सरकारी लगानीमा विद्यमान अवरोधहरु फुकाउने,  मुलुकको पश्चिम क्षेत्रमा आएको भूकम्पबाट प्रभावितहरुलाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गरी ध्वस्त संरचनाको छिटो पुनर्संरचना गर्ने र युवाहरुलाई स्वदेशमा नै रोजगारीका अवसर सृजना गर्दै अपेक्षित आर्थिक बृद्धिदर हासिल गर्न जोड दिइने छ।
आगामी वैशाख ९ र १० गते सरकारले लगानी सम्मेलनको घोषण गरी त्यसको तयारी शुरु गरेको छ। लगानी सम्मेलन अघि नै लगानीसँग सम्बन्धित कतिपय नीतिगत र कानुनी सुधार अगाडि बढाइनेछ। लगानी सम्मेलनमा तुलनात्मक लाभका र आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रमा सम्भावित लगानीकर्ताहरुको उपस्थितिमा सार्थक लगानी सम्मेलन गर्न सरकार लागि परेको छ।
दिर्घकालमा आर्थिक सुधारसँग जोडिएका नीति र कानुनको तर्जुमा र कार्यान्वयन गर्दै लगानीको अनुकूल वातावरण सृजना गरिनेछ। जलविद्युतको विकास,  पर्यटन,  कृषिको व्यवसायीकरण, सूचना प्रविधि क्षेत्रको प्रचुर संभावनालाई ध्यानमा राखी स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिनेछ।
समग्रमा मुलुकको अर्थतन्त्रले सही बाटो समाएको छ। थप आर्थिक सुधारका साथ आगामी बजेट तर्जुमाको गृहकार्य शुरु भइसकेको छ। सबै सुधारका प्रयासले नतिजा दिन केहि समय लाग्नेछ। मिडिया जगतबाट समेत अर्थतन्त्रमा देखिएका सकारात्मक संकेतहरुको यथार्थ सुचना प्रवाहमा मद्दत पुग्नेछ ।यसले अर्थतन्त्रमा थप आत्म विश्वास कायम गर्नेछ ।
अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा :
– सरकारको चालू खर्चलाई गत वर्षको हाराहारीमा सिमित गरिएको
– यस अवधिमा पूँजीगत खर्च तर्फ करिब ६.० प्रतिशत वृद्धिदर रहेको
– यस अवधिमा भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्य अभिबृद्धि करतर्फ करिब ७.१९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत र  समग्र कर राजस्वतर्फ ७.५७ प्रतिशत बृद्धिदर कायम रहेको ।
– मौद्रिक नीति मार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कामय गरिएको
– हाल अन्तर बैंक दर २.५ प्रतिशतको हाराहारीमा रहेको
– २०७९ चैत्र महिनामा बाणिज्य बैंकहरुको औषत आधार दर १०.४८ प्रतिशत रहेको २०८० असोज मसान्तमा बाणिज्य बैंकहरुको औषत आधार दर ९.९४ प्रतिशत रहेको
– २०७९/८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा ६८.५५ अर्ब  रुपैयाँ  रहेकोमा यस वर्ष यस अवधिमा १३० अर्ब  रुपैयाँ पुगेको छ।
– निक्षेप तर्फ २०७९/ ८० को पहिलो चार महिनामा ४६.७४ अर्ब  रुपैयाँ रहेकोमा यस वर्ष सोही अवधिमा  २४४ अर्ब  रुपैयाँ  पुगेको
– २०८० असोज मसान्तसम्म चालू खाता र५९ अर्ब  रुपैयाँ ले बचतमा रहेको,  ९९ अर्ब  रुपैयाँले सोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय संचिति रहेको ।
– विप्रेषणको आप्रवाह २०८० असोजमसम्ममा ३०  प्रतिशले बढेकोले वाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको
– २०२३ को हालसम्म ९ लाख ५४ हजार पर्यटक आगमन भएको
– चालू आर्थिक वर्षमा करिब ९०० मेगावाट जलविद्युत राष्ट्रिय प्रशारणमा जोडिने क्रममा रहेको ।

प्रतिक्रिया