नुवाकोटमा शंख बजाउने प्रतियोगिता हुने

नुवाकोट । नुवाकोटमा पहिलो पटक शंख बजाउने प्रतियोगिता हुने भएको छ ।
विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा शंख बजाउने प्रतियोगिता मंसिर ६ गते हुने बताइएको छ । स्थानिय मौलिक कला संस्कृतिको जगेर्ना गर्न भन्दै नुवाकोटको पहिलो सामुदायिक रेडियो नुवाकोट एफएमले प्रतियोगिता आयोजना गर्न लागेको हो । हरिवोधनी एकादशीको अवसर पारेर प्रतियोगिता गर्न लागिएको हो ।
सनातनी हिन्दु धर्मका विभिन्न संस्कारमा नभई नहुने “शंख” संरक्षण र सम्बद्र्धनार्थ जिल्लामै पहिलो पटक ‘खुल्ला शंख ध्वनी प्रतियोगिता’को आयोजना गर्न लागिएको आयोजकले दाबी गरेको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद दशहजार हजार रुपैयाँ, द्वितिय हुनेलाई सातहजार रुपैयाँ, तृतीय हुनेलाई पाँच हजार रुपैयाँ, र सान्त्वना तिन हजार रुपैयाँ नगद र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।
प्रतियोगितामा सम्पूर्ण उमेर समूहका इच्छुक व्यक्तिले सहभागिता जनाउन सक्नेछन् । शंखको विषयमा जानकार व्यक्तिले निर्णायकको भूमिकामा रहने आयोजकले जनाएको छ । विभिन्न गुरु, पुरोहितका साथै गुरुकुल एवम् कीर्तन मण्डलीका तर्फबाट शंख बजाउन जान्ने व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको छ ।
शंख दिनानुदिन लोप हुँदै गएको र त्यसको संरक्षण गर्दै युवाहरु एक हुनुपर्नेमा आयोजकले जनाएको छ ।
प्रतिक्रिया