परदेशी–२ ले रुवायो दर्शक

विदुर खबर २०८० असोज २९ गते ११:१०

नुवाकोट । गत शुक्रबारबाट प्रदर्शनमा आएको सामाजिक कथाको फिल्म परदेशी–२ ले दर्शकको राम्रो साथ पाएको छ।

शुक्रबार नै दर्शकको उल्लेखनीय उपस्थिति देखिएको फिल्म शनिबार उपत्यकासहित देशभरका धेरैजसो हलमा हाउसफुल भएको पाइएको छ। फिल्मले घटस्थापनाको बिदाका कारण आइतबार पनि राम्रो दर्शक पायो। हलबाट निस्किँदै गरेका अधिकांश दर्शकले फिल्मले मन छोएको बताए। फिल्म हेर्नेमध्ये अधिकांश दर्शक हलबाट बाहिर निस्किँदा आँखाबाट झरेका आँशु पुछिइरहेका देखिन्थे।

Advertisement

उनीहरूले फिल्मले छिनमै हँसाउने र छिनमै रुवाउने अनि छिनमै गम्भीर बनाउने बताए। निर्देशक रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटी राजधानीका हल–हलमा पुगेर दर्शकको प्रतिक्रिया लिने क्रममा केही दर्शक कलाकारको अँगालोमा रोएको समेत देखियो।

शनिबार र आइतबार फिल्मको व्यापार स्वाभाविक रूपमा शुक्रबारको भन्दा बढी भएको निर्माण पक्षले जनाएको छ। दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाका कारण फिल्मले दर्शक बढाउँदै जाने अपेक्षा पनि निर्माण पक्षको छ। दर्शकबाट पाएको प्रतिक्रियाले निर्माण टिम उत्साहित भएको फिल्मकाक निर्माता तथा निर्देशक नारायण रायमाझीले बताए।

Advertisement

‘बुटवल, पोखरा, नेपालगञ्ज, चितवनसहित काठमाडौंका हल हाउसफुल भए’ रायमाझीले भन्छन् ‘दर्शक बढेका छन्। आगामी दिनमा अझ राम्रो हुने विश्वास छ।’

प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सविन बास्तोला, रोशनी कार्कीलगायतको अभिनय गरेको फिल्म राजेश वंशल र निर्देशक रायमाझीले संयुक्तरूपमा निर्माण गरेका हुन्।

Advertisement

निर्देशक रायमाझीले यसअघि सुपरहिट फिल्म गोर्खा पल्टन र परदेशी दिइसकेका छन्।

प्रतिक्रिया