कोशीमा चौथोपटक पनि ढल्यो सरकार

विदुर खबर २०८० असोज २१ गते ८:२८

नुवाकोट । कोशी प्रदेश प्रमुख परशुराम खापुङले सात दिनभित्र सरकार गठनका लागि शनिबार आह्वान गरेका छन् ।

Advertisement

सर्वोच्च अदालतको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिएपछि १६८ को उपधारा (५) अनुसारको सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका हुन् ।

सरकार गठनका लागि प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई असोज २६ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ । मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मतका लागि प्रस्ताव राख्ने क्रममा राजीनामा दिने घोषणा गर्दै प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका थिए ।

Advertisement

अब कोशीमा संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठन हुनेछ । पुस ११ गते दोस्रो प्रदेशसभा गठन भएको साढे नौ महिनामा कोशीमा अब पाँचौं मुख्यमन्त्री नियुक्तिको तयारी सुरु भएको हो ।

सबै राजनीतिक दलसँग सहकार्यका लागि राजीनामा दिएको कार्कीले बताए । ‘प्रदेश संरचनाप्रति भएको आलोचना, टिप्पणीबाट जोगाउन र स्थायित्व प्रदान गर्न एमाले सहमति र सहकार्यका लागि जेसुकै गर्न तयार छ,’ उनले भने ।

Advertisement

माओवादी, जसपा र राप्रपाको समर्थनमा पुस २४ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका कार्की जसपा र माओवादीले सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । असार १५ मा प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदमुक्त भए । त्यसपछि संविधानको धारा १६८ को उपधारा (२) अनुसार गठबन्धन दलको समर्थनमा कांग्रेस नेता उद्धव थापा संवैधानिक व्यवस्थाविपरीत तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरले बहुमत पुर्‍याई असार २१ मा दोस्रो मुख्यमन्त्री नियुक्ति भए ।

तर असंवैधानिक रूपमा थापालाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै एमाले नेता कार्कीले सर्वोच्चमा असार २२ गते रिट निवेदन दायर गरे । सभामुख गौतमको हस्ताक्षरलाई असंवैधानिक ठहर गर्दै सर्वोच्चले साउन ११ मा मुख्यमन्त्री नियुक्तिको निर्णय खारेज गर्‍यो ।

सभामुख गौतमलाई पदबाट राजीनामा गराएर बहुमत पुर्‍याई मुख्यमन्त्री थापा दोस्रो पटक साउन १६ मा तेस्रो मुख्यमन्त्री नियुक्ति भए । सभामुखको जिम्मेवारी सम्हालेकी उपसभामुख सिर्जना दनुवार अध्यक्षमण्डलका सदस्य कांग्रेसका इस्राइल मन्सुरीलाई प्रदेशसभाको अध्यक्षताको जिम्मेवारी तोकेर काठमाडौं गइन् ।

विश्वासको मतको पक्ष/विपक्षमा मतदान गर्ने समय र हस्ताक्षर सच्याउन दिएको समय समाप्त भएपछि मन्सुरीले अध्यक्षमण्डलकै सदस्य गीता तिम्सिनालाई अध्यक्षता गर्न लगाई विश्वासको मतको पक्षमा मतदान गरे । र, पुनः अध्यक्षको आसनमा बसेर मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।

प्रतिपक्षी दलका नेता कार्कीद्वारा भदौ ६ गते दायर रिटमा सर्वोच्चले मुख्यमन्त्री थापाको विश्वासको मतलाई अवैधानिक ठहर गर्‍यो र धारा १६८ को उपधारा (३) अनुसार ४८ घण्टाभित्र सरकार गठनका लागि भदौ २१ गते परमादेश जारी गर्‍यो । सर्वोच्चको परमादेशले एमाले नेता कार्की भदौ २२ गते दोस्रो पटक चौथो मुख्यमन्त्री बने ।

अल्पमतमा रहेकाले विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखेपछि उनले राजीनामा दिएपछि कोशीमा पाँचौं मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु भएको छ ।

प्रतिक्रिया