धमाधम बन्दै द्रुत सेवाको ‘डेडिकेटेड लेन’

विदुर खबर २०८० असोज २ गते १९:५४

नुवाकोट । काठमाडौँ र भक्तपुरका विभिन्न क्षेत्रमा अहिले धमाधम द्रुत बस सेवाका लागि ‘डेडिकेटेड लेन’ बनाउने कार्य जारी छ ।

Advertisement

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारको द्रुत बस सेवा सञ्चालन गर्ने योजनाअनुसार भोलिदेखि सञ्चालन गर्न लागिएको रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि बस सेवाको डेडिकेटेड लाइन तयार भइरहेको हो । अहिले पनि ‘रेड मार्क’ लगाउने कार्य जारी छ ।

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सम्बन्धित जिल्लाका सडक डिभिजन कार्यालयमार्फत डेडिकेटेड लेनका लागि रेड मार्क बनाउने कार्य भइरहेको बताए ।

Advertisement

विभिन्न चोक तथा घुम्तीहरुमा सोही अनुसारको मार्क लगाउने कार्य जारी छ । उनले दिउँसो भीडभाड हुने भएकाले धेरै काम राति भइरहेको पनि जानकारी दिए ।

केही ठाउँमा दिउँसो पनि काम भइरहेको छ । अहिले रत्नपार्क, माइतीघर, बानेश्वरलगायत क्षेत्रमा रेड मार्क गरिसकिएको छ ।

Advertisement

सरकारले भोलि संविधान दिवसको दिन पारेर उक्त द्रुत बस सेवा दिन लागेको हो । सुरुमा दुईवटा बस चल्ने जनाइएको छ । भोलि रत्नपार्कमा सेवा उद्घाटन गर्ने तयारी रहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।

द्रुत सेवाका लागि २५ वटा बस सञ्चालनमा ल्याउने योजना छ । उक्त सेवाका लागि ट्राफिक प्रहरीहरु परिचालन गरेर लेन खाली गरिने छ । उक्त लेनमा अन्य गाडी रोक्नु हुँदैन, द्रुत सेवाका लागि बाटो छाड्न पर्छ भन्ने सङ्केत पनि दिइने उनले बताए ।

ट्राफिक प्रहरीले अब बसको ओहोरदोहोरमा व्यवस्थापन गर्न उक्त लेनमा अन्य सवारी चल्न नदिने भएको छ । द्रत हुनका लागि सहयोग पनि गरिने प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।

 

प्रतिक्रिया