चिनीको थोक मूल्य प्रतिकिलो १०२ बाट एकैपटक १४० पुर्‍याइयो

विदुर खबर २०८० भदौ ३० गते १३:५७

नुवाकोट । सरकारको कमजोर उपस्थितिको फाइदा उठाउँदै ठूला व्यापारीले मिलेमतोमा चिनीको मूल्य अत्यधिक बढाएका छन् ।

Advertisement

व्यापारीले बिहीबार दिउँसोदेखि चिनीको थोक मूल्य बढाएका हुन् । बजार अनुगमन गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक र अनुगमन निर्देशक सरुवा भएको मौकाको फाइदा उठाउँदै व्यापारीले मूल्यवृद्धि गरेका छन् ।

खुद्रा व्यापार संघका उपाध्यक्ष नरेशबाबु शाहीका अनुसार बिहीबार दिउँसोदेखि थोक विक्रेताले चिनीको थोक मूल्य १४० रुपैयाँसम्म पुर्‍याएका छन् । थोक विक्रेताले चिनीको थोक मूल्य वृद्धिसँगै स्टकको चिनी लुकाएका छन् । स्टक छैन भनेर थोक विक्रेताले पुरानो थोक मूल्यमा खुद्रा व्यापारीलाई चिनी उपलब्ध गराउन आनाकानी गर्दै आएका छन् । शाहीका अनुसार चिनीको स्टक सकिएको भन्दै कृत्रिम अभाव सिर्जना गरी उनीहरुले नयाँ थोक मूल्यमा चिनी बिक्री गर्न खोजेका छन् ।

Advertisement

‘थोक विक्रेताले बिहिबार दिउँसोदेखि चिनीको मूल्य आफूखुसी १४० रुपैयाँसम्म पुर्‍याए,’ शाहीले भने, ‘किन यति ठूलो परिमाणमा मूल्य बढाइयो भनेर कुरा गर्दा उहाँहरुले नयाँ मूल्यमा लिने भए लिऊ, नलिने भए नलिऊ भनेर फोन काट्नुभयो।’

उनका अनुसार एक साता अघिसम्म प्रतिकिलो चिनीको थोक मूल्य १०२ रुपैयाँ थियो । शाहीले गत साता मात्रै थोकमा प्रतिकिलो १०२ रुपैयाँका दरले खरिद गरेको चिनी अहिले प्रतिकिलो ११० रुपैयाँमा बिक्री गर्दै आएका छन् । पुरानो मूल्यमा खरिद भएको चिनी स्टकमा भएकाले नयाँ मूल्यको चिनी खरिद नगरेको शाहीले बताए ।

Advertisement

‘तर पुरानो स्टकको चिनी अब १ बोराजति मात्रै छ, यो सकियो भने नयाँ मूल्यमा चिनी खरिद गरेर उपभोक्तालाई बेच्दा प्रतिकिलो १५० रुपैयाँसम्म पुग्छ होला,’ उनले भने, ‘यो विषयमा जानकारी गराउन शुक्रबार हामी संघका पदाधिकारी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पुगेका थियौं । तर नयाँ महानिर्देशक र अनुगमन शाखाका निर्देशकसमेत नआएकाले हामी त्यतिकै फर्कियौं ।’

खुद्रा व्यापार संघका सदस्य सुरज होनाले पनि गत सातासम्म चिनीको थोक मूल्य १०२ रुपैयाँ रहेको जानकारी दिए। ‘तर बिहीबारदेखि एक्कासि थोकमै चिनीको मूल्य १४० रुपैयाँसम्म पुगेको व्यापारिक वृतमा हल्ला फैलियो,’ होनाले  भने, ‘हल्ला आएपछि यो विषयमा थोक विक्रेतामा बुझ्दा उनीहरुले पनि चिनीको थोक मूल्यवृद्धि भएर प्रतिकिलो १४० सम्म पुगेको बताए । किन मूल्यवृद्धि भयो भनेर सोद्धा उहाँहरुले कुनै जवाफ नै दिनुभएन ।’

यतिबेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा महानिर्देशक र अनुगमन शाखा निर्देशक दुवै छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत मंगलबार महानिर्देशक गजेन्द्र ठाकुर र अनुगमन शाखा निर्देशक होमनाथ भट्टराईको सरुवा गरी मन्त्रालय तानेको छ । त्यसलगत्तै बजारमा थोक विक्रेताहरुले चिनीको थोक मूल्य अस्वाभाविक रुपमा बढाएका छन्।

महानिर्देशक ठाकुर र निर्देशक भट्टराईको सरुवा भएको दिनदेखि विभागले बजार अनुगमनसमेत गरेको छैन । महानिर्देशक ठाकुरको स्थानमा सरुवा भएर आएका तीर्थ चिलुवालसहित अनुगमन शाखा निर्देशक शुक्रबारसम्म पनि विभागमा हाजिर भएका छैनन्।

बजार अनुगमनकारी निकाय नेतृत्वविहीन रहेको र बजारमा चिनीको अभाव सिर्जना भएको मौकाको फाइदा उठाउँदै व्यापारीले चिनीको थोक मूल्यवृद्धि गरेका हुन् । विभागका अर्का निर्देशक घनश्याम सुवेदीले सरुवा भएर आएका नयाँ महानिर्देशक आइतबारदेखि विभागमा हाजिर भएपछि प्रभावकारी रुपमा अनुगमन गरिने जानकारी दिए ।

थोक खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्र भट्टले चिनीको विषयमा आफूलाई जानकारी नभएको बताए । ‘हामी दाल, चामल, तेललगायतका खाद्य पदार्थ मात्रै थोकमा बिक्री गर्छौं, चिनीको गर्दैनौं । त्यही भएर चिनीको थोक मूल्यको बारेमा केही भन्न सक्दैनौं,’ उनले भने ।

प्रतिक्रिया