बट्टारदेखि भाङ्गे झरनासम्म साइकल यात्रा

विदुर खबर २०८० भदौ २५ गते ११:५२

शरीरलाई तन्दुरुस्त बनाइराख्न नियमित व्यायामको आवश्यकता पर्दछ र व्यायामको उपयुक्त समयचाहिँ बिहानीको कलिलो घाम उदाएपछि मानिन्छ । विशेष गरी बिहानको समयमा गरिने पैदलयात्राले धेरैलाई आकर्षित गर्दछ । चढ्दो उमेर र अस्वस्थ्य खानपानले गर्दा हाम्रो शरीर भद्दा हुनका साथै विभिन्न रोगको पनि सिकार हुन्छ । जसका कारण धेरै मानिसहरू चिन्ताको सिकार पनि भएका हुन्छन् । चिकित्सकहरूले भने बिहान एकाध किलोमिटर हिँड्नु स्वास्थ्यका लागि राम्रो हुने सुझाव दिइरहेका हुन्छन् ।

Advertisement

मेरा लागि भने दिनहुँजसो पैदल हिँडाइ त्यति रूचिकर रहेन । सानै उमेरदेखि साइकल चलाउने बानी र रहरले गर्दा मैले साइकललाई नै व्यायामको साधन बनाएँ । समय बित्दै जाँदा बट्टार, विदुर, कोलनी जस्ता सहरी क्षेत्रमा साइकल चलाउने व्यक्तिहरूको जमात बाक्लै भयो । सङ्गठित रूपमा साइकल पारखीहरूको समूह बनाई अनुहार पुस्तिकामा समेत साइकल समूह बनायौँ र साइकल यात्रा पनि गर्न थाल्यौँ । दिनहँुजसो साइकलको यात्रा फरक फरक ठाउँमा हुने परम्परा जस्तै बसिसकेको छ । हप्तामा एक दिन प्रायः शनिवार जिल्लाका अतिरिक्त छिमेकी जिल्ला धादिङ र रसुवाको विभिन्न ग्रामीण बस्तीमा पनि यात्रा तय हुने गर्छ ।

भाद्र २ गते शनिवारका दिन रसुवा जिल्लाको मैलुङस्थित भाङ्गे झरनामा जाने तय भयो । सदैव साइकल यात्राको नेतृत्व कर्णबहादुर श्रेष्ठले गर्नुहुन्थ्यो । यसपालि पनि नेतृत्व उहाँकै थियो । यात्राको प्रारम्भ उनै कर्णबहादुर दाइको घरबाट बिहान ४ः३० बजे हुने कुरा अघिल्लो दिन नै तय भएको थियो । यात्रामा सम्मिलित हुन बेलुका चाँडै सुतियो । बिहान ४ः१५ मा मोबाइलमा अलामा बज्नासाथ उठेर तयारी भएर कर्णदाइको घरमा पुगेँ । त्यहाँ कर्णदाइसहित सुनिल श्रेष्ठ, कुमार श्रेष्ठ र हरिवंश ढकाल पनि भेटिए । हामी सबै आजको यात्रामा जोडियौँ ।

Advertisement

बट्टारबाट निस्किएर विदुर, ढुङ्गे हुँदैै अगाडि बढ्यौँ । शुभघाटमा माछापोखरी सिलट्याङ्कीका मित्र प्रधुम्न श्रेष्ठ पनि मिसिए हामीसँग । जम्मा ५ जना भयौँ । सुरूका दिनमा भन्दा पातलियौँ नि हामी ? भेट हुनेबित्तिकै प्रद्युम्न श्रेष्ठले भने । कर्णदाइले मुस्कुराउदै भन्नुभयो– उहाँहरूको कार्य व्यस्तताले होला ।’

साइकल यात्राका सम्बन्धमा धेरै भन्दा थोरै भएको यात्र सुखद हुन्छ । समय र कुरा मिल्छ भन्दै बोलि थपे हरिवंश ढकालले । रात लामो भइसकेर होला पॉच बज्न लाग्दा पनि अँध्यारै छ । कर्णदाइको साइकलमा हेड लाइट थियो । अरूकोमा थिएन । उहाँकै लाइटको साहाराले हामी अघि बढ्यौँ । दुई नंम्बर पुलमा पुग्दा स्थानीयहरू एक समूह मर्निङ वाकमा सम्मिलित भएर हिँडेका देख्यौँ । गल्छी केरूङ राजमार्ग भएकाले पक्की पिचको चौडाले गर्दा साइकल चलाउन सजिलो भएको छ । भैँसेको पुल अर्थात् तिरतिरे भिरमा आइपुग्यौँ । त्यहाँ वर्षायाममा सदैव पहिरोका कारण यातायात अवरूद्व हुन्छ । पहिरोले गर्दा बाटो हिलाम्मे छ । ओरालो बाटो पैदल हिँड्नु पर्ने भएको छ । साइकल हातले डो¥याएर हामी हिँड्यौँ । आँखा माथिल्लो भिरमा थियो सबैको । कतै पहिरो आइहाल्छ कि भन्ने त्रास चाहिँ मनमा थियो । पानीका कारणले ससाना ढुङ्गा र माटो माटो झरिरहेको थियो । बाटोमुनि ठाडो भिर छ । तल उर्लेको त्रिशुली नदीले बर्खाको रौद्र रूप धारण गरिरहेको छ । होसियारीपूर्वक भिर छिचोल्यौँ मनमा डर लिईलिई कन । जुत्ता र साइकलका पाङ्ग्रा हिलाम्मे भएका छन् । बर्षायाम न हो । कुन बेला पानी पर्छ ठेगाना हुँदैन ।

Advertisement

यात्रालाई निरन्तर जोड्दै हामी अघि बढ्यौँ । वेत्रावती बजार सुरू हुनै लाग्दा पानीको छिटा पर्न सुरु भयो । आजको यात्रा बिथोल्ने हो कि भन्ने चिन्ता पलाएको थियो । मित्र सुनिलले शुभ साइत हो पानी नपर्ला भनेर सहानुभूतियुक्त धारणा राखे । वेत्रावती बजारको मुखैमा झरना जस्तो एउटा कुलो छ त्यसमा पानीको प्रवाह बाक्लो नै देखिन्छ । त्यो देखेर मनमा एउटा अनुमान आएर दिमागलाई झक्झक्यायो– राती परेको पानीले गर्दा पक्कै पनि भाङ्गे झरनामा पानीको बाहक बढ्दै नै छ सायद हेर्न लायक हुने छ ।

वेत्रावती बजार खुल्ने तर्खरमा छ । हामीले बिहानी पखको चिया वेत्रावती पुलवारि एक स्थानीय पसलमा पियौँ । भूगोलको हिसाबले एउटै भए पनि प्रशासनिक हिसाबले पुलावारि नुवाकोट र पुलपारि रसुवा । बिचमा फलाखु खोला निरन्तर बगिरहेको छ । कहिलेकहीँ त्यसले स्थानीयलाई नराम्रोसँग रुवाउने गर्छ । खोलो ठुलै छ ।

रसुवा प्रवेश गर्नेबित्तिकै बुद्धिबहादुर खड्का सर पिँढीमा बसेर लेखिरहनु भएको रहेछ । उहाँ लेख पढ्नमा बढी रूची राख्ने व्यक्ति हुनुहुन्छ । समय अभावका कारणले उहाँसँग भेट गरिन । पछि समय मिलाएर भेटघाट गर्ने सोच राखेर म आजका सहयात्रीहरूसँगै अगाडि बढेँ ।

वेत्रावतीको माथिल्लो बस्तीबाट दुईवटा बाटो छुटिन्छ । माथिल्लो धुन्चे जाने बाटो र तल्लो मैलुङ जानेबाटो । हामी तल्लो बाटो लाग्यौँ । वर्षातका समयका कारणले वरिपरि हरियाली छ । पक्की बाटोको कारणले वरिपरि ढलान घर थपिने व्रmम जारी छ । कैदलेटार हुँदै हामी नौबिसे फाँट पुग्यौँ । धान, मकै, आलु प्रशस्त मात्रामा उत्पादन हुने ठाउँ हो कैदलेटार । नामको टार हो तर काम चाहिँ फाँटको छ । सिँचाइको राम्रो प्रबन्धका कारण तरकारी खेती पनि राम्रै भएको छ । २०७२ को भुँइचालोबाट भौतिक क्षति पुगेका पहिरेबेसी गाउँका ७२ परिवारलाई नेपाल सरकारले जग्गा किनेर बसोवासको प्रबन्ध मिलाएको छ । लाइनै एकै किसिमको घर हेर्दा निकै आकर्षक लागिरहेको छ । पासाङल्यामू राजमार्गअन्र्तगत बनुवाको घुम्तीको पहिरोले गर्दा उक्त बस्ती जोखिममा थियो । सरकारले १०० मिटर जालि हालेर बस्ती जोगाएको पनि हामीले देख्यौँ । यसपालिको वर्षाले ठाउँठाउँमा जमिन चर्कन गई जालीनै बगाउने स्थिति त्यहाँ देखिएको छ । त्यसैले त्यहाँका बासिन्दाहरू त्रसित छन् । विशेषतः बस्तीको माथिल्लो आठ घरलाई प्रत्यक्ष क्षति पुग्ने अवस्थालाई हामीले पनि हे¥यौँ । स्थानीयले केन्द्र तथा स्थानीय सरकारलाई दुःखेसो पोख्दा पनि सुनुवाइ भएन भनेर गरेको गुनासोले मन चसक्क दुख्यो ।

भूकम्पबाट पीडित मैलुङ गाउँका स्थानीयलाई खाल्टेस्थित त्रिशूली नदीको किनारमा अस्थायी बसोबासको व्यवस्था गरिएको थियो । आजभोलि आधा जसोको घर निर्माण भई स्थान्तरण पनि भइसकेको छ । अविरल परेको पानीले गर्दा त्रिशुली नदीको पानीको बहाव उर्लँदो छ । झन्डै बस्तीमै पानी छिर्ला जस्तो छ । बस्ती नै जोखिमपूर्ण देखिँदै छ । प्रशासन, पालिका र विपद व्यवस्थापन समितिले जोखिमका कारण ठाउँ छाड्न सूचना गर्दा पनि स्थानीयले अटेर गरेको कुरा त्यहाँ पुगेपछि थाहा पायौँ । ज्यानको माया मारेर आफ्नो थातथलो कुरेर बसेका स्थानीयको स्वभाव देख्दा चकित प¥यौँ हामी ।

खाल्टे र सिउरेनी जोड्ने अस्थायी पुल । फलामै फलामले बनेको पुलमा पहेँलो रङ पोतेका कारण आकर्षक देखिँदैछ । पुल र पुलमुनि उर्लिएर बगेको नदीको आवाज र दृश्यलाई कैद गर्न तल्लीन भयौँ हामी । त्यहाँ पुग्ने प्रायःजसो सबैले फोटो तथा भिडियो खिच्ने गर्दछ । पुल व्रmस गर्नासाथ निर्माणाधीन जलविद्युत केन्द्रका भवनहरू छन् । जनताको जलविद्युत कार्यक्रमअन्र्तगत निर्माणाधीन त्रिशूली ३ ए ६० मेवावाट र बी ३७ मेघावाट क्षमताका दुई आयोजनाको काम चलिरहेको छ । ती आयोजना नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको छ । यी आयोजनाले नुवाकोट र रसुवालाई नै जोडेको पनि छ । विद्युत गृहको प्रायःजसो भूभाग भने नुवाकोटको किस्पाङ गाउँपालिका वडा.नं. ५ मा पर्दछ । चिनियाँ कम्पनी सूयकाएनएचई ग्रुप कम्पनीले सिभिल इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन निर्माण जडान तथा सञ्चालन गर्दै आएको छ । अबको केही महिनापछि दुबै आयोजनाले उत्पादन दिने जनाइएको छ । उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुद्रटार–त्रिशूली ३ बी हव प्रशारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ । जलस्रोतको धनी देश नेपाल भन्ने भनाइ यहाँको भूगोलले प्रमाणित गर्दछ । राज्यले तदारूकता देखाएको खण्डमा हाइड्रोपावरको हब नै बन्न सक्ने सम्भावना प्रबल देखिन्छ यस ठाउँ ।

सिउरेनीसम्म पिच भएका कारणले यात्रा सहजै रह्यो । त्यसपछि कच्ची बाटोले गर्दा सजगतापूर्वक साइकल चलाउनु पर्ने भएको छ । पहिरेभिर आइपुग्यो । रातको वर्षाले गर्दा पहिरेभिरमा पहिरो गएको रहेछ । बाटो नै बन्द छ । साइकल बोकेर भए पनि अगाडि बढ्न कोसिस ग¥यौँ । भिरबाट निरन्तर माटो र ढुङ्गा खसिरहेको थियो । अगाडि बढ्न सम्भव भएन । वैकल्पिक बाटो रोज्नु प¥यो । मूलबाटोको मुनि अर्थात् त्रिशूली खोलाको किनारै किनार साइकल डो¥याउँदै हिड्यौँ । खहरे खोला तर्नका लागि फल्याक बिछ्याइएको रहेछ । साइकल डो¥याउँदै पार ग¥यौँ एक–एक गरेर । कहिले साइकल डो¥याउँदै कहिले साइकल बोक्दै सुकौरे खोलाको पुल पुग्यौँ । वर्षातको पानीले गर्दा बाटो बिग्रेको छ । साइकल चढ्न नमिल्ने छ कतैकतै । डो¥याउँदै यात्रा गर्नुपर्ने बाध्यता बनेको छ । बल्ल आइपुग्यो । शान्ति बजार । १५÷२० वटा घरहरू रहेको शान्ति बजार स्थानीयहरूको व्यापारिक केन्द्र रहेछ । बजारमा स्थानीयहरूको भिडभाड देख्दै छौँ । शान्ति बजारबाट अगाडि बढ्ना साथ चारैतिर पहाडका कन्दराबाट झरिरहेका सेताम्ये झरनाहरू अनगिन्ति देखिए । बाटो छेउछाउमा विभिन्न प्रजातिका रङ्गीन फूलहरू देखियो । ती आफैँ उम्रेका प्रवृmतिका उपहार हुन् । भिन्न भिन्न रङ्गका फूलहरू टिप्न व्यस्त थिए हरिवंश ढकाल । फूल टिप्दाटिप्दै उनले प्रतिक्रिया दिइहाले–अध्ययन अनुसन्धान गर्ने र प्रयोगमा ल्याउने हो भने बहुमूल्य हुने थियो होला सायद यी फुलहरू । माल पाएर चाल नपाएका हामी नेपाली बाटोमा ढुङ्गै ढुङ्गा र रूख ढलेर काठ कुहिरहेको देखिन्छ । सदुपयोग देखिँदैन ।

कर्ण दाइ पनि के कम ! उहाँले पनि भनिहाल्नुभयो–निकुञ्ज वा वन उपभोक्ता समितिसँग अधिकार लिएर मात्र प्रयोगमा ल्याउन सकिन्छ यी सामग्रीहरू । कागजी अभ्यास झन्झटिलो हुनाले त्यति वास्ता गर्दैनन् गाउँलेहरू पनि ।
सिम्ले बजार आइपुग्यो । बस्ती छिटफुट देखिन्छ । यहाँ एउटा होटल छ तिलक होटेल एन्ड लज । खाना खाजाका लागि भिडभाड लाग्ने रहेछ होटलमा । होटलका सञ्चालक तिलक तामाङ मेरो चिनजानका मित्र हुन् । उनलाई चिनेको पनि एक दशकभन्दा बढी भइसकेकोे छ । सामान्य भलाकुसारीपछि उनीसँग छुट्यौँ । बाटो हिँड्ने व्रmममा देख्याँै चिया एन्ड कफीसप । आफू परियो कफीको पारखी । गाउँका क्याफे भए तापनि सरसफाइ राम्रै छ । कफीसपका साहुजीले वैदेशिक रोजगारबाट फर्केर व्यवसाय गरेका रहेछन् । उनले मान्छे अनुसारको कफी बनाउँदा रहेछन् । अर्थात् ग्राहकलाई सोधेर रेडिमेट कफी वा भुटेको कफीको गेडा धुलो पारेर । हामीले धुलो पारेको कफी पियौँ । कफी स्वदिष्ट भएको कारण पुनः एक कप कफी थप्यौँ ।

साइकल यात्रामा हिँड्दा ठाउँठाउँमा विश्रामका साथै भूगोलको बारेमा पनि जानकारी लिने मेरो स्वभावका कारण सबैभन्दा पछि मै पर्दो रहेछु । अरू सबै अघिअघि गइसकेका हुन्छन् । म पछि नै परिरहेको हुन्छु । तर मसँग कुमार श्रेष्ठ भाइ पनि सँगै हुन्छन् ।

कच्ची, ओरालो ओराला त्रिशूली नदी छेउमै बाटो । नदीमा पानीको बहाव निकै उर्लदो छ । घरका दलिनदेखि लुगाफाटा बगेको देखिन्छ । कतै वर्षातको पानीले गाउँनै बगायो कि भन्ने चिन्ता । भगवान भरोसा । खोलाको पानी धमिलो छ । बालुवा, ढुङ्गा बगिरहेको छ । हजारौं हजार टिप बालुवा बगेर भारत पुगेको छ । यसमा सुनिल श्रेष्ठमा ठुलो चिन्ता छ । उनी भन्दै छन्– ‘राज्यलाई कर तिरेर व्यवस्थित तवरले बालुका निकाल्न दिँदा हानी कसैको हुँदैन । यो जसरी पनि बगेरै जाने हो । गणेश तथा लाङटाङ हिमालबाट बग्ने पानीमा सुन, चाँदी तथा फलामका कणहरू प्रशस्त मात्रामा होलान् । ती बहुमूल्य वस्तुको प्रशोधन गर्न सकेमा राज्यको ढुकुटी पनि बलियो हुन जान्थ्यो’ ।

बाटो हिँड्दा पहराबाट खसेको पानीको शीकरले शरीरमा स्पर्श गर्दा छुट्टै आनन्द आउँछ । पहराको खोँचै खोँच हिँड्न पर्ने । कतै पहरा नै खसेर भौतिक क्षति त हुने होइन भन्ने डरले सताउँछ हामी सबैलाई ।

ऊः भाङ्गे झरना ! कठिन यात्राको बाबजुद आइपुग्यो गन्तब्य स्थल अर्थात् भाङ्गे झरना । शरीर शिथिल भएको छ । भोकले सताएको छ । भोक मेट्न झर्ना नजिक रहेको अस्थायी होटलमा छि¥यौँ । चाउचाउ कफी र काँव्रmो खायौँ थपी थपी ।

रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा.नंं २ डाँडागाउँमा भाङ्गे खोलाबाट निर्मित हो भाङ्गे झरना । नेपाल चीनको अन्तराष्ट्रिय सडक वेत्रावती–मैलुङ–स्याफ्रुबेसी खण्डअन्तर्गत शान्ति बजार र सल्लेटारको बिच भागमा रहेको झरना १५० मिटरको उचाइमा रहेको छ ।

रसुवा जिल्लाकै उत्तरगया गाउँपालिकाको बर्ले पोखरीबाट बगेको निश्चल पानीमा वर्षातको पानीहरू मिसिएर भाङ्गे झरनामा परिणत हुन्छ । पहरामा ठोकिएर पानीका छिटाहरू फाटिएर छर्दाको दृश्य निकै आकर्षक देखिन्छ । दुधजस्तो सेतो रङको पानी फिँजिएर झर्दाको दृश्य र आवाजले स्फूर्ति दिलाएको अनुभव हुन्छ । झरनाको मुन्तिर पोखरी जस्तो बनाएको छ । जुन पोखरीमा डुबेर आनन्द लिनुका साथै पोखरीमा माथिबाट आएको छाँगाको बेगमा टाउको र ज्यान थापेर आफ्नो शक्ति प्रर्दशन गर्दछन्–यात्रीहरू । हामीले पनि त्यो मनोरञ्जन लियौँ । झरनाबाट उठेको शीकरले हामीलाई मायालु स्पर्श गरिरह्यो ।

झरना भनेको चट्टानको बिचबाट बग्ने नदी वा पानीको ठाडो रूप हो । झरनाहरू इरोसन भनिने प्रव्रिmयाबाट बनेको हुन्छ । पानी वा हावा जस्ता प्रावृmतिक शक्तिहरूले समयको अन्तरालमा पृथ्वीलाई नष्ट गर्दछ । झरनाले चुन ढुङ्गाहरूलाई पगालेर बगाउँछ तर ग्रेनाइट जस्ता कडा चट्टानलाई पगाल्न सक्दैन । झरना वास्तवमा पृथ्वीमा निर्मित वास्तुकलाका एक नमुना प्रतीकका रूपमा स्थापित छ । झरनाले नदीको प्रवाहको अनियमिततालाई सहज बनाउँछ । जलजिवीहरूलाई अक्सिजन उपलब्ध गराई बाँच्नका साथै झरनाको वरिपरि चिसो हुने भएकाले चिस्यानका कारण खेतबारीमा उत्पादन राम्रो हुन्छ । झरनाको अवलोकनले तनाव र डिप्रेसन कम हुनाका साथै मानव जातिमा सकारात्मक सोचको विकास हुन्छ भन्ने मान्यता कतिपय विद्वानहरू राख्छन् ।

झरना हेर्नका लागि यात्रा गर्ने परम्परा थालनी भएको सम्भवतः धेरै भएको छैन । सहरी सभ्यताले नै मानिसलाई झरनाप्रति आकर्षित गरेको होला सायद । १८ औ‘ शताब्दीदेखि झरना पर्यटन गन्तव्यका रूपमा चिनिन थाल्यो । नेपालमा झरना हेर्न जाने आम चासो भर्खर भर्खर मात्रै सुरु भएको हो । त्यसैले हामीले अझै झरनालाई पर्यटकीय हिसाबले व्यवस्थित गर्न सकेका छैनौ । झरनालाई जलविद्युतको स्रोत मानिन्थ्यो । २० ऑैं शताब्दीको मध्येदेखि नयाँ झरनाको खोजी र पर्यटनको विकासका लागि अनेक किसिमले कामहरू अघि बढिरहेका छन् । यो भाङ्गे झरना पनि भर्खर भर्खर मात्रै चर्चामा आउन थालेको हो ।

झरना प्राचीन संस्वृmतिमा पनि एक पवित्र गन्तव्य मानिन्छ । झरनाको पानीमा शुद्वता हुन्छ । मानव जातिका लागि झरनाको पानी उत्तम मानिन्छ । पानी भूमिगत जलासयमा लुकेको हुन्छ । पृथ्वीमा ७० प्रतिशतको सङ्ख्यामा पानी रहेको छ । संसारको सबैभन्दा अग्लो झरना भेनेजुएलाको एन्जेल फल्स हो र यसको लम्बाई ८०७ मिटर छ । नेपालमा मुख्यतया पाचल झरना, पोकली झरना, रूपसे झरना, भोटेकोशी झरना र अन्नपूर्णको रोडसाइड झरना प्रख्यात छन् । झरना बारहमासी, रूकावट र मानव निर्मित गरी तीन किसिमको हुन्छ ।

भाङ्गे झरना रूकावटमा पर्दछ । भाङ्गे झरनाले वर्षमा चार महिना मात्र निरन्तरता पाउँदछ । झरनाको शिर डाँडागाउँमा ठुलो पोखरी बनाएर वर्षाको पानी जम्मा गर्न सकेमा अन्य समयमा पनि यो झरना सुचारू गर्न सकिन्छ र पर्यटकीय स्थलको रूपमा यसलाई विकास गर्न सकिन्छ भन्ने लाग्यो । सायद त्यस किसिमको सोचको विकास भएको पनि होला स्थानीय सरोकारवालाहरूका बिचमा । सबै वस्तुस्थिति नियालिसकेपछि यो स्थान आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य बन्न सक्छ भन्ने लाग्यो ।

उत्तरगया गाउँपालिकाले भाङ्गे झरनाको भौतिक पूर्वाधार विकासका लागि डिपिआर तयार गरिसकेको र निकट भविष्यमा चरणबद्व रूपमा पूर्वाधार निर्माण गरिने जानकारी हामीले त्यहीँ पुगेपछि प्राप्त ग¥यौँ ।

टिकटकलगायत अन्य सामाजिक सञ्जालमा भाङ्गे झरना भाइरल भएपछि आन्तरिक पर्यटकहरू आउने सङ्ख्यामा वृद्वि भएको छ भन्ने स्थानीयको भनाइ छ । विशेषगरी रसुवा, नु्वाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुरबाट हजार‘ौ सङ्ख्यामा यहाँ आउने गर्दछन् । यस झरनालाई मैलुङ, बहुवली आदि नाम नदिन स्थानीयको आग्रह छ ।

वरिपरि सुविधायुक्त बासस्थानको अभाव रहेको छ । कोही टेन्ट टाँगेर रात बिताउने पनि गर्दछन् । झरना वरिपरि प्लाष्टिक र बियरका बोतलहरू यत्रतत्र देखिन्छ । यो चाहिँ एक प्रकारले हाम्रो संस्कार जस्तै बनिसकेको छ । ती वस्तुहरू उपयुक्त ठाउँमा विर्सजन गर्दा सफा सुघर देखिन्थ्यो तर हाम्रो सोच यसतिर जाँदैन खै कुन्नि किन हो ! भाङ्गे झरनाको नजिकै सानातिना झरनाहरू धेरै छन् । यहाँ रहेका झरनाहरूको पानी त्रिशुली नदीमा मिसिन्छ ।

भाङ्गे झरनाको दृश्य अवलोकनका लागि दक्षिणतिर पहाडको डिलमा बारले बारेर विश्राम स्थलको निर्माण गरिएको छ । उक्त ठाउँमा जान शान्तिबजारबाट अगाडि बढ्ने क्रममा बायॉ तर्फको गोरेटो बाटोको यात्रा गर्नुपर्छ । पैदल वा मोटर साइकलको माध्यमबाट पनि पुगिन्छ त्यहाँ । विश्रामस्थल उच्च ठाउँमा रहेको छ । चारैतिर पहाडले घेरिएको भूगोल छ । क्षणभरमै वातावरण बदलिन्छ । कालो निलो परिवेश हुन्छ । झमझम पानी पर्छ । उज्यालो घामको प्रकाश छरिन्छ । बाक्लो कुहिरोको दौडादौड हुन्छ । यस्तै घटनासँगको साक्षतकार गर्दाको अनुभूति बिछिटट्ै रमाइलो हुन्छ ।

त्यहाँ जानका लागि छिँडीको निर्माण गरिएको छ । भाङ्गे झरना आउनेहरूमध्ये प्रायःजसो युवायुवतीहरू त्यहाँ जान्छन् । फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा राख्छन् जसका कारण यहाँको लोकप्रियता बढ्दै गएको छ ।
०००

भाङ्गे झरनाको निश्चल पानीसँग आत्मीयता साट्दै हामी फर्किने तर्खरमा छौ‘ । फर्कँदा सिम्लेस्थित तिलक होटल एण्ड लजमा खाना खायौँ । पहिरेबेसीमा पहिरो हटाउन दुई वटा डोजर प्रयोगमा ल्याएको थियो । सयौँको सङ्ख्यामा यातायातका साधन रोकिएको थियो । हिँडेर भएपनि आन्तरिक पर्यटकहरू गन्तव्य स्थलसम्म अघि बढिरहेका थिए ।

हिलाम्मे बाटो भएकाले हामीले साइकल काँधमा राखेर निकै कठिनताका साथ पहिरो छिचल्यौँ । दिनको १ः०० बजे हामी बट्टारस्थित आ–आफ्नो घरमा आइपुग्यौँ । हामीले साइकल यात्रा धेरै ग¥यौँ तर आज बट्टारदेखि भाङ्गे झरनाको यात्रा अविष्मरणीय रह्यो । घरमा आइपुगेर थकाइ मर्दा पनि झरनाको झरझर आवाज भने सङ्गीत बनेर कानमा गुञ्जिरहेको छ ।

प्रतिक्रिया