पोखरामा नबिल बैंकको शाखाबाट ग्राहकको ४० करोड गायब

विदुर खबर २०८० भदौ ८ गते २०:२४

नुवाकोट । नबिल बैंकको पोखरा  शाखामा गम्भीर प्रकृतिको वित्तीय अपराध भएको भेटिएको छ ।

Advertisement

बैंककै उच्च तहका कर्मचारीबाट पछिल्लो ६ वर्षदेखि फरक शैलिको गम्भीर वित्तीय अपराध भएको  फेला पारेको छ । नबिलको पोखरास्थित न्युरोड शाखाका उच्च तहकै कर्मचारीले पछिल्लो ६ वर्षदेखि ग्राहकबाट लिएको पैसा आफैँले प्रयोग गरि ग्राहकलाई भने नक्कली भौचर र कागजातहरु दिएको फेला परेको  र चेकसमेत व्यक्तिगत रुपमा प्रयोग गर्दै आएको श्रोतले जानकारी दिएको छ ।

ग्राहकबाट पैसा लिएर हिनामिना गरेको रकम करिब ४० करोडभन्दा माथि भएको प्रारम्भिक अनुमान छ। करिब २० वर्षदेखि उक्त शाखामा कार्यरत ती कर्मचारीले ग्राहकबाट उठाएको पैसा कृषि फार्म तथा घरजग्गामा लगानी गरेका देखिएको समेत उनले बताए ।

Advertisement

बैंकको उक्त शाखामा पैसा तथा चेक जम्मा गर्न आउने ग्राहकले हेर्दा सक्कली देखिने भौचर थमाउने तर ती कागजात नक्कली हुने र त्यो पैसा ग्राहकको खातामा नभई आफ्नै व्यक्तिगत खातामा राख्ने गरेको पाइएको हो। पदको फाइदा उठाएर उनले ग्राहकको खाताको सम्पूर्ण पहुँच आफूले लिएर पछिल्लो ६ वर्षदेखि यसरी ग्राहकको पैसा हिनामिना गर्दै आएका पाइएको हो ।

६ वर्षदेखि हुँदै आएको वित्तीय अपराधमा कानुनी कारबाहीमा जानुपर्नेमा नबिल बैंकको उच्च व्यवस्थापन नै घटना ढाकछोप गरी पैसा असुलीतर्फ मात्रै केन्द्रित भएको छ । घटना प्रहरीमा पुगेमा ब्राण्डकै बदनाम हुने भएकाले बैंकका सिईओकै नेतृत्वमा सामसुम पार्ने प्रयास भइरहेको पाइएको हो ।

Advertisement

न्युरोड शाखाका ती ग्राहकले आफ्नो खातामा पैसा नभएको गुनासो गर्न थालेपछि अहिले आएर यो घटना बैंकको उच्च व्यवस्थापनसम्म आइपुगेको हो। पछिल्लो समया नबिल बैंकमा यस्ता गम्भिर प्रकृतिका वित्तीय अपराध बढिरहेकाले विश्वसनीयतामाथि नै प्रश्न उठेको छ । ग्राहकहरु समेत शशंकित हुन थालेका छन् ।

यो घटनाको सुइँको पाउने वित्तिकै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना स्वयम आफैँ पोखरा पुगेर घटना मिलाउने प्रयास गरेका छन्। ग्राहकको हिनामिना भएको ४० करोड रुपैयाँ उठाउने प्रक्रियामा लागेको स्रोतले जनाएको छ।

स्रोतकाअनुसार बैंकका सञ्चालक समितिले यो घटना गम्भीर प्रकृतिको वित्तीय अपराध मात्रै नभई किर्ते पनि भएको ठहर गर्दै यसको समाधानका लागि नेपाल प्रहरीलाई गुहार्नुपर्ने निर्णय समेत गरेको छ।

तर घटना बाहिर ल्याउँदा नबिल बैंकप्रति ग्राहकको विश्वास हट्न सक्ने भन्दै बैंक उच्च व्यवस्थापनले सकेसम्म भित्रभित्रै यो घटना मिलाउनुपर्ने तर्क अगाडि सारेको छ। सोहीअनुसार बैंकका सीईओ ढुंगाना दुई साता अगाडिको अर्थमन्त्री डा प्रकाशशरण महतसँगको नेपाल बैंकर्स संघको बैठक नै छोडेर हतारहतार पोखरा पुगेका थिए।

दमककै शैलीमा घटना लुकाउने प्रयास 

करिब दुई वर्ष अगाडि नबिल बैंकको दमक शाखाबाट शाखाका कर्मचारी, भ्यालुएटरलगायतका व्यक्तिको मिलोमतोमा एउटा गिरोहलाई अरुको जग्गा धितो राखेर तथा कमसल धितो राखेर कर्जा प्रवाह हुँदा बैंकलाई करोडौँ नोक्सानी भएको थियो। ब्राण्ड बचाउने नाममा नबिल बैंकले यो घटना पनि भित्रभित्रै मिलाएको त्यो घटनाका जानकार दमकस्थित कामना सेवा विकास बैंकका तत्कालिन कर्मचारीले बताएका थिए।

उक्त गिरोहले सोही शैलीमा त्यहाँका सहकारी, कामना सेवा विकास बैंक र नबिल बैंकलगायतका संस्थाबाट ठूलो परिणाममा कर्जा लिएर बिटक्वाइनमा लगानी गरेका थिए। तर सहकारी र कामना सेवासँग जोडिएको घटना मात्रै बाहिर आएको थियो भने यही घटनामा कामना सेवा विकास बैंकका तत्कालिन सिईओ पक्राउसमेत परेका थिए।

नबिल बैंक पोखरा शाखामा भएको घटनामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानासँग जानकारी लिन खोज्दा उनले पोखरा शाखामा त्यस्तो केही नभएको भन्दै यस विषयमा कुराकानी गर्न चाहेनन् ।

प्रतिक्रिया