आँखा पाक्ने समस्याबाट कसरी जोगिने

विदुर खबर २०८० साउन २८ गते ९:५७

मौसम परिवर्तनसँगै अहिले धेरैमा आँखा रातो हुने समस्या देखा परेको छ। अझै यो समस्या विद्यालय जाने बालबालिकामा धेरै देखिएको छ।

Advertisement

आँखा रातो हुनुको प्रमुख कारणमध्ये आँखा पाक्नु हो, जसलाई हामीले कन्जंक्टिवाइटिस भन्ने गर्छौं। यदि कसैको आँखा पाकेमा वा रातो भएमा यो त सामान्य समस्या हो भनेर बस्नु हुँदैन।

आँखा पाक्ने समस्या कुनै पनि उमेर समूहमा हुन सक्छ। र, एउटा वा दुवै आँखामा रोग देखिन सक्छ। आँखामा देखिने समस्या धेरै प्रकारका हुन्छन्। एलर्जिक, जीवाणु (ब्याक्टेरिया) र भाइरसका कारण आँखामा समस्या देखिन्छ।

Advertisement

जीवाणु कन्जंक्टिवाइटिस एउटा आँखामा हुन्छ, तर कहिलेकाहीँ दुवै आँखामा पनि हुन सक्छ। आँखा पाक्दा आँखाबाट पिप जस्तो पदार्थ निस्किन्छ र बिहान उठ्दा आँखा खोल्न गाह्रो हुन सक्छ। परेली टाँसिएको अनुभव हुन्छ। यो समस्या अहिले जताततै देखिएको छ।

भाइरस कन्जंक्टिवाइटिस एउटा आँखाबाट सुरु हुन्छ र सुरु भएकै केही दिनमा अर्को आँखालाई पनि असर गर्न सक्छ। यस्तो अवस्थामा आँखाबाट धेरै आँसु र पानी आउने हुन्छ। कानको अगाडिको भाग (प्रि-ओरिकुलर लिम्फ नोड) सुन्निने र  दुख्ने गर्छ।

Advertisement

एलर्जिक  कन्जंक्टिवाइटिसमा आँसु धेरै आउने र चिलाउने गर्छ। यो धेरै जस्तो मौसम परिवर्तनको समय वा धुलो-धुवाँका कारण हुने गर्छ।

आँखा पाकेमा ध्यान दिनुपर्ने विषय:

  • साबुन पानीले राम्ररी हात धुनुपर्छ।
  • आँखा सफा राख्नुपर्छ। आँखाबाट निस्केको पिप जस्तो पदार्थ सफा कपास वा नरम कपडाले समय-समयमा सफा गर्नुपर्छ र त्यसपछि राम्ररी साबुन पानीले हात धुनुपर्छ।
  • फोहोर कपडा वा लगाइरहेको लुगा, सारीको आँचल वा हातले आँखा पुछ्नु हुँदैन।
  • दिनदिनै लुगा र चलाएको रुमाल फेर्नुपर्छ।
  • आँखामा लगाउने शृंगारको प्रयोग गर्न बन्द गर्नुपर्छ।
  • अरुको लुगा, रुमाल र आँखामा लगाउने निजी शृंगारको उपकरण एकापसमा प्रयोग गर्नु हुँदैन।
  • आफूखुसी औषधि प्रयोग गर्नु हुँदैन र आँखा विशेषज्ञलाई देखाउनुपर्छ।
  • आँखा बेस्सरी मिच्नु हुँदैन। किनकि, यसो गर्दा कर्नियामा घाउ हुन सक्छ।

कहिलेकाहीँ आँखा पाक्ने मात्रै नभइ अरु रोग जस्तै: युभेटिसले गर्दा पनि आँखा रातो हुन्छ, जुन उचित समयमा उपचार नगरिएको अवस्थामा गम्भीर रुप लिन सक्छ। जसका कारण आँखाको ज्योति गुम्ने खतरा पनि हुन सक्छ।

त्यसैले आँखा रातो भएमा आफूखुसी औषधि प्रयोग गर्नुभन्दा आँखा विशेषज्ञलाई बेलैमा उत्तम हुन्छ।

नेत्र रोग विशेषज्ञ  डा तेजसु सिंह मल्ल

प्रतिक्रिया