राप्रपामा फेरि विवाद सुरु

विदुर खबर २०८० साउन २८ गते ९:२९

नुवाकोट । अध्यक्ष राजेन्द्र लिङ्देनलाई आमन्त्रण नगरीकनै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको निवासमा निर्देशन समितिका सदस्यहरुको अनौपचारिक भेला भएपछि राप्रपामा फेरि विवाद सुरु भएको छ ।

Advertisement

चन्दको निम्तोमा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको उक्त समितिका सदस्यहरु शनिबार भक्तपुर लोकन्थलीस्थित निवासमा पुगेका थिए । भेलामा लोहनी, दीपक बोहोरा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्षहरु हेमजंग गुरुङ, उद्धव पौडेल, महामन्त्री धवल शमशेर, राजेन्द्र गुरुङ र कोषाध्यक्ष नीलकण्ठ काफ्ले, नवराज सुवेदी, हरिबहादुर बस्नेतसहितका नेताहरु उपस्थित थिए ।

निम्तो भए पनि पशुपतिशम्शेर जबरा, उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, भुवन पाठक, कुन्ती शाहीलगायत भने भेलामा सहभागी भएनन् । निर्देशन समितिका सदस्य रहेका चन्द पुत्र जयन्त पनि भेलामा थिए । ‘केही नेताहरुले लोकेन्द्रबहादुर चन्दसँग पार्टीभित्र रेस्पोन्स नभएको गुनासो गर्नुभएको रहेछ । त्यसैका आधारमा सरसल्लाह गर्न चन्दले बोलाउनुभएको हो’ उपाध्यक्ष पौडेलले भने ।

Advertisement

अध्यक्ष लिङ्देन निकट नेताहरुले लोकन्थली भेलाप्रति असन्तुष्टि जनाएका छन् । भेलामा सहभागी केही नेताहरुले पार्टीको औपचारिक बैठकमा राख्नु पर्ने विषय भेलामा त्यसले सन्देश राम्रो नजाने बताएको स्रोतले जनाएको छ।

राप्रपाका तल्लो तहका नेताहरुले गुटबन्दी सुरु गरिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्ट जनाएका छन् । केहीले नवीन राप्रपाको नाममा लोहनी र मिश्रले नयाँ गुटबन्दी सुरु गर्न खोजेको आरोप लगाएका छन् ।

Advertisement

भेलाको विषयमा औपचारिक प्रतिक्रिया व्यक्त गर्न नमानेका राप्रपा संस्थापन पक्षले भने चन्दलाई प्रयोग गरेर लोहनी र मिश्रले गुटबन्दीलाई तलसम्म पुर्‍याउन खोजेको आरोप लगाए । ‘राप्रपामा गुटबन्दी नयाँ विषय होइन, तर अहिले चन्दलाई प्रयोग गरेर तल्लो तहसम्म गुटबन्दीलाई लैजाने खेलमा लोहनी र मिश्रहरु लाग्नुभएको छ,’ अध्यक्ष लिङ्देन निकट एक नेताले भने, ‘शान्त ठाउँमा तरंग उत्पन्न गराउने लोहनीजीको पहिलेदेखिको स्वभाव हो अनि मिश्रजीले विवेकशीललाई कस्तो बनाएर आउनुभयो छिपेको छैन ।’

केही दिनअघि बस्नेत (हरिबहादुर) र सुवेदी (नवराज) ले चन्दसँग भेटेर भेलाको वातावरण बनाएको पार्टीको संस्थापन पक्षको दाबी छ । पञ्चायतको पतनपछि सक्रिय राजनीतिमा आएका लिङ्देनले अध्यक्ष हुँदा गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै वरिष्ठ नेताहरु असन्तुष्ट छन् । २०७८ मंसिरमा भएको पार्टीको महाधिवेशनमा वरिष्ठ नेताहरुलाई फरक–फरक जिम्मेवारीको आश्वासन दिइए पनि त्यसलाई पूरा नगरेको भन्ने समूह राप्रपाभित्र निकै बढेको छ । उक्त महाधिवेशनमा तत्कालीन अध्यक्ष कमल थापालाई पराजित गर्दै लिङ्देन निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया