रसुवाको टिमुरेमा पहिरो : २ को मृत्यु, ९ जना घाइते

रसुवा भदौ ३१, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । भने नौँ जना घाइते भएका छन् । मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ का २२ वर्षीय रमेश कप्रोला र रुकुमको भूमे गाउँपालिका–९ का ५० वर्षीय भीम रोका रहेका छन् ।
हिजो राति ९ बजे टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत आयोजनाको कामदार बस्ने स्थान नजिकै पहिरो जाँदा अन्य ९ जना घाइते भएका छन् । घाइते हुनेमा चिनियाँ नागरिक एमआर इथ्यो, रुकुम जिल्लाको भूमे गाउँपालिका–२ का ३० वर्षीय टेकमान बुढा र त्यहीँका जगदिश रोका र कृष्णपुर नगरपालिका–१ का ३० वर्षीय प्रकाश भट्ट रहेका छन् ।
उनीहरू गम्भीर घाइते भएका हुन् । त्यसैगरी रोल्पाको थवाङ गाउँपालिका–२ का २९ वर्षीय देउ बहादुर बुढा, सुर्खेतको घुमखोर गाउँपालिका–१० का २५ वर्षीय लोक बहादुर घर्ती मगर, रोल्पाको नेवाङ गाउँपालिका–२ का २९ वर्षीय जमिन्द्र रोका, सल्यानको बाघचौर नगरपालिका–९ का ३० वर्षीय कमल शाही र रुकुमको खावाङ गाउँपालिका–२ का २१ वर्षीय मनोज पुन रहेका छन् ।
चारै जनालाई उपचारको लागि काठमाडौँ लगिएको छ र ५ जनाको चिनियाँ क्याम्प टिमुरेमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
प्रतिक्रिया