घोराही सिमेन्टको शेयर कर्मचारीले नै किनेनन्

विदुर खबर २०८० जेठ २५ गते १३:०७

नुवाकोट । प्रिमियम मूल्यमा आईपीओ निष्कासनमा ल्याएको घोराही सिमेन्टको शेयर आफ्नै कर्मचारीले नकिनेपछि कम्पनी दबाबमा परेको छ । कम्पनीले आफ्नै कर्मचारीलाई छुट्याएको सेयरको ५ प्रतिशत मात्रै बिक्री भएको छ ।

Advertisement

त्यसैगरी सामूहिक लगानी कोषका लागि छुट्याएको शेयरसमेत पूरा बिक्री भएन । सामूहिक लगानी कोषहरुले धितोपत्र बजारमा लगानी गर्न बजार विश्लेषण गर्ने कर्मचारी नै राखेर विश्लेषण गरिरहेका हुन्छन् ।

सामूहिक लगानी कोष र कर्मचारीलाई आरक्षण गरिएको सेयर सबै नबिकेपछि घोराही सिमेन्टले उक्त सेयर समेत थप गरेर सर्वसाधारणलाई निष्कासन गर्ने भएको छ ।

Advertisement

कम्पनीले धितोपत्र बोर्डबाट उद्योग प्रभावित स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँमा आईपीओ निष्कासन गर्ने स्वीकृति पाएको थियो । यस्तै सर्वसाधारण, कर्मचारी, सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्ने स्वीकृति पाएको थियो ।

आयोजना प्रभावित स्थानिय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषले खरिद नगरेको सेयर समेत थप गरी ३२ जेठबाट कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ ।

Advertisement

कम्पनीले १९ वैशाखमा वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित क्षेत्र दाङ तथा रोल्पाका स्थानीयलाई प्राथमिक सेयर (आईपीओ) बिक्रीमा ल्याएको थियो ।

धितोपत्र बोर्डले कम्पनीलाई ६ वैशाखमा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको थियो, जसअनुसार पहिलो चरणमा १९ जेठदेखि १५ दिनको म्याद राखेर वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित स्थानीयलाई आईपीओ निष्कासन गरेको थियो ।

यस्तै, आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको सेयर १५ दिनको म्यादमा मागभन्दा धेरै नै कम आवेदन परेपछि १७ जेठसम्म म्याद थप गरेको थियो । कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ३ लाख ९७ हजार १९० कित्ता सेयर निष्कासनमा ल्याएकोमा ७७ हजार २९० कित्ता सेयर मात्रै बिक्री भएको छ, जुन स्थानीयलाई छुट्याएको कूल सेयर कित्ताको १९.४६ प्रतिशत मात्रै बिक्री भएको हो ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशतले हुने ७ लाख ५४ हजार ६६१ कित्ता सेयर निष्कासन खुला गरेको थियो, जसमा ६ लाख ६ हजार ३५० कित्ता सेयर मात्रै बिक्री भएको कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्न निष्कासन गरेको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीका कर्मचारीलाई छुट्याइएको सेयरको ५.१८ प्रतिशत मात्रै बिकेको छ । कर्मचारीलाई कूल ३ लाख ७७ हजार ३३१ कित्ता सेयर छुट्याएकोमा १९ हजार ५३० कित्ता सेयर मात्रै बिक्री भएको छ ।

सामूहिक लगानी कोषहरुको लागि पनि ३ लाख ७७ हजार ३३१ कित्ता सेयर छुट्याएको भएपनि ३ लाख २८ हजार ९६१ कित्ता सेयर मात्रै बिक्री भएको हो ।

अब कम्पनीले यसरी बिक्री नभएको ८ लाख ७४ हजार ३८२ कित्ता सेयर समेत थपेर सर्वसाधारणका लागि ३२ जेठदेखि सेयर निष्कासन खुला गर्ने भएको हो । कम्पनीले सर्वसाधारणलाई छुट्याएको ६० लाख ३७ हजार २८८ कित्ता सेयरमा यसअघि बिक्री नभएको सेयर समेत थपेर ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन खुला गर्ने भएको हो ।

कम्पनीले ३२ जेठबाट खुला गर्ने आईपीओमा छिटोमा ४ असार र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा१४ असारसम्म म्याद  थप हुनेछ ।

प्रतिक्रिया