नुवाकोटमा ऐतिहासिक सिन्दुरे जात्रा मनाइयो

विदुर खबर २०७९ चैत २५ गते २२:०५

नुवाकोट । वैशाख शुक्ल पूर्णिमाको दुई दिनपछि द्वितीयाको दिन आज नुवाकोटको प्रसिद्ध भैरवी मन्दिरमा सिन्दुरे जात्रा भव्यताका साथ मनाइएको छ ।

Advertisement

वैशाख शुक्ल पूर्णिमाको दिन साततले दरबार राष्ट्रिय सङ्ग्रहालयसँगै रहेको भैरवी मन्दिरबाट जालपादेवी मन्दिरमा गएका धामिधमिनी र भैरवीको रथलाई आज भैरवी मन्दिरमा ल्याइएपछि हर्षबढाइँका साथ सिन्दुर घसेर रमाइलो गर्ने गरिन्छ ।

८५ वर्षीय धामी हरिमानसिंह डङ्गोलले धमिनीलाई सिन्दुर लगाएर सुरु भएको जात्रामा सहभागीले सिन्दुरजात्रा गरी रमाइलो गरेका थिए । नुवाकोटको दरबार क्षेत्रको भैरवी मन्दिर र देवीघाटको जालपा क्षेत्रमा जात्रालुको घुइँचो लागेको छ ।

Advertisement

जिल्लाको ठूलो पर्व मानिने सिन्दुर जात्रा पाँच दिनसम्म लाग्छ। वैशाख पूर्णिमा मेला पनि भनिने सिन्दुरे जात्रा वैशाख शुक्ल द्वादशीको दिन भैरवी मन्दिर अगाडि र बूढीदेवीको थान अगाडि सल्लाको लिङ्गो ठड्याएपछि सुरु हुने गरेको छ । द्वितीयाको दिन भैरवी मन्दिरमा सिन्दुर जात्रा र तृतीयाको दिन धामीले भोग खाएपछि जात्रा सकिने गरेको छ ।

सिन्दुरे जात्राका लागि आज अपराह्न भैरवी मन्दिरमा जिल्लाका कार्यालय प्रमुख, सरकारी कर्मचारी, नेपाल प्रहरी, नेपाली सेनालगायतको सहभागिता थियो । ।

Advertisement

जालपादेवीबाट फर्किएका धामी स्थानीय धरमपानीको पाटीबाट बाजागाजा सहित भैरवी मन्दिर प्राङ्गणमा पुगेपछि सिन्दुर जात्रा गरिन्छ । भैरवीको मन्दिरबाट बाजागाजा र सैनिक टुकडीसहित सिन्दुर जात्रासहित तलेजु भवानीको मन्दिरमा रथ भित्र्याइएको थियो ।

स्थानीय नेवार समुदायका महत्वपूर्ण जात्रामा मेला भर्न राजधानीका सहित अन्य जिल्लाका नेवार समुदायका व्यक्तिहरु आउने गरेका छन् ।

प्रतिक्रिया