मन्त्रिमण्डल पुनर्गठन, अर्थ मन्त्रीमा प्रकाशशरण महत

विदुर खबर २०७९ चैत १७ गते १४:०४

नुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।

Advertisement

पुनर्गठित मन्त्रिमण्डलमा नेपाली कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ। कांग्रेसबाट रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकासमन्त्री भएका छन्। कांग्रेसले पाएको ८ वटा मन्त्रालयमध्ये कम्तीमा ३ मन्त्रालय आफूहरुले पाउनुपर्नेमा कोइराला पक्षको अडान छ। पार्टीभित्र सहमति नहुँदा कांग्रेसले दुई चरणमा मन्त्री पठाउने तयारी गरेको छ।

यसैगरी माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बनेका छन्।

Advertisement

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ। यसअघि भौतिक पूर्वाधारमन्त्री भएका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ।

सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराँती र संघीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले निरन्तरता पाएका छन्।

Advertisement

यसैगरी जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन्। एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्री र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीका शरदसिंह भण्डारी श्रम तथा रोजगार, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेका छन्।

नवनियुक्त मन्त्रीहरुको आज दिउँसो ३ बजे सपथ कार्यक्रम राखिएको छ।

प्रतिक्रिया