प्रशासकीय अधिकृत फिर्ता गरे पालिकाको खाता रोक्ने चेतावनी
विदुर खबर
२०७९ चैत १७ गते ८:००
नुवाकोट । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहले हाजिर नगराए बजेट खाता सञ्चालन रोक्का गरिदिने चेतावनी दिएको छ ।
आफूहरूसँग समन्वय नगरी प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) लाई पठाइएको भन्दै कतिपय स्थानीय तहले हाजिर नगराएपछि मन्त्रालयले यस्तो चेतावनी दिएको हो । स्थानीय तहका जनप्रतिनिधिले भने मन्त्रालयको चेतावनीयुक्त पत्रप्रति आपत्ति जनाएका छन् ।
मन्त्रालयले गत फागुन १६ मा सरुवा गरेर पठाएका प्रशासकीय अधिकृतलाई रौतहटका गढीमाई, गौर र कटहरिया नगरपालिका, काभ्रेको पनौती, बाजुराको बुढीगंगा, सुर्खेतको पञ्चपुरी, उदयपुरको त्रियुगा, बाराको सिम्रौनगढ, मोरङको रतुवामाई नगरपालिकाले हाजिर नगराई फिर्ता गरेका थिए । धनुषाका क्षिरेश्वरनाथ र जनकनन्दिनी तथा हुम्लाको अदानचुली गाउँपालिकाले पनि हाजिर गराएका थिएनन् ।
त्यसपछि मन्त्रालयले १२ वटै पालिकालाई एउटै बेहोराको पत्र लेख्दै ७ दिनभित्र हाजिर गराउन भनेको थियो । संघीय मन्त्रालयले जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) लाई बोधार्थ दिएर लेखेको पत्रमा भनिएको छ, ‘मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृतबाट मात्र सम्बन्धित नगरपालिका/गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउनू ।’
संघीय मन्त्रालयका सहसचिव तथा प्रवक्ता कमल भट्टराईले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी संघमा रहने व्यवस्था रहेको र उनीहरूलाई आवश्यकताका आधारमा सरुवा गरिएको बताए ।
मन्त्रालयले पत्रमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४(४) अनुसार प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाजमा खटाइएको स्थानीय तहलाई स्मरण गराएको छ । मन्त्रालयले स्थानीय तहबाट सरुवा भएका प्रशासकीय अधिकृतलाई रमाना दिन पनि भनेको छ । मन्त्रालयले सरुवा गरे पनि कतिपय स्थानीय तहले रमाना नदिई रोक्ने गरेको अधिकारीहरूको भनाइ छ ।
मुलुकभरका ७ सय ५३ मध्ये करिब एक सय ७० पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । कतिपय स्थानीय तहमा स्वास्थ्य र शिक्षा समूहका शाखा अधिकृतले प्रशासकीय अधिकृतको काम गरिरहेका छन् ।
२०७४ को निर्वाचनपछिका पाँच वर्ष झन्डै दुई सय पालिकामा प्रमुख प्रशासकीय अधिकृत निमित्त थिए । संघीय मामिलामन्त्री अमनलाल मोदीले दुई महिनाअघि जिम्मेवारी सम्हाल्ने बितिक्कै सकेसम्म सबै स्थानीय तहमा निमित्त हटाउने सार्वजनिक घोषणा गरेका थिए । त्यहीअनुसार बढुवा भएका ५८ उपसचिवमध्ये ४८ जनालाई स्थानीय तहमा पठाइएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया