बागमती प्रदेश सभाको बैठक बस्दै

विदुर खबर २०७९ चैत १० गते १०:४२

नुवाकोट । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

Advertisement

अघिल्लो पटक गत बुधबारको दिन बैठक बोलाइएको थियो । तर त्यो दिन बैठक बस्न सकेन । सत्ता साझेदारीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले बैठकमा उपस्थित नहुने भनेपछि शुक्रबारका लागि सारिएको थियो ।

बुधबारकै दिन काठमाडौंमा बसेको बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

Advertisement

अब बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता जम्कट्टेल गत पुस २५ गते कांग्रेस, एमाले, राप्रपासहित ६ दलका १०५ सांसदको समर्थन पाएर मुख्यमन्त्री नियुक्त भएका थिए । उनले माघ ३ गते विश्वासको मतसमेत लिएका थिए । त्यतिबेला दिएको समर्थन राप्रपाले फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् ।

Advertisement

बागमती प्रदेश सभामा ११० जना सांसद छन् । विश्वासको मतका लागि ५६ जना सांसदले साथ दिनुपर्छ । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१ र नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन् ।

यसैगरी नेकपा एमालेका २७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

प्रतिक्रिया