प्रधानमन्त्री प्रचण्डको अग्निपरीक्षा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोस्रोपटक अत्यधिक सांसदहरुको विश्वासको मत प्राप्त गर्न सफल भएका छन् ।
जसका कारण प्रचण्डको सरकार अब केही समय भने पनि स्थिरतातर्फ उन्मुख भएको अनुभूत हुँदै छ । हामीकहाँ सबैभन्दा ठूलो समस्या भनेकै राजनीतिक अस्थिरता र नेताहरुमा देखिएको भ्रष्ट शैली हो । यसका कारण मुलुकले विकास, सुशासन र समृद्धि हासिल गर्न सकेको छैन । जनतामा निराशा र आक्रोश बढिरहेको छ ।
अब देशमा विकास र समृद्धि हासिल गर्न तथा जनतामा आशा जगाउन प्रचण्ड नेतृत्वको सरकार पूरापुर सच्चिएर अघि बढ्नुको विकल्प छैन । यद्यपि प्रचण्ड सरकारको सफलता उनले ल्याउने मन्त्री, मन्त्रीका कार्यशैली, तिनले गर्ने व्यवहार र कर्मचारीतन्त्रमा निर्भर रहन्छ । सबैभन्दा प्रमुख विषय त प्रधानमन्त्री आफैँ सच्चिएर भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई व्यवहारमा अक्षरशः लागू गर्न सक्नुपर्छ ।

सागर पण्डित
प्रधानमन्त्री प्रचण्डले जनतामा निभ्न लागिसकेको आशा र भरोसालाई बचाउन सोही अनुसार आफ्ना नीति, योजना र कार्यक्रम जनकेन्द्रित गर्न सक्नुपर्छ । यद्यपि प्रारम्भिक संकेतहरु हेर्दा प्रचण्ड नेतृत्वमा रहेको वर्तमान सरकार जनकेन्द्रित भई मुलुकमा विकास र सुशासनका आधारहरु खडा गर्छ भन्नेमा धेरै आशंकाहरु देखिएका छन् । अहिले पनि प्रधानमन्त्री आफैँले १६ वटा मन्त्रालय सम्हालेर बसेका छन् । झन्डै ढेड महिनादेखि ती मन्त्रालयले प्रभावकारीरुपमा काम गर्न सकेका छैनन् । गृह, अर्थ, उद्योग, जलस्रोत, श्रम तथा रोजगार, वन तथा वातावरण, स्वास्थ्य, शिक्षाजस्ता महत्वपूर्ण मन्त्रालयहरु नेतृत्वविहीन हुँदा पनि प्रधानमन्त्रीले ती मन्त्रालयमा नेतृत्व ल्याउन खासै पहल गर्न सकेनन् ।
राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनको बहाना बनाएर मन्त्रालयहरुलाई हप्तौँसम्म रिक्त राख्नु गलत थियो । तर अब भने राष्ट्रपति र उपराष्ट्रपति नियुक्ति प्रक्रिया पूरा भइसकेकाले प्रधानमन्त्रीले सरकारलाई विस्तार गर्न एक दिन पनि ढिलाइ गर्नुहुँदैन । अहिले फेरि सत्तागठबन्धन दलमा कुन मन्त्रालय कसले लिने भन्नेमा विवाद देखिएको छ ।
मालदार मन्त्रालयमा को जाने भन्ने लडाइँ शुरु हुनु प्रधानमन्त्रीका लागि पहिलो गाँसमा नै ढुंगासरह हो । त्यसरी मरिहत्ते गरेर मन्त्री पद हत्याएका व्यक्तिहरुबाट देश र जनताले के आशा गर्न सक्लान् ? यो गम्भीर चिन्ताको विषय हो । गृह, अर्थ, स्वास्थ्य, शिक्षा, उद्योग, शहरी विकासलगायतका मन्त्रालयमा जान मरिहत्ते गर्नु र संघर्ष गर्नुले ती मन्त्रालयमा आउने राजनीतिक नेतृत्व राम्रो नियतले आउन लागेको हो भनेर भन्न सक्ने अवस्था देखिँदैन ।
विभिन्न सत्तारुढ दलबाट मन्त्री भएर जानेहरुले जुनसुकै मन्त्रालयमा गए पनि देश र जनताको हितमा समर्पित भएर काम गर्ने लक्ष्य राख्ने हो भने जुन मन्त्रालयमा गए पनि मजाले काम गर्न सकिन्छ । तर हामीकहाँ त मन्त्रालयमा जानु भनेको नीतिगतदेखि लिएर अन्य पेटी खालका अनियमितता र भ्रष्टाचार गरी अकूत सम्पति आर्जन गर्ने भित्री लक्ष्य देखिन्छ, जसका कारण मन्त्रालयहरु गतिहीन मात्रै होइन, भ्रष्टाचारले ढुङढुङ्ती गन्हाउने गरेका कैयौँ उदाहरण छन् ।
जेसुकै होस्, प्रधानमन्त्री प्रचण्डको सरकारले हनिमुन मनाइसकेको छैन । सामान्यतया सरकारको गतिका बारेमा हनिमुन अवधि यानेकि १ सय दिनपछि मात्रै विश्लेषण गर्ने परम्परा छ । त्यसैले अहिले नै सरकारप्रति त्यति धेरै अविश्वास र आशंका गर्न हुँदैन । तैपनि चुनौतीका चाङहरु छन्, जनताका असीमित चाहनाहरु छन् । ती चुनौती र जनताका चाहना पूरा गर्न प्रचण्ड र उनको सरकारलाई लरतरो प्रयासले मात्रै सम्भव छैन । अब प्रचण्ड आफैँले रातदिन काम गरी आफ्ना मन्त्रीहरु तथा ब्यूरोक्रेसीलाई पनि सोही अनुसार लयमा हिँडाउनै पर्छ ।
अहिले संघीय शासन प्रणाली भनिए पनि त्यसको वास्तविक फल र मर्म जनतासमक्ष पुग्नै सकेको छैन । केही दल विशेष, तिनका नेता तथा केही कार्यकर्ता र आफन्तलाई मात्रै संघीयता आएको अनुभूति भइरहेको छ । अधिकांश जनतालाई संघीय शासन प्रणाली ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात्’ जस्तै भइरहेको छ । संघीयतामा त सरकारको सेवा जनताको घरदैलोमा सुलभ र सहज किसिमले पुग्नुपर्छ तर त्यस्तो हुन सकेको छैन । संघीयता पालिकाका अध्यक्ष, प्रमुख, प्रदेशका मुख्यमन्त्री, मन्त्री, संघका प्रधानमन्त्री र मन्त्रीहरु तथा विभिन्न पदमा बस्नेहरुका लागि मात्रै आएको हो भने त्यस्तो संघीयताको अर्थ पनि छैन ।
संघीयता भनिएको छ तर सरकारमा बस्नेहरुमा केन्द्रीकृत मानसिकता हट्न सकेको छैन । अधिकांश शासक, प्रशासकहरुमा काठमाडौंवाद हाबी छ । जसरी सोलार सिस्टममा सूर्यको वरिपरि ग्रह घुम्छन् त्यसरी नै संघीयतामा पनि केन्द्रकै वरिपरि प्रदेश र स्थानीय सरकारलाई घुम्न बाध्य पारिएको छ, जुन संघीयताको मर्म विपरीत छ ।
जनतालाई सबैभन्दा फ्रन्टलाइनबाट सेवा दिने भनेको स्थानीय तहले हो । तर जनतालाई सबैभन्दा नजिकबाट सेवा दिने स्थानीय तहलाई सुविधा सम्पन्न र साधन–स्रोत सम्पन्न बनाउन केन्द्रीय सरकारले नै बेवास्ता गरिरहेको छ । केही अपवादलाई छोडेर धेरै स्थानीय तह आफैँ पनि संघीयताको मर्म अनुसार जनतालाई प्रभावकारी सेवा र सुशासन दिने विषयमा कमजोर साबित भइरहेका छन् । यो संघीय शासन प्रणालीका लागि ठूलो चुनौतीको विषय हो । प्रचण्ड सरकारले यो विषयलाई गम्भीर रुपमा सम्बोधन गर्न जरुरी छ ।
राजनीतिक नेतृत्वहरुले जहिले पनि आफ्नो जिम्मेवारीमा रहेको भित्रसम्मको बिजनेस के हो भन्ने कुराको गम्भीरतापूर्वक अध्ययन गरी ब्ुझ्न सक्नुपर्छ । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको तीन महिना पुग्नै लाग्दासमेत उनले त्यस प्रकारको अध्ययन गरेको देखिँदैन । नभ्याएर हो वा लापारबाही गरेका हुन् ? त्यो विषय उनलाई नै थाहा होला । प्रधानमन्त्री प्रचण्ड अहिले पनि सानातिना कार्यक्रममा गएर उद्घाटन गर्ने, शिलान्यास गर्ने र घन्टौँ बिताउने काम गरिरहेका छन् ।
प्रधानमन्त्री, मन्त्री र उच्च पदाधिकारीहरु सानातिना कार्यक्रमको उद्घाटनमा अल्झिनुभन्दा पनि योजना बनाउन, छलफल र बहस गर्न तथा बनाइएका योजनाहरुको कार्यान्वयन गर्न नै व्यस्त हुन सके उनीहरु नै सफल हुने र राजनीतिक साख जोगिने हो तर हामीकहाँ यस्तो देखिँदैन । प्रधानमन्त्री, मन्त्री हुनु र उच्च ओहोदामा जानु नै कमाउनका लागि हो र स्वार्थसिद्ध गर्नका लागि हो भन्ने मानसिकता व्यापक छ, जुन देशको लागि दुर्भाग्य हो ।
हाम्रा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुमध्ये अधिकांश नेताहरु माफिया, बिचौलिया र तस्करसँगको सामीप्यतामा छन् । त्यसैले पनि हामीकहाँ शासन सत्ता सञ्चालन गर्ने माफिया र बिचौलियाहरुको ग्याङ नै छ । त्यो ग्याङ राजनीतिक नेतृत्व र शासन सत्तामा भयानकरुपमा हाबी हुँदै आइरहेको छ । यसको मुख्य कारण शासकहरु खरिद–बिक्रीका सामानजस्तै हुनु हो, जो बिचौलिया–माफियाबाट सहजै खरिद हुने गरेका छन् ।
यो सब कारण उनीहरुमा देखिएको लोभलालच र स्वार्थप्रवृत्ति हो । त्यसैले पनि राजनीतिक नेतृत्व र शासकहरुले जनहित अनुसारका काम गर्न नसकेका हुन् । दलको नेतृत्व तथा शासकहरुले जसरी पनि धनार्जन गरेर अकूत सम्पत्ति कमाउने लक्ष्य राख्दा मुुलुकमा कुशासन र भ्रष्टाचारको पारो बढिरहेको छ ।
प्रधानमन्त्री प्रचण्डले विकास र सुशासनको डिङ हाँकिरहे तापनि उनले त्यसलाई व्यवहारमा उतार्न के–कस्ता प्रयास थालेका छन् भन्ने बारेमा सहजै अनुमान लगाउन सकिन्छ । पहिलो कुरा त अहिले जुन प्रकारले गठबन्धन बनिरहेको छ त्यो गठनबन्धन मुलुकमा विकास, समृद्धि र सुशासन कायम गर्नेभन्दा पनि आफ्नो र आफ्नै स्वार्थसमूहको भुँडी भर्नेमा नै केन्द्रित भएको देखिन्छ । किनकि जुनसुकै गठबन्धनका बैठक भए पनि ती बैठकमा खालि राजकीय पदको भागवण्डा गर्ने र विभिन्न खाले नियुक्तिहरुमा कसलाई पठाउने भन्नेमा मात्रै छलफल हुने गरेका छन् ।
ती गठबन्धन बैठकमा नेपाली जनता अहिले कुन–कुन समस्याले प्रताडित छन् ? जनताको चुलोमा आगो राम्ररी बल्न सकेको छ कि छैन ? जनता स्वास्थ्य, शिक्षा र रोजगारीको समस्याले कत्तिको आक्रान्त भइरहेका छन् ? त्यसबारेमा छलफल गरी जनतालाई राहत दिने खालका कार्यक्रम ल्याउने बारेमा दलीय गठबन्धनमा कहिल्यै पनि छलफल भएको सुन्न पाइँदैन । यो शासक र नेताहरुको जनतामाथिको घोर उपेक्षा र अवमूल्यन हो । यसको सजाय उनीहरुले ढिलो–चाँडो भोग्नै पर्ने हुन्छ ।
हामीकहाँ राजनीतिक नेतृत्वमात्रै होइन, प्रशासनिक पक्ष पनि त्यस्तै खालको भ्रष्टाचारको दलदलमा फस्दै आइरहेको छ । माथिल्लो तहका प्रशासकहरुमा आफ्नो नेटवर्क, एक्सस र प्रभुत्व कायम गरिरहन खोज्ने प्रवृत्ति अत्यधिक छ । विकासे अड्डा तथा विकास निर्माणका काममा कमिसनको खेल अहिले पनि उस्तै छ । सडक गुणस्तरीय छैन, प्ुल गुणस्तरीय छैन, हरेक कुराहरु गुणस्तरहीन छन् । यस्तो हुँदा कसैमाथि कुनै प्रकारको कारबाही हुने गरेको छैन ।
हाम्रो शासनमा राम्रो गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो गर्नेलाई दण्ड दिने पद्धति नै छैन । जतिसुकै नराम्रो काम गरे पनि ऊ गणेश–प्रवृत्ति र हनुमान्–प्रवृत्तिमा लागिरहँदासम्म उसलाई कसैले पनि कारबाही नै गर्दैन भने राम्रा काम गर्नेहरु पुरस्कृत हुने पद्धतिको विकास पनि हुन सकेको छैन ।
सरकारमा आउने राजनीतिक नेतृत्वले नेपाली ब्यूरोक्रेसीको सुधारमा खासै ध्यान दिन सकेको देखिँदैन । राजनीतिक नेतृत्वले के बुझ्न जरुरी छ भने उनीहरु नसच्चिदासम्म ब्यूरोक्रेसीमा सुधार आउनै सक्दैन । यस्तै किसिमको भ्रष्ट राजनीतिक नेतृत्व रहँदासम्म ब्यूरोक्रेसीबाट काम लिन्छु भनेर सोच्नु बालुवाबाट तेल निकाल्छु भन्नुजस्तै हो । त्यसैले हामीकहाँ राजनीतिक नेतृत्वको भ्रष्ट प्रवृत्ति र अक्षमताका कारण ब्यूरोक्रेसी पनि भ्रष्ट र अक्षमजस्तै देखिएको हो । जब राजनीतिक नेतृत्वमा सुधार आउँछ तब ब्यूरोक्रेसीमा स्वतः सुधार आउने निश्चित छ ।
त्यसैले प्रधानमन्त्री प्रचण्डले अब सबैभन्दा पहिला आफैँ र आफ्नो टिमलाई सदाचारी र नैतिकवान् बनाएर प्रशासन सुधारको महान् अभियान थाल्न सक्नुपर्छ । प्रशासनलाई विश्वासमा लिने हो भने मन, वचन र कर्मबाटै सुशासन अभियान थाल्नुपर्छ । यसमा कुनै प्रकारका द्वैधचरित्र प्रदर्शन गर्नुहुँदैन । प्रधानमन्त्रीले अब सरकारको नीति तथा कार्यक्रममार्फत सिंगो सरकार र प्रशासन क्षेत्रमा नवीन खालको भाइब्रेसन ल्याउनुपर्छ ।
मन्त्रालयमा मन्त्री असल र सुधारक चरित्रका छन् भने त्यहाँको कर्मचारीतन्त्र पनि त्यस्तै हुन बाध्य हुन्छ । त्यसैले मन्त्रीहरु छनौट गर्दा पनि विशेष ध्यान दिनुपर्छ । कसैलाई भाग पु¥याउनकै लागि जस्तासुकै व्यक्तिलाई पनि मन्त्री बनाउन थालियो भने सरकारको अधोगति त्यहीँबाट शुरु हुन सक्छ । यो विषयमा पनि प्रचण्ड गम्भीर बन्नै पर्छ । सिँहदरबारमा दुई–तीनवटा थप फोटो झुन्ड्याउन प्रधानमन्त्री भएको हो कि जनतालाई परिणाम दिएर काम गर्ने र लामो समयसम्म जनताको मनमा बस्नका लागि प्रधानमन्त्री बनेको ? त्यसको जवाफ खोज्ने काम प्रधानमन्त्री प्रचण्डकै हुनेछ ।
यो उनको आगामी कामले तय गर्नेछ । त्यसैले अब प्रधानमन्त्री प्रचण्डले फेरि पनि आफू सच्चिएर कर्मचारीमा आर्थिक अनुशासन, नैतिकता, सदाचार कायम राख्न सक्नुपर्छ । उनले आफ्ना सारथीका रुपमा रहेका र आउने मन्त्रीहरुलाई पनि सुशासनको मार्गमा हिँडाउन सक्नुपर्छ । प्रचण्डले सुशासनको सिद्धान्त, विकासको सिद्धान्त, समय सदुपयोगको सिद्धान्त, स्रोत–साधन सदुपयोगको सिद्धान्त, योजनाबद्ध प्रयास, गतिशीलताको सिद्धान्त र एकाग्रताको सिद्धान्त अवलम्बन गर्न कर्मचारीलाई विशेष रुपमा प्रशिक्षित पार्नै पर्छ ।
प्रधानमन्त्री कार्यालयमा नै कार्यान्वयन संयन्त्र स्थापना गरी सरकारका लक्षित नीति, योजना, बजेट, कार्यक्रम कार्यान्वयन गराउन प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । भ्रष्टाचारविरुद्ध हरेक कर्मचारीलाई संकल्प गराउन लगाउनुपर्छ । सरकारका मन्त्रीहरुलाई भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिमा हिँड्न निर्देशन दिन र कुनै अनियमितताको गन्ध आउनासाथ तत्काल बर्खास्त गर्न सक्नुपर्छ । प्रधानमन्त्रीले यस्ता खाले विशेष अभियान थाले भने उनका विरुद्ध हुने जस्तासुकै घेराबन्दी पनि तोडिने छन् ।
नत्र उही ‘आयाराम गयाराम’ शैलीमा शासन चलाउने र भ्रष्टाचार रोक्न नसक्ने हो भने सम्भवतः यो उनको मात्रै नभएर उनको पार्टीको पतनको कारक पनि बन्ने निश्चित छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया